+
+

सिने पर्दाको उल्टो–सुल्टो

सृष्टि कार्की सृष्टि कार्की
२०८० असोज २३ गते १२:४६

सिनेमाको पर्दामा देखिने रङ्गीन–मायावी दुनियाँ सबैले महसुस गर्न सक्छन् । तर त्यो दुनियाँको सृष्टि गर्ने प्रक्रिया हम्मेसी सरोकारको विषय बन्दैन । पर्दाको दृश्य बन्न नेपथ्यमा गरिने सूक्ष्म काम अर्थात् वास्तविकता दर्शकसामु झ्वाट्ट देखिन्नन् । यो वास्तविकता पर्दाको रङ्गीन संसारभन्दा भिन्न हुन्छ- लुगाको उल्टो भाग जस्तै । पर्दाको सुल्टो भागमा गरिएको इम्ब्रोइडरी हेरेर ‘आहा !’ भन्ने हामीलाई, त्यसको उल्टो भागले उति आकर्षित गर्दैन पनि । तर त्यही अनाकर्षक उल्टोकै भरमा सुल्टो ‘आहा !’ भएको यथार्थलाई हामी बेवास्ता गरिदिन्छौं । धागोको किरिङमिरिङ धर्सैधर्सा देखेर त को नै लोभिन्छ र ? होइन ?

सिनेमा निर्माणमा अर्थ, प्रविधि, प्राविधिक जनशक्ति, व्यवहार, विचारलगायत अनेक पक्ष गाँसिएपछि बल्ल दृश्यहरु पर्दामा चलायमान बन्ने हुन् । तर दर्शकको नजरमा यो लुगाको उल्टो भागसरह नै हुने गर्छ । सिनेमाको पर्दामा उपस्थित हुन नसकेका, नपाएका र ल्याउन नचाहिएका अदृश्य महिलाका अनुभव तथा विचार उल्टोको पनि अझ उल्टो भाग बन्न पुगेको छ । अर्थात्, अझै अनाकर्षक, अझै कम महत्वको !

संसारभरि नै सिनेमा निमार्णमा महिलाको सोचको प्रतिबिम्ब र सिनेमा उद्योगमा तिनको पहुँच विस्तार गर्न मद्दत गर्ने अनेक आयाम जोडिएका छन् । विश्व सिनेमाको सुरूवाती चरणमा, यसको विषयवस्तु र प्रस्तुतिमा फ्रान्सका सिनेकर्मी महिलाले गरेको हस्तक्षेप लोभलाग्दो छ । उनीहरुलाई सिनेमा उत्पादनको निर्णायक तहमा पु¥याउन त्यहाँको उदार समाज र अब्बल कलाचेतले महङ्खवपूर्ण भूमिका निर्वाह गरेको थियो ।

उत्पादनको नजरबाट हेर्दा सिनेमा एउटा महँगो कलाकर्म हो । यसको निर्माणमा संलग्न हुने सहजता उपल्लो वर्गका मानिसलाई मात्र उपलब्ध थियो । अझै पनि यसमा उल्लेख्य परिवर्तन आइसकेको छैन । फ्रान्समा पनि त्यही वर्गबाट आएका महिलाले सिनेमा बनाएका थिए । तिनैमध्ये एक थिइन्, आलिस गी ब्लासे ।

उनले सन् १८९६ मा ६० सेकेन्ड लामो ‘दी क्याबेज फेअरी’ नामको सिनेमा बनाइन्, जसलाई महिलाले बनाएको सबैभन्दा पहिलो सिनेमा मानिन्छ । पछि उनले सयौं सिनेमा र वृत्तचित्र बनाइन्, त्यसमध्ये समाजमा विद्यमान महिला र पुरूषको लैङ्गिक भूमिकालाई उल्ट्याएर बनाइएको ‘दी कन्सिक्वेन्सेस अफ फेमिनिज्म’लाई सर्वाधिक उल्लेख्य मानिन्छ । निर्माण र निर्णयमा महिलाको उपस्थिति हुँदा, महिला पात्रको प्रस्तुति र त्यसले बोक्ने, देखाउने सोच आमदर्शकमा कसरी प्रसार हुन्छ भन्ने गतिलो उदाहरण हुन् आलिस गी ब्लासेका सिनेमा ।

