
यो विश्वको यस्तो अन्तिम देश हो, जसको आफ्नो राष्ट्रिय फुटबल टिम छैन । आखिर अब कति समयसम्म यो देशसँग फुटबल टोली नहोला ?
प्रशान्त महासागरको मध्य भागमा अवस्थित मार्सल आइल्याण्ड्स ज्वालामूखी टापुहरु तथा मुगा टापुहरुले बनेको क्षेत्र हो जुन लामो समयदेखि अमेरिकाको आणविक परीक्षण स्थलको रुपमा रहँदै आयो।
अब यो देश विश्व फुटबलमा एउटा स्वतन्त्र शक्ति बन्ने आशामा छ । यद्यपि यो सपना यथार्थमा परिणत हुनका लागि केही समय लाग्नेछ ।
मार्सल टापुको आफ्नै राष्ट्रिय फुटबल टोली बनाउने मात्र नभइ उक्त टोलीलाई विश्वस्तरमै प्रतिस्पर्धी बनाउने अभिलाषाको अग्रपंक्तिमा एकजना बेलायती नागरिक खटिएका छन्, जसको नाम हो लोएड ओवेर्स ।
अक्सफोर्डशायरका बासिन्दा लोएडले विगतमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गर्दै अमेरिका, क्यानडा तथा स्विडेनसम्म पुगेका छन् । उनलाई अन्तर्राष्ट्रिय फुटबलमा योगदान गर्नेगरी जग निर्माण गर्ने जिम्मा प्रदान गरिएको छ ।
लोएडले अनलाइन फुटबल प्रशिक्षणसम्बन्धी लेखेको ब्लग पोस्ट पश्चात् मार्सल टापुस्थित राष्ट्रिय फुटबल संघका अध्यक्षसँग भएका कुराकानीबाट उक्त योजना तय भएको हो ।
लोएड भन्छन्, ‘इमेलबाट संवाद सुरु भयो र पछि समयको अन्तरले गर्दा ह्वाट्सएपमा कुराकानी गर्न सजिलो भयो । त्यसपछि मलाई यो खेल कसरी बढिरहेको छ भन्ने सन्दर्भमा मेरो आफ्नो दर्शनसँगै प्रस्ताव समेत अघि सार्न भनियो । र, यो परिदृश्य बन्यो ।
मार्सल आइल्याण्डका लागि प्राविधिक निर्देशक रहेका लोएड तत् पश्चात् यही ग्रिष्मयाममा १३ हजार किलोमिटर यात्रा गरी पहिलोपटक मार्सल टापु पुगे ।
त्यसपछि उनले सन् २०२० मा लिभाइले स्थापना गरेको मार्सल आइल्याण्ड फुटबल महासंघको अगुवाईमा भएको बालबालिकाहरुको फुटबल सत्रको अवलोकन गरे ।
६० हजार जनसंख्या भएको मार्सल आइल्याण्ड देशको लक्ष्य भनेको सुरुमा ओसेनिया फुटबल महासंघको सदस्यता प्राप्त गर्नु र पछि विश्व स्तरीय फुटबलमा प्रतिस्पर्धा गर्नु हो । यद्यपि यसका लागि लामो समय लाग्नसक्छ ।
३३ वर्षे लोएडका लागि यो महत्वाकांक्षी परियोजनाको नेतृत्व गर्ने कुरा उनले अस्वीकार गर्न नसक्ने जिम्मेवारी थियो ।
उनी भन्छन्, ‘राष्ट्रिय फुटबल टोली नभएको विश्वको एकमात्र देशमा त्यो महत्वपूर्ण जिम्मा पाउनु वास्तवमा व्यक्तिगत तहमा मेरो लागि निकै ठूलो अवसर थियो । तथापि यो एउटा महत्वाकांक्षा पनि थियो ।’
मार्सल फुटबल संघ केवल ओसेनिया फुटबल महासंघको सदस्य मात्र होइन फिफाको सदस्य पनि बन्न चाहन्छ । उनीहरु केवल स्थानीय देशहरुसँग मात्र होइन ठुलाठुला फुटबल स्पर्धाहरुमा खेल्न चाहन्छन् ।
‘हामीलाई थाहा छ हामी विश्वकप क्वालिफायर्सको हिस्सा बन्न चाहन्छौं । हामी ओएफसी च्याम्पियनसीप तथा मूलधारको फुटबलको हिस्सा बन्न चाहन्छौं । मलाई लाग्छ आगामी दश वर्षमा यदि हामी राष्ट्रिय फुटबल महासंघले चाहे अनुसार अघि बढ्न सक्यौं भने यो लक्ष्य पूरा नहुनुपर्ने कुनै कारण छैन,’ उनले थपे ।
दोस्रो विश्वयुद्धपछि मार्सल आइल्याण्ड्स अमेरिकाले कब्जा गर्यो र आणविक हतियार परीक्षण स्थलको रुपमा प्रयोग गर्यो । अन्ततः सन् १९८६ मा यो एक सार्वभौम मुलुक बन्यो ।
लोएडका अनुसार विगतको अमेरिकी सांस्कृतिक प्रभावले पनि मार्सल आइल्याण्ड्समा फुटबल खