+
+

हमासको हमलापछि अहिले इजरायलमा के भइरहेको छ ?

एजेन्सी एजेन्सी
२०८० असोज २३ गते २०:१३
इजरायली सेनाको कारबाहीमा परेर मारिएका आफ्ना नागरिकको शव बोक्दै प्यालेस्टायनी ।

२३ असोज, काठमाडौं । शनिबारयता इजरायल र हमासबीच भीषण युद्ध जारी छ । हालसम्मको स्थितिमा इजरायलमा ९०० र प्यालेस्टाइनमा ७७० जनाले गुमाएका छन् ।

गाजाको तारबार भत्काएर  इजरायली परिधिमा हमला भएको तीन दिनपछि इजरायली सेनाले गाजा आफ्नो नियन्त्रणमा लिन सफल भएको हो ।

हमासविरुद्ध लड्न र गाजालाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिनका लागि इजरायली सेनाका ३५ वटा बटालिएन परिचालित छन् । रक्षा संयन्त्रका प्रवक्ता रिचर्ड हेजले भनेका छन्, ‘गाजालाई आफ्नो नियन्त्रणमा लिनका लागि ३५ बटालिएन परिचालित छन् ।’

इजरायली सेनाले १ हजार ५०० हमास लडाकु मारेको दाबी समेत गरेको छ । इजरायलको हवाइ सेनाले हमास लडाकु केन्द्रित गरेर २०० वटा टार्गेटमा प्रहार गरिएको बताएको छ ।

हमास र इजरायलबीचको युद्धका कारण गाजा क्षेत्रका १ लाख ८७ हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

हमासको हमलामा मुछियो इरान

हमासलाई इजरायलमा हमलाका लागि इरानले उक्साएको आरोप लागेको छ ।

वाल स्ट्रीट जर्नलले हमास र लेबननको सशस्त्र समूह हिज्जबुल्लाहको उच्चपदस्त अधिकारीको हवाल दिँदै इरानको संकेत र समर्थनमा आक्रमण भएको बताएको छ ।

इरानको विदेश मन्त्रालयले भने राजनीतिक कारणले आफूहरुलाई बदनाम गराउन खोजिएको र यस हमलामा आफ्नो कुनै पनि हात नरहेको बताएको छ । ‘अन्य राष्ट्रको निर्णयमा इरानले कहिल्यै पनि हस्तक्षेप गर्दैन । यो आरोप नितान्त राजनीतिक पूर्वाग्रहमा केन्द्रित छ,’ इरानको विदेश मन्त्रालयले भनेको छ ।

यो आक्रमणमा आफ्नो भूमिका नरहेको इरानले बताए पनि हमासलाई इरानले लामो समयदेखि सहयोग भने गर्दै आएको आरोप छ । उसले हमासलाई हतियारदेखि आर्थिक सहयोग समेत उपलब्ध गराएको थियो । इजरायलको अन्तर्राष्ट्रिय जासुस संयन्त्र मुसादका पूर्वअधिकारी हेम टोमरले भनेका छन्, ‘हमासलाई हतियार तथा वित्तिय सहयोग गर्ने प्रमुख राष्ट्रनै इरान हो । त्यसैले आक्रमणमा उसको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । हमासका लडाकुलाई उसले सिरिया, यमन र तेहरानमै राखेर तालिम समेत दिएको तथ्य छ ।’

गाजाको पूर्ण नियन्त्रणले होला त समाधान ?

इजरायलले गाजालाई पूर्ण नियन्त्रणमा लिनका निम्ति उसले कडा प्रतिबन्ध लगाएको छ । यसले २० लाख मानिस प्रभावित हुनेछन् । इजरायलका रक्षामन्त्री योएभ जलान्टले भनेका छन्, ‘गाजामा विद्युत, खानेपानी, खाद्यान्न, ग्यास सबै बन्द हुनेछ ।’

इजरायलको यस कदमको संयुक्त राष्ट्रसंघले विरोध जनाएको छ । राष्ट्रसंघको वडापत्र अनुसार सामुहिक दण्ड प्रतिबन्ध रहेको बाबजुद पनि इजरायलले प्यालेस्टाइनसँग प्रतिसोध साँध्नका लागि सामुहिक दण्डमा अघि बढेको भन्दै राष्ट्रसंघले विरोध जनाएको हो ।