अर्की फ्रान्सेली निर्देशक एवम् निर्माता थिइन्, जर्मेन डुल्याक । उनी महिलावादी सिनेमा निर्माताका रुपमा प्रख्यात छिन् । उनको सबैभन्दा चर्चित सिनेमा ‘दी स्माइलिङ म्याडेम ब्युडेट’ र ‘दी सिसेल एन्ड दी क्लर्जिम्यान’ले तत्कालीन फ्रान्सेली समाजमा विद्यमान लैङ्गिक दृष्टिकोणलाई चुनौती दिएका थिए । निर्माण–निर्देशनसँगै सिनेमाबारे लेख्ने र पढाउने काममा समेत उनी सक्रिय थिइन् । सिनेमाबारे अध्ययन–अध्यापनको अनुभवले लैङ्गिक संरचनागत ढाँचा बुझ्न र आवश्यक प्रश्न गर्न सिकाउने उनको मत थियो ।

बीसौं शताब्दीकी जोरा निल हर्सटन प्रथम अश्वेत अमेरिकी निर्देशक हुन् । सिनेमाको स्थापित मान्यताविरुद्ध सङ्घर्ष गरेर उनले आफ्नै कथा भन्ने माध्यम बनाइन् । उनको मान्यता थियो, महिलालाई परिवार-समाजले गरिरहेको दमनलाई कलात्मक तरिकाले सहजै दर्शकको दिमागमा नजानिँदो प्रकारले घुसाउन सके मात्र महिला सिनेकर्मी हुनुले अर्थ राख्छ । यो मान्यता आजपर्यन्त उत्तिकै अनुकरणीय छ ।

यसरी विभिन्न भूगोलमा भएको सिनेमा उद्योगका प्रारम्भिक चरणका केही सन्दर्भ हेर्दा सिनेमामा महिलाको उपस्थिति सहज थिएन । र यो आधारभूत रुपमै लैङ्गिक असमानता र त्यसविरूद्धको सङ्घर्षसँग अभिन्न रुपमा गाँसिएको छ । फ्रान्सको इतिहासमा मूलतः बौद्धिक, कला चेतमा अब्बल र उपल्लो वर्गका महिला सिने क्षेत्रमा आइपुगेका थिए । तर उनीहरुले समेत सिनेमा उद्योगमा आफूलाई स्थापित-प्रमाणित गर्न पुरूषका तुलनामा बढी नै सङ्घर्ष गर्नुपरेको थियो ।

महिलाले सिनेमामा पाउने चरित्रबाट पनि त्यस समाजको चेत कस्तो छ भनेर आकलन गर्न सकिन्छ । भनिन्छ-आँखाले देखेको कुरा सितिमिति बिर्सिइँदैन । त्यसैले प्रभावको हिसाबमा श्रव्यदृश्य मिसिएको सिनेमा अरुभन्दा निकै बलियो माध्यम हो । सिनेमाका घटना र चरित्र, सिनेमाले प्रवाह गर्ने संवेदना आमदर्शकको अवचेतन मतिष्कमा यसरी गढेर बस्छ कि, त्यसले उसको जीवनदृष्टिलाई समेत प्रभावित पार्छ । त्यसैले समाजमा सिने-संस्कृति अन्य संस्कृति जस्तै प्रभावकारी मानिन्छ ।

सिनेमाको प्रारम्भिक चरणदेखि नै फ्रान्स, अमेरिकालगायत देशका महिला फिल्ममेकरले यस्तो शक्ति–प्रभावलाई उपयोग गरेका थिए । उनीहरुले लैङ्गिक संवेदनालाई केन्द्रमा राखी सिनेमा क्षेत्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गरे । हजारौं वर्षदेखि हरेक समाजमा कतै न कतै दबिएका महिलाको अवस्थालाई पर्दामा सही तवरमा चित्रण गर्न यस्तै भूमिका निर्वाह गर्ने महिला फिल्ममेकरहरुको खाँचो छ ।

