
केही दिन अगाडि घाँटी र जीउ दुखेको भन्दै आएका एक बिरामीको रगत परीक्षण गर्दा डेंगु भाइरस संक्रमण देखियो। उनी गाडी र बाइकका पार्टपुर्जा र टायर फालिएको अव्यवस्थित ग्यारेजमा काम गर्दा रहेछन्। उनको काम, लक्षण र रगतमा देखिएको डेंगु भाइरसको सम्बन्ध सहजै अनुमान गर्न सकिन्थ्यो।
केही हप्ता अगाडि धरानमा फैलिएको डेंगु महामारीको बारेमा देखे/सुने पनि अहिले यसको चर्चा चिसिएको छ। त्यसैले पनि धेरैलाई लाग्न सक्छ, यो वर्षको डेंगु सिजन सकिसकेको छ। धेरैलाई डेंगु भनेको मनसुनमा मात्र देखिने रोग भन्ने पनि लाग्दो हो। तर वर्षेनि डेंगु मनसुन सकिएलगत्तै कुनै निश्चित क्षेत्रमा फैलने गरेको हामीसँग अनुभव छ। केही दिनयता काठमाडौंमा डेंगु संक्रमितको सङ्ख्या ह्वात्तै बढेको देखिन्छ। अर्थात् मनसुन आउट, डेंगु सिजन भने इन भएको छ।
धरानमा डेंगुले प्रकोपको स्वरूप लिंदै गर्दा काठमाडौंमा डेंगु नियन्त्रणको एक मात्र विकल्प लामखुट्टेको ‘लार्भा खोज्ने र नष्ट गर्ने’ अभियानलाई अगाडि बढाउनुपर्छ भनिएको थियो। सायद यस बारेमा छलफल भयो होला, कागजमा केही योजना लेखिए पनि होलान् तर व्यवहारमा भने खासै देखिएन र देखिएको छैन। यसबाट लामखुट्टेले फैलने अवसर पाएको छ भने संक्रमित र बिरामीको सङ्ख्या बढेर जाने सम्भावना बढेको छ।
कोभिड–१९ जस्तै डेंगु पनि मानिसबाट मानिसमा सहजै सर्दैन । मृत्युको सङ्ख्या ह्वात्तै नबढ्ने भएपनि लक्षण देखिन थालेपछि यसले केही समय सताउँछ। अझ कडा भएमा अनिवार्य ८–१० दिनदेखि दुई हप्तासम्म शारीरिक दुखाइ भोग्नु/बेहोर्नुपर्छ। यो अवधिमा धेरैले कोभिड–१९ भन्दा धेरै दुःख पाएको अनुभव गत वर्ष धेरैले सुनाएका थिए।
तथ्याङ्कलाई आधार मान्ने हो भने संक्रमित र मृत्युको सङ्ख्या पनि प्रत्येक महामारीसँगै बढेको नै देखिन्छ। केही दिनयता काठमाडौंमा डेंगुका बिरामी देखिनुले संक्रमित लामखुट्टेको सक्रियता बढेको संकेत गरेको छ। तत्काल लामखुट्टेको ‘लार्भा खोज्ने र नष्ट गर्ने’ अभियानलाई एक्सनमा बदल्न सकियो भने थप संक्रमित हुने अवस्थालाई ब्रेक लगाउन केही हदसम्म सफल हुन सकिनेछ। यद्यपि हाल वयस्क भइसकेको लामखुट्टेको नियन्त्रण गर्ने सटिक उपाय नहुँदा यसको टोकाइसँगै संक्रमित हुनेको सङ्ख्या भने रोक्न कठिन हुनेछ।
लामखुट्टेको टोकाइबाट बच्ने हल्का उपायहरू त्यति व्यावहारिक भने छैन। यस्तो हुनुमा लामखुट्टेको आनीबानी नै हो। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। यो लामखुट्टेको टोकाइबाट विगतमा जस्तो राति सुत्दा झुल लगाएर वा धुप बालेर मात्र सुरक्षित हुन सकिंदैन। किनभने यो लामखुट्टे विशेषत: दिनमा सक्रिय हुने र सोही समयमा टोक्दा डेंगु भाइरस फैलने गर्दछ।
दिनमा सबै आ–आफ्नो काममा व्यस्त हुने हुँदा लामखुट्टेको टोकाइबाट बच्न असम्भवप्रायः देखिन्छ। उदाहरणको लागि एक विद्यार्थीले शिक्षकको पढाइमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ भने कर्मचारी सेवाग्राहीको काममा व्यस्त रहनुपर्ने हुन्छ। अरु पनि आफ्नै काममा व्यस्त हुँदा लामखुट्टेले टोकेको कतिपयलाई त थाहै नहुने वा थाहा हुँदासम्म (चिलाउने) टोकिसकेको हुन्छ। त्यसैले दिनमा लामखुट्टेको टोकाइबाट बच्न असम्भवप्राय: हुन्छ भन्न खोजिएको हो।
