
खै कस्तो दशा हो यो
अनि कस्तो दुर्भाग्य,
जस्ले मृत्युवरणसमेत आफ्नै भूमिमा पाएन
आमा बा सन्तान अनि प्रेममा पाएन
बाको फुटेको कुर्कुचामा मलम लगाउन,
आमाको फाटेको गुन्युको टालो जोहो गर्न
सन्तानको खुशी र पत्नीको रहर किन्न मुग्लान हिंडेको थियो ऊ
यी सारा सपना सपनामै सीमित राखेर विरानो भो
रुवायो सबै आमा, बा, सन्तान, साथी, आफन्ती
अनि सिङ्गो देशलाई नै
युद्धभूमिबाट कहालीलाग्दो समाचार आयो
डरले थरथर कापेका आवाज आयो
जीवितै मृत्युले थिचेको आवास भयो
त्यतिसम्म त आशा थियो एकमुठी सासको ।
तर गर्ल्याम ढल्यो आकाश, चुडियो बाच्ने आशाको त्यान्द्रो
जब आफ्नै १० दाइभाइको छुट्याउन मुस्किल लास आयो
अझै नि बाच्ने रहरमा,
जीवितै आफ्नो माटोमा फर्किने आशामा
अन्जान सहरको बन्कर भित्र कोचिएर
आँसु, त्रास र चित्कारले देशसग सासको भिख माग्दैछ ऊ,
जीवित र घाइतेलाई उपचार चाहिएको छ
उद्धार चाहिएको, भरोसा चाहिएको छ
सुरक्षा र एकछाक अन्न चाहिएको छ
अनि अभिभावक चाहिएको छ यतिबेला
संसारको एकाग्रता त्यही रणभूमिमा छ यतिबेला ।
देशमा रोजि रोटि नपाएर
चुहिने छानो फेर्न अनि दुई गाँस खानाकै लागि
घर परिवारबाट परदेशिएको उ छट्पटाइरहेछ
तर देशका राजा महाराजालाई
उनैले पठाएको रेमिटेन्सबाट बनेको आलिसान महलमा बसेर
जनताकै रगत र पसिनाले रङिएको पजेरोमा सयर गरिरहँदा
मुग्लान भासिएका युवाका पीडा,आँसु र चित्कारले छोएन
र त मृतकका परिवारलाई आशा बाँड्दैछ,
आपत्कालीन उद्धार, राष्ट्रिय, अन्तर्रास्ट्रिय सहयोग,
याचना र समन्वय भुलेर
सर्बदलिय बैठक गर्दैछ सरकार
रास्ट्रिय सहमति खोज्दैछ सरकार
किन कि यो पुन्य काम हो,
अभिभावकीय जिम्मेवारी हो
देशका सपूत र अन्नदाताको चित्कार हो
ती अबोध बालक, बुढा बा, आमा अनि श्रीमतीको लुटिएको र
लुटिन लागेको खुशी हो, सन्सार हो
तर यसमा नाफा छैन
कमिसन छैन
आफ्नालाई आकर्षक पदस्थापन छैन
अहिले चुनाव छैन
हो,
यहाँ सुन छैन
यहाँ बालुवाटारको कित्ता छैन
यहाँ रिगल अनि रेशम चौधरी छैन
त्यसैले
सर्बदलीय बैठक गर्दैछ सरकार
सबैलाई मिलाउदै छ सरकार
राष्ट्रिय शोक घोषणा गरेर
आधा झन्डा झुकाउँदै छ सरकार
सबैलाई मिलाउदै छ सरकार
साँच्चै यहाँ सरकारलाई नाफा छैन ।
प्रतिक्रिया 4