अचेल निकै चर्चामा आएकी बेलायती पत्रकार तथा लेखिका क्यारोलिना क्रियादो–पेरेजले ‘इनभिजिबल वुमन : एक्सपोजिङ डेटा बायस इन अ वल्र्ड डिजाइन्ड फर मेन’मार्फत गरेको ‘डिजाइनको पुरूष पूर्वाग्रह’सम्बन्धी बहस यहाँ सान्दर्भिक छ । उनले भनेकी छिन्, “हाम्रो दैनन्दिन जीवनमा प्रयोग हुने हरेक वस्तु पुरूषले पुरूषकै लागि डिजाइन गरेका हुन्छन् । जस्तै, कार दुर्घटना परीक्षणमा प्रयोग हुने पुत्ला पुरूष शरीरको बनावटलाई आधार मानेर बनाइन्छ । सवारी सुरक्षा मापदण्ड र सावधानीका विभिन्न उपाय पनि पुरूष शरीरलाई नै हेरेर बनाइन्छ । यसले गर्दा हरेक वर्ष कार दुर्घटनामा परेर पुरूषको तुलनामा महिलाको मृत्यु धेरै हुने गर्छ ।” लेखिकाले भने झैं पुरूषले पुरूषकै आँखाका लागि बनाइएका धेरैजसो सिनेमामा पनि महिलालाई उसको सङ्खवलाई दुर्घटनामा पारिन्छ ।

उनको अर्को प्रश्न पनि उत्तिकै पेचिलो छ । उनी सोध्छिन्, “हृदयघातको प्रारम्भिक लक्षण के होला भनेर कसैले सोधेमा तपाईंको जवाफ के हुन्छ ? अवश्य नै छातीको दुखाइ । किनकि हामीलाई रेडियो, टेलिभिजनले यही नै सिकायो । तर यो लक्षण पुरूषका लागि मात्र मिल्छ । महिलाहरुमा भने यसको प्रारम्भिक लक्षण हो, अधिक थकान र हातजोर्नी दुख्नु । यो लक्षणलाई सामान्य ठान्दा महिलाले ज्यानै गुमाउनुपरिरहेको छ । यो महिलाप्रति पूर्वाग्रह हो कि होइन ?”

यही प्रश्न सिनेमा जगत्लाई सोध्ने हो भने, जवाफ कस्तो आउला ? सिनेमाको कथावस्तु र पात्र–चरित्र निर्माण महिलाको सोचले निर्देशित हुने हो भने, सिने जगत्मा महिलाप्रतिको पूर्वाग्राहको प्रारुप कस्तो होला ? केही हदसम्म यसको उत्तर सन् २०१६ मा फिबी वालर ब्रिजको लेखन र प्रमुख भूमिकामा आएको बेलायती सिरिज ‘फ्लिब्याग’सँग छ ।

सबैभन्दा मिल्ने साथी ‘बु’को आत्महत्यापछि हतास बनेकी फ्लिब्यागले आफ्नो उथलपुथलपूर्ण जिन्दगी कसरी अघि बढाँउछिन् भन्ने घटना र परिघटनाको कथा हो यो । अटेन्सन पाउन र वेदनालाई बिर्सनका लागि मात्र राखिएका शारीरिक सम्बन्धहरु, आमा बितेर एक्लै भएका बुबासँगको बेमेल, साथीसँगै खोलेको क्याफे बन्द हुने सङ्घारमा पुग्नु, भावनात्मक रुपमा नजिक हुने कोही नभेटिनु, यी सबका बीच फ्लिब्याग कसरी ‘थ्राइभ’ गर्छिन् भनेर देखाइएको छ । फ्लिब्याग एक ‘फ्लड’ पात्र हुन् । हामीलाई सिनेमामा हेर्न बानी परेको जस्तो आदर्शवान्, नैतिकवान् वा अवगुणमुक्त महिला होइनन् उनी ।

समाजको ‘मोरल कम्पास’बाट दायाँबायाँ भएका महिला पात्र वा चरित्रहरु पर्दामा हेर्न हामीलाई सकस हुन्छ । तर यो सिरिजमा सम्भव भयो । किनभने यसको निर्णयकर्ता महिला नै हुन् । महिला पात्रको चरित्रलाई कस्ता खालका जटिल भावानात्मक फेरबदलले प्रभावित पार्छ भनेर यो सिरिजमा केही हदसम्म उतारिएको छ । फ्लिब्यागका कतिपय निर्णय दर्शकलाई मन नपर्न पनि सक्छन् । ऊ एउटी ‘अनलाइकेबल पात्र’ हो । तर धेरै महिलाले यो पात्रसँग आफूलाई ‘रिलेट’ गर्न भने सक्छन् । किनकि फ्लिब्यागको लथालिङ्ग जिन्दगीको जस्तै दौर प्रायः महिलाले पार गरेका हुन्छन् वा कति महिलाहरु यस्तै दौरबाट गुज्रिरहेका पनि हुन्छन् । समाजको स्थापित मूल्य–मान्यताका आँखाबाट हेर्दा उनी आदर्श महिला पात्र पक्कै होइनन् । तर समाजले बनाइदिने आदर्शवान् महिलाबाहेकका आम महिलाको पनि त कथा हुन्छ नि ! त्यसलाई बाहिर ल्याउन पनि सिनेमा निर्माणमा सचेत महिलाको सार्थक उपस्थितिको वातावरण अत्यावश्यक छ ।

