
२३ असोज, काठमाडौं । मंगलबार भारतको ‘डे अहेड’ बजारमा नेपालको बिजुली प्रतियुनिट १६ रुपैयाँमा बिक्री भइरहेको छ । भारतको इनर्जी एक्सचेञ्ज (आईएक्स) बजारको तथ्यांक अनुसार मंगलबार प्रतियुनिट १० भारतीय रुपैयाँ अर्थातः (१६ रुपैयाँ प्रतियुनिट) मूल्यमा बिजुली बिक्री भइरहेको हो ।
भारतीय बजारमा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गर्छ । तर, मंगलबार भने ९६ वटा नै ब्ल्कमा प्रतियुनिट १० भारतीय रुपैयाँ अर्थात १६ रुपैयाँमा बिक्री भइरहेको छ ।
रुस–युक्रेन युद्धको समयमा कोइला आयातमा समस्या आएपछि विद्युतको मूल्य आकाशिएको थियो । करिब दुई वर्षअघि भारतले आईएक्स बजारलाई नियमन गरी विद्युत् खरिद बिक्रीको अधिकतम दर प्रतियुनिट १२ भारतीय रुपैयाँ तोकिएको छ ।
अहिले यो सीमाभित्र रहेर कारोबार हुन्छ । पछिल्लो समय भारतको टिस्टा नदीमा रहेको जलविद्युत् परियोजनाहरुमा बाढीले क्षति पुग्दा भारतमा विद्युतको उत्पादन घटेको छ । सोहीकारण माग अनुसार विद्युत् बिक्रीकर्ताले प्रस्ताव पेश गर्न नसक्दा नेपालको बिजुलीले राम्रो मूल्य पाएको हो । सामान्य अवस्थामा नेपालको बिजुलीको मूल्य प्रतियुनिट ५ देखि ८ रुपैयाँ भारुको बीचमा रहने गरेको छ । आईएक्सको रियल टाइम मार्केटमा समेत आज भारु प्रतियुनिट १० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आईएक्स)को रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न यसै महिना अनुमति पाएको थियो । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अहिले सवा घण्टाअघि बिडिङ गरी विद्युत् बिक्री गर्न सक्छ ।
भारतको विद्युत् मन्त्रालयले १५ साउनमा विद्युत् आयात/निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संशोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।
प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनमार्फत हरियाणा राज्यलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।
प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को साउन र भदौमा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।
प्रतिक्रिया 4