
२३ असोज, काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल) ले ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फरमेसन टेक्नोलोजी (बीएस्सी सीएसआईटी) को शुल्क वृद्धि गरेको छ ।
सोमबार बसेको क्याम्पस कार्यसमितिको बैठकले अब शुरु हुने नयाँ शैक्षिक सत्रदेखि ३ लाख २५ हजार बनाउने निर्णय गरेको क्याम्पसले जानकारी दिएको छ ।
क्याम्पस प्रमुख लोक बहादुर बरालले पुरानै शुल्क अनुसार भर्ना लिँदा शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिने भएपछि शुल्क वृद्धि गरेको बताए । उनले भने ‘यथावत शुल्क राख्दा कार्यक्रम नै चलाउन नसकिने भएपछि शुल्क बढाएका हौं । अहिले बढाएको शुल्क पनि तुलनात्मक रुपमा धेरै कम छ ।’
मंगलबारदेखि विद्यार्थी भर्ना लिन शुरु गरेको क्याम्पसले मंगलबार बढेको शुल्क विवरण सहित २६ असोजभित्र भर्ना हुन सूचना सार्वजनिक गरेको छ । क्याम्पसले यसअघि २ लाख ५३ हजार शुल्कमा पढाउँदै आएको थियो ।
प्रतिक्रिया 4