नेपालको सन्दर्भमा, केही छिटपुट महिला निर्माता तथा निर्देशक देखापरे पनि तिनले कथावस्तु र प्रस्तुतिलाई नै मोड्न सक्ने गरी काम गरेको देखिन्न । अपवादवाहेक अझै पनि महिला निर्देशकले महिलाकै आँखाबाट कथा भन्ने अभ्यास सुरू भइसकेको छैन । नेपाली सिने क्षेत्रमा काम गरिरहेका महिलाले पनि महिलावादी चेतनातिर ढल्कन आफैंले सचेत पहल, अध्ययन र रूचि राखेको भेटिँदैन । यसले गर्दा महिलाको चरित्र चित्रण परम्परागत तरिकामा अर्थात् पुरूषमैत्री कोणबाट भइरहने खतरा लामै रहनेछ ।

हामीकहाँ महिलालगायत अल्पसङ्ख्यक समुदायका विषयमा सिनेमा बनिहाले पनि गम्भीर विषयमा सतही प्रस्तुति भएका सिनेमा बनाउनेकै बाहुल्य छ । नेपाली सिनेमा उद्योगको मानसिकता कतिसम्म पुरूषवादी छ भन्ने बुझ्न पछिल्ला दुई वर्षमा घटित दुइटा नाबालिग बलात्कारका घटनालाई नै हेरौं—

यी दुवै घटनामा बलात्कारका आरोपित तथाकथित ‘देशका गहना’ वा भनौं सामाजिक पुँजी भएका व्यक्ति थिए । एक अभिनेताले १६÷१७ वर्षकी नाबालिगलाई ललाइफकाई विवाहको प्रलोभनमा पारेर बलात्कार गरेको विवरण सार्वजनिक भयो । यसलाई नेपाली समाजले बलात्कारका रुपमा स्विकार्न सकेन । किन त ?

किनकि नेपाली सिने क्षेत्रमा लामो समयदेखि आबद्ध व्यक्तिहरुमै कुनै होटलमा पुगेर कुनै छोरी मान्छे बलात्कृत हुन सक्छे ? भन्ने विचार हाबी थियो । सामाजिक सञ्जाल र अन्य सार्वजनिक फोरममा पनि यस्तै खालका प्रश्न उठाइएका थिए ।

यस्ता प्रश्न उठ्नुमा सिनेमामा गरिने बलात्कार चित्रणको असर भेटिन्छ । सिनेमाका अनुसार बलात्कार त जङ्गलमा ‘खलनायक’ले महिला पात्र प्रायः हिरोको बहिनी वा प्रेमिकालाई लछारपछार पारेर, लुगा च्यातिदिएर, लखेटेर पो गरेको हुन्छ । यसरी सिनेमाले नेपालीहरुको अवचेतनमा बलात्कारको सीमित परिभाषा घुसाइदिएको छ, जुन पर्याप्त हुँदै होइन । वैवाहिक बलात्कारको कानुन भएको देशमा बलात्कार हिंस्रक तरिकाले मात्र हुन्छ भन्ने आममनोविज्ञान सिर्जना हुनुमा सिनेमाकै भूमिका बढी छ । सिनेमाले समाजमा यसरी र यतिसम्म प्रभाव पार्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।

सिनेमा माध्यमको शक्ति उपयोग गर्न सके बलात्कारलगायत अन्य संवेदनशील विषयमा नेपाली समाजमा व्याप्त एकाकी र सङ्कीर्ण बुझाइ नै फेरिन सक्छ । तर यसका लागि हाम्रा महिला (वा, पुरूष पनि) निर्देशक–निर्माता जिम्मेवारी र चुनौती मोल्न तयार छन् ?

नेपाल चलचित्र निर्माता संघले हालै प्रकाशित गरेको ‘सिनेमा विशेषांक स्मारिका’ बाट । प्रभाकर गौतमले सम्पादन गरेको यो स्मारिकामा नेपाली चलचित्र क्षेत्रका इतिहास, वर्तमान र भविष्यका विविध आयम समेटिएका २७ लेख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?