+
+

इजरायलमा राजेशको शव, शोकमा मधुवन

‘कमाउने बेलाको भाइ बित्यो, हामी शोकमा छौं’ मुकेशले भने, ‘शव उता जति दिन बस्यो त्यति पीडा हुन्छ, राज्यले चाँडै ल्याइदेओस् ।’

हरि अधिकारी हरि अधिकारी
२०८० असोज २२ गते २१:३८

२२ असोज, इटहरी । २८ दिनअघि सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का राजेशकुमार स्वर्णकार कृषि अध्ययनपछि इन्टर्नसिपका लागि इजरायल उडे ।

घरबाट बिदा हुँदै गर्दा उनले आमालाई पढाइ सकेर चाँडै फर्किने वचन दिएका थिए । अन्तिम पटक एक साताअघि आमासँग कुरा गर्दा पनि उनले उही कुरा दोहोर्याए, ‘पीर नगर्नु आमा, म चाँडै आउँछु ।’

शुक्रबार जेठो दाजु मुकेशसँग म्यासेन्जरमा कुरा गर्दा राजेश अलि हतारमा थिए । ‘मलाई धनगढी जानुपर्ने थियो, भाइलाई ठाउँ कस्तो छ, कहाँ बस्ने भनेर सोधें, उसले ठिकै छ लजमा बस्नु न भन्यो, भाइको खाना खाने बेला भएकाले धेरैबेर कुरा भएन’, उनले भने ।

बेलुका इजरायलमाथि हमासको हमलाको खबर आयो । लगत्तै केही नेपाली घाइते पनि भएको समाचार बाहिरिएपछि परिवारमा छट्पटी बढ्यो ।

मुकेशले भाइलाई सम्पर्क गर्न खोजे, तर ह्वाट्सएपमा रिङ गयो उठेन । पटक पटक प्रयास गर्दा पनि फोन नउठेपछि मनमा चिसो पस्यो । उनले माइलो भाइ विनोदलाई पनि फोन गर्न लगाए । तर फोन उठेन ।

छट्पटी झनै बढ्यो । मुकेशले कलेज मार्फत भाइका साथीलाई सम्पर्क गरे । उनीहरूले पनि राजेशको अवस्था बताउन सकेनन् ।

आइतबार बेलुका परराष्ट्र मन्त्रालयले इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको पछिल्लो लडाइँमा मारिएका नेपालीको नाम सार्वजनिक गर्दा राजेशको नाम आठौं नम्बरमा थियो । मृतकको सूची हेर्ने बित्तिकै परिवारमा रुवावासी चल्यो । आमा अझै अर्धचेतकै अवस्थामा छिन् ।

खाना खाने बेला भयो भनेर ‘भोलि बोल्छु ल’ भनेर बिदा मागेका मुकेशसँग कुरा गरेका उनका भाइ अब कहिल्यै फर्कने छैनन् ।

राजेशको मृत्युको खबरले उनको परिवारसँगै सिङ्गो मधुवन शोकमा डुबेको छ । चाँडै घर फर्कने बताएका राजेशको शव कुरेर परिवार बसिरहेको छ । ‘कमाउने बेलाको भाइ बित्यो, हामी शोकमा छौं’ मुकेशले भने, ‘शव उता जति दिन बस्यो त्यति पीडा हुन्छ, राज्यले चाँडै ल्याइदेओस् ।’

मुकेशका अनुसार राजेशले इजरायलबाट फर्किएर देशमै काम गर्ने बताएका थिए । ‘उसले फर्किएर लोकसेवा भिड्छु भन्थ्यो’ उनले भने, ‘तर यस्तो भयो ।’

निम्न मध्यमवर्गीय परिवारका सदस्य राजेश कृषि पढ्नका लागि कैलालीको टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय पुगेका थिए ।

बराहक्षेत्र नगरपालिका–११ का वडाध्यक्ष कृष्णकुमार महतोका अनुसार कृषि विज्ञान संकायतर्फ बीएस्सी प्रथम ब्याचको अन्तिम सेमेस्टर अध्ययन गरेका उनी ११ महिने इन्टर्नसिपका लागि २८ दिनअघि मात्रै इजरायल उडेका थिए ।

१० अक्टोबर पहिलो महिनाको तलब थाप्ने दिन थियो । तर दुई दिनअघि नै उनीसहित इन्टर्नसिपमा गएका दश नेपाली विद्यार्थीको मृत्यु भयो ।

परिवारका चार मध्ये राजेश साइलो छोरा हुन् । उनका जेठा दाजु मुकेश र माइलो विनोद इन्जिनियर हुन् ।

वडाध्यक्ष महतोका अनुसार राजेश र उनकी आमाबीच सात दिनअघि फोनमा कुराकानी भएको थियो । उनले आमासँग इन्टर्नसिप सकेर फर्कने बताएका थिए ।

‘विश्वविद्यालयको बदमासी छ’

सुरुमा अष्ट्रेलिया जानका लागि सुझाव आए पनि राजेशले मानेनन् र कृषि पढ्ने भन्दै दाजु मुकेशलाई कलेज बुझ्न लगाए । सुदूरपश्चिम विश्वविद्यालयले इन्टर्नसिपका लागि इजरायल लैजाने जानकारी पाएपछि उनी पढ्नका लागि टीकापुर मल्टिपल क्याम्पस, टीकापुर गएका थिए ।

क्याम्पसले इजरायल बताए पनि कुन ठाउँ पठाउने भन्ने जानकारी दिएन । ‘इजरायल र छिमेकी देशको अवस्था कस्तो छ भन्ने खोज गरिएन, यस्तो जानेको भए भाइलाई जान दिने नै थिइनँ’ मुकेशले भने, ‘यहाँ कलेजले बदमासी गरेको देखिन्छ ।’

इन्टर्नसिपका नाममा कलेजले प्यालेस्टाइनसँगको बोर्डरमा लगेर राखेको उनको गुनासो छ । ‘कलेजले त मज्जाले बुझ्छ, त्यहाँ विज्ञ पनि हुन्छन्’ उनले भने, ‘एकैपटक लगेर बोर्डर साइटमा राखिदिए, यहाँ कलेजले साह्रै लापरबाही गरेको छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?