इजरायलले गाजामा २००७ देखि नाकाबन्दी लगाएको छ । जेनेभा महासन्धीमा भनिएको छ, ‘सामुहिक सजाय पूर्ण रुपमा प्रतिबन्ध छ र कुनैपनि बहानामा यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको दृष्टिमा वैध मान्न सकिने छैन ।’

दोषीमात्रै सजाएको भागेदार हुनुपर्ने अवधारणा अन्तर्गत यो सन्धी जारी गरिएको हो । समग्र प्यालेस्टाइन यसको जिम्मेवार नरहेकाले प्यालेस्टाइनलाई निसाना बनाएर इजरायले गाजामा चालेको कदम गलत रहेको राष्ट्रसंघको तर्क छ ।

विगतमा इजरायलले यस्तै सामुहिक दण्डको नीति लिएको थियो । त्यसबेला उसले व्यक्तिको घर नस्ट गर्ने, सम्पत्ति कब्जा गर्ने, कर्फ्यु लगाएर पानीका श्रोत तथा खाद्यान्न बाली नस्ट गर्ने काम गरेको थियो ।१६ वर्षदेखिको प्रतिबन्धका कारण गाजामा बेरोजागरको संख्या बढेको छ । सन् २०२३ देखि गाजा क्षेत्रमा प्यालेस्टाइनले १३ घण्टा मात्रै विद्युत पाइरहेका छन् ।

हमासविरुद्ध प्रतिवादका लागि इजरायलले किन धेरै समय लगायो ?

इजरायली रक्षा संयन्त्रले हमाससँग प्रतिवादका लागि निकै समय लगाएको आरोप खेपिरहेको छ ।

‘इजरायली रक्षा संयन्त्रले तत्कालै प्रतिवाद गरेको भए यत्तिको क्षति सायदै हुनेथियो । जरुरी सेनाको थियो र समुदाय नागरिक सुरक्षा बलमा निर्भर हुनुपर्‍यो । त्यसैले धेरै क्षति भयो,’ एक स्थानीयले बीबीसीसँग भनेका छन् ।

यो आक्रमण कसरी भयो भन्नेमा सबै चकित छन् । सबल सैन्य संयन्त्र, खुंकार जासुस र अत्याधुनिक प्रतिरक्षा प्रणालीलाई पनि चक्मा दिँदै हमासले हमला गरेको थियो ।

शनिबारको धमाकेदार आक्रमणअघि हमासले इजरायललाई आफू आक्रमणका लागि असक्षम रहेको विश्वास दिलाउँदै आएको थियो ।

विद्युतीय सञ्चार समेत बन्द गरेर उसले राम्रोसँग लडाकु दस्ताको परिचालन गरेको थियो । लडाकुलाई कभर गर्नका लागि सुरुमा हजारौं रकेट इजरायलको आकाशमा हमासले छोडेको थियो ।

ग्लाइडर र मोटरसाइकलबाट ८०० देखि हजार लडाकु इजरायलको परिधिमा प्रवेश गरेर आक्रमण गरेका थिए । हमासको यो शैली सबल इजरायली सैन्य संयन्त्रसँग तुलानात्मक रुपमा निकै लामो समयसम्म सफल रह्यो ।

विगत केही महिनादेखि इजरायलको सम्पूर्ण रक्षा संयन्त्र गाजाको सट्टा वेस्ट बैंकमा केन्द्रित रहेको मौका हमासले छोपेको थियो ।

एकै आक्रमणबाट हमासले इजरायली सबल रक्षा संयन्त्र, अत्याधुनिक प्रतिरक्षा प्रणाली र खुंखार जासुसविरुद्ध थुप्रै प्रश्न चिन्ह खडा गराइदियो ।

वेस्ट बैंकमा शक्ति सञ्चय गर्दा तत्कालै प्रतिवादका  लागि समय लागेको विश्लेषण हाल भइरहेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?