सम्भवतः यो सामग्री पढ्दै गर्दा धेरैलाई यस्तै अनुभव भइरहेको पनि होला। कतिपय संक्रमित बिरामीहरूले गत साल लामखुट्टे भगाउने उपायहरू अपनाउँदा वा सामग्रीहरूको प्रयोगका बाबजुद डेंगु संक्रमित हुनुपरेको भनेका थिए।
कतिपयले लामखुट्टेको टोकाइबाट बच्न र यसको वृद्धि विकास नहोस् भन्नका लागि आफ्नो घर वरिपरि पानी जम्ने खाल्डा–खुल्डी पुर्ने वा पानी नजम्ने वातावरणमा विशेष ध्यान दिने गर्दछन्। यो उपाय राम्रो हो पनि। तर डेंगु संक्रमण बढी हुने ठाउँ आफू बस्ने घरभन्दा पनि आफू काम गर्ने ठाउँ र कार्यालय वा दिनमा बढी बिताउने ठाउँमा हुन्छ भनेर कमैलाई जानकारी भएको हुनुपर्दछ।
सन् २०१९ मा काठमाडौंमा डेंगु व्यापक फैलिंदा धेरै संक्रमित आफ्नो वासस्थान भन्दा पनि कार्यालयमा हुँदा लामखुट्टेको टोकाइबाट डेंगु लागेको देखेको थियो। तसर्थ हामीले आफ्नो घरसँगै कार्यस्थलमा लामखुट्टे वृद्धि विकास हुनसक्ने ठाउँको पहिचान गरी लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने उपायहरू अपनाउनु बुद्धिमानी हुनेछ।
सम्भव भएसम्म डेंगु फैलने सिजनभरि आफ्नो कार्यालयमा हप्ताको कुनै एक दिन लार्भा भए नभएको हेर्ने र भए नष्ट गर्ने समय निकाल्न सके लामखुट्टेको टोकाइबाट हदैसम्म बच्न सक्नेछ।
अचानक उच्च ज्वरो आउनु, टाउको र आँखाको गेडी दुख्नु, ढाडको तल्लो भाग र पिंडुला दुख्नु, खानामा अरुचि र शरीर चिलाउँदा स–साना राता बिमिरा देखिनु डेंगुका प्रारम्भिक लक्षण हुन्। यस्ता लक्षणहरू सामान्यतया ४ देखि १० दिनभित्र देखिने गर्दछ भने औसतमा ८–१० सम्म लक्षणले दुःख दिने वा निरन्तरता पाउने गर्दछ। यो अवधिमा शारीरिक दुखाइको साथसाथै वाकवाकी वा बान्ता समेत हुनसक्दछ।
ज्वरो घटेको २४ देखि ४८ घण्टा बिरामीको लागि महत्वपूर्ण समय हुनेछ किनभने कतिपयमा यही समय अवधिमा जटिलताहरू देखिन सक्दछ। यो अवधिलाई ‘क्रिटिकल फेज’ पनि भन्ने गरिन्छ। तर अवधि पार गरेमा भने ‘रिकभरी फेज’ सुरु हुन्छ अर्थात् बिरामीको अवस्था सुधारोमुख हुनेछ। जोकोही डेंगु संक्रमित भएको अवस्थामा चिकित्सकको सम्पर्कमा रही आवश्यकता अनुसार रगतको परीक्षण गर्दै सम्भावित जोखिमको जानकारी वा उपचार गर्दै जानु उपयुक्त हुनेछ।
डेंगु सामान्यतया मनसुन लगत्तै सुरु हुने गरेतापनि मनसुन सकिएलगत्तै पनि कुनै सीमित क्षेत्रमा फैलिने गर्दछ। ठूलो प्रकोपको रूप लिने अवस्थामा मनसुन सुरु भए लगत्तैबाट फैलन सुरु हुने गरेको देखिन्छ भने मनसुनको अन्त्यसँगै देखिने डेंगुको फैलावट सीमित क्षेत्रमा देखिने विगतको अनुभव छ। हाल काठमाडौंमा मनसुनको अन्त्यसँगै डेंगु संक्रमित व्यापक बढेको देखिन्छ। संक्रमणले जटिलताको स्वरूप कुन हदसम्म लिन्छ भन्नको लागि भने केही दिन पर्खनुपर्ने हुन्छ।
तर मुख्य कुरा हामीले गत वर्षको डेंगु महामारीबाट भने पाठ सिकेनौं वा सिक्न चाहेनौं वा बिर्सियौं भन्ने बुझिन्छ। अर्थात् त्यो भनेको लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने योजना गफ र कागजमा मात्र सीमित देखिए। धरानमा यो वर्ष डेंगु फैलनु पछाडिको मुख्य कारण र कमजोरी पनि यही नै थियो।
लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक छन्।
प्रतिक्रिया 4