+
+

काठमाडौंमा कुकुर आतंक रोक्न बन्ध्याकरण अभियान

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते २१:४७

२३ असोज, काठमाडौं । अनामनगरको अफिसबाट थापागाउँको कोठासम्म आउँदा योगेश राईलाई एउटै डर हुन्छ– कुकुरको ।

राति ८ बजे अफिसको काम सकेर घर जाँदा उनी सधैं कुकुरले टोक्ला कि भन्ने त्रास बोकेर हिँड्नुपर्छ ।

‘एक दिन दुईवटा कुकुर भुक्दै आए, झन्डै टोकिसकेका थिए । मैले मोबाइलको टर्च बालेर पछाडि फर्कँदै केहि परसम्म हिँडेपछि पछि लाग्न छोडे,’ उनले भने ।

यस्तै कालिमाटी बस्ने सविता क्षेत्री कुलेश्वरमा पसल बन्द गरेपछि मुख्य सडक हुँदै घर आउँछिन् । ‘एक दिन पसल बन्द गरेर निस्किँदा नै १० बजेको थियो, कुकुरले खुट्टामै आक्रमण ग¥यो, चिच्याउँदै भागेँ, धन्न टोक्न भ्याएनछ, त्यहाँदेखि मलाई राति हिँड्न साह्रै डर लाग्छ,’ उनले भनिन् । अँध्यारोमा कुकुरले झन् धेरै दुःख दिने गरेको उनले बताइन् ।

राई र थापालाई जस्तै सडकका कुकुरले धेरैलाई आतंतिक पार्ने गरेका छन् । विशेषगरी राति हिँड्नुपर्ने पैदल यात्रु, दुई पाङ्ग्रे सवारी साधन चालकलाई कुकुरले दुःख दिने गरेका छन् ।

कुकुरले दिने समस्याका बारेमा काठमाडौं महानगरपालिकाको कार्यपालिकामा पनि पटकपटक उठ्ने गरेको छ । १ साउन २०७९ को नगरसभामा काठमाडौं महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले काठमाडौंका कुकुर मार्नुपर्ने अभिव्यक्ति दिएपछि उनको आलोचना भयो ।

पशुअधिकारकर्मीहरुले उनलाई मुद्दा दायर गरे । तर, खुल्ला छाडिएका कुकुर नियन्त्रण गर्नुपर्ने आशयका साथ आफूले त्यो बोलेको उनी बताउँछन् । ‘वडामा दैनिक कुकुर आतंकको गुनासो छ, राती हिन्न नसक्ने अवस्था छ,’ उनले बताए ।

उनी मात्रै होइन, ३२ नम्बर वडाध्यक्ष नवराज पराजुली, १५ नम्बर वडाध्यक्ष इश्वरमान डंगोललगायतले पनि यो विषय निरन्तर उठाउने गरेका छन् । महानगरले सञ्चालन गरेको कल सेन्टरमा गत आर्थिक वर्षमा कुकुरले दुःख दियो भनेर ५० भन्दा बढी गुनासो आएको महानगरले जनाएको छ ।

त्यस्तै, नगर प्रहरीसँग पनि सडक र टोलमा कुकुर नियन्त्रण गरिदिन भनेर धेरै अनुरोध आउने गरेको छ । ‘चिनजानको आफन्तदेखि, बाटोमो भेटेर, फोन गरेर, मेसेज गरेरसम्म कुकुरहरुले दुखः दिएको गुनासो आउने गरेको छ,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्याल भन्छन् ।

सडकमा बस्ने कुकुरबाट जनताले अत्यधिक सास्ती पाएपछि महानगरले बन्ध्याकरण अभियान शुरु गरेको छ । कुकुर काठमाडौंको प्रमुख समस्यामध्येमा पर्ने भएकाले यस्ता कुकुरको संख्या बढ्न नदिन यो अभियान सुरु गरेको महानगरेका प्रवक्ता नवीन मानन्धर बताउँछन् ।

काठमाडौं महानगरपालिकाभित्र कति खुल्ला छाडिएका कुकुर छन् भन्ने एकिन तथ्यांंक नभएको महानगरका कृषि तथा पशुपक्षी विभागका प्रमुख डा. अवधेश झा बताउँछन् ।

पहिलो दिन ९७ कुकुरको बन्ध्याकरण

काठमाडौंमा कुकुर आतंक रोक्न महानगरपालिकाले मंगलवारबाट बन्ध्याकरण सुरु गरेको छ । कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप दिने कार्यक्रमअन्तर्गत पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा बन्ध्याकरण सुरु भएको हो ।

महानगरपालिकाले ९ वटा संस्थालाई कुकुर र बिरालोको बन्ध्याकरण गराउन जिम्मेवारी दिए पनि ५ वटा संस्थाले मात्रै बन्ध्याकरण गराउन सकेको पशुपन्छि विभाग प्रमुख झा बताउँछन् ।

‘काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर)ले २१ वटा कुकुरलाई बन्ध्याकरण गरेको छ । पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपालले १५ वटा, मण्डला भेट हस्पिटलले ३० वटा, स्नेहाज केयरले १७ वटा, अक्सा नेपालले १४ वटा कुकुरको गरी ९७ वटा कुकुरको बन्ध्याकरण गरेको छ,’ उनले भने ।

जिम्मेवारी लिएका बत्तीसपुतली युवा समाज, एनिमल नेपाल, नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर र भेट फर योर पेट संस्थाले भने एउटा पनि बन्ध्याकरण नगरेका हुन् । यसरी बन्ध्याकरण गरेबापत संघ संस्थालाई प्रतिकुुकुर २ हजार ५ सय रुपैयाँ महानगरले दिने गरेको छ । खोप मात्र लगाएकोमा २ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

‘तीन महिनामा ५ हजार ८ सय सामुदायिक कुकुर र बिरालाको बन्ध्याकरण गर्ने र १६ हजारलाई भ्याक्सिन दिने लक्ष्य छ,’ डा. झाले भने ।

पहिलो दिन बिरालोको बन्ध्याकरण नभएको महानगरले जनाएको छ । बन्ध्याकरणपछि केही समय आराम गराएर कुकुर र बिरालालाई उनीहरु बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिने झाले बताएका छन् । ‘खोप पाएको वा बन्ध्याकरण गरिएकाहरुको कानमा संकेत (एअर नोच) चिह्न लगाएर महानगरले जहाँबाट उठायो त्यहीँ छोड्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?