
२३ असोज, काठमाडौं । तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले बुधबार (भोलि) बुझाउने तयारी गरेको छ ।
२५ दिनभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउनुपर्ने बाध्यता भएका बुधबार प्रतिवेदन पेश गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले अनलाइनखबरलाई बताए ।
‘तर, अनुसन्धान गर्नुपर्ने थुप्रै विषयहरु बाँकी रहेकाले थप छानबिन गर्न मिल्ने बाटो राखेर प्रतिवेदन पेश गर्छौं’, उनले भने, ‘यसबारे जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीहरुसँग पनि छलफल भएको छ ।’
घटना भएको दुई दिनपछि प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेको थियो ।
उनले सः मिलको बन्द गेटबाट माथि चढेर भित्र गएर विशाल राईको हत्या गरेको बयान दिएका थिए । त्यसपछि अरु थप तीन जना पनि आएपछि हत्या गरेर शव व्यवस्थापन गरेको अनुसन्धानको निष्कर्ष छ ।
अनुसन्धानका क्रममा उनले अरु कम्तिमा ६ वटा हत्यामा संलग्न रहेको भन्दै सनसनीपूर्ण बयान दिएका थिए । त्यसपछि प्रहरीले उनलाई विभिन्न ठाउँमा समेत लिएर गएको थियो । ‘उनले भनेका आधारमा विभिन्न ठाउँमा लगेर भेरिफाइ गर्ने प्रयासहरु गर्यौं’, एसएसपी खत्री भन्छन्, ‘तर, तत्कालै मुद्दा चलाउन सक्ने स्थिति छैन ।’
यद्यपि, केही घटनाका हकमा थप अनुसन्धानको आधारहरु भेटिएको भन्दै उनले अनुसन्धान जारी राखिने बताए । अदालतको आदेशबाट उनी कारागार गएको अवस्थामा पनि बयानका लागि आवश्यकता अनुसार झिकाइने खत्री बताउँछन् । प्रहरीले हालै भण्डारीको ‘ब्रेन म्यापिङ’ समेत गराएको थियो ।
आरोपी बोल्न नसक्ने अवस्थाको भएकाले पोलिग्राफ सम्भव नहुने निष्कर्षपछि नेपालमा अपराध अनुसन्धानमा पहिलो पटक ब्रेन म्यापिङ विधिको प्रयोग गरिएको थियो ।
प्रतिक्रिया 4