+
+

इजरायल घटनामा सस्तो लोकप्रियता नखोजौं : मन्त्री साउद

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १३:२५

२३ असोज, काठमाडौं । सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न आग्रह गरेको छ । इजरायलको अवस्था अझै सामान्य नभएको भन्दै परराष्ट्रमन्त्री एनपी साउदले संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न आग्रह गरेका हुन् ।

सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको अवस्था र सरकारले गरिरहेको कामबारे जानकारी गराएका छन् ।

उनका अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् । यसैगरी लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २६५ जना विद्यार्थीहरु गएका थिए । शनिबार प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा १० जनाको विद्यार्थीको मृत्यु भएको छ भने एक जना सम्पर्कविहीन छन् ।

बंकरमा रहेका विद्यार्थीहरुलाई इजरायली सेनाको सहयोगमा ४८ घन्टाभित्रै सुरक्षित स्थानमा सारिएको उनले बताए । स्वदेश फर्किन इच्छुक नेपालीहलाई तेल अबिबस्थित नेपाली दूतावासले अनलाइन रजिष्ट्रेसन सुरु गरिसकेको र विमान चार्टर गरेर ल्याउने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको उनले बताए ।

मन्त्री साउदले भने, ‘हामीले विमान चार्टर गर्दा जुन–जुन मुलुक भएर रुट जाने हो, त्यो सबै मुलुकको क्लियरेन्स चाहिन्छ । यसका लागि प्रक्रिया थाल्नुस् भनेर निर्देशन दिइसकेका छौं ।’ उनका अनुसार इजरायलको नजिकको कुनै देशमा लैजाने र त्यहाँबाट चार्टर गरेर ल्याउने विकल्पमा पनि काम भइरहेको छ ।

नेपाल नल्याउँदासम्म अलपत्र हुने स्थिति नआओस् भनेर सेल्टर खोजेर भएपनि राख्नुस् भनेर सरकारले नेपाली दूतावासलाई निर्देशन दिएको उनले जानकारी दिए ।

परराष्ट्रमन्त्री साउदका अनुसार मंगलबार बिहान मात्र इजरायली राजदूतसँग कुरा भएको थियो । त्यसक्रममा राजदूतले नियमित उडान बन्द नगरिएकाले त्यो फ्लाइटलाई प्रयोग गर्ने विकल्प पनि खुला रहेको सुझाव दिएका थिए ।

मुलुक अहिले गम्भीर पीडामा रहेको भन्दै उनले भने, ‘अहिलेको अवस्थालाई राजनीतिक फाइदाका लागि कसैले प्रयोग गर्ने छैन भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु ।’ मृतकहरुको शव ल्याउन सरकारले कूटनीतिक पहल गरिरहेको भन्दै मन्त्री साउदले भने, ‘यसमा सस्तो लोकप्रियता कसैले खोज्ने छैन, त्यहाँ जाने, भ्रमण गर्ने, हामीले गर्यौं भन्नेतर्फ जाने छैनन् । सरकारलाई सबैले सहयोग गर्नेछन् भन्ने म विश्वास व्यक्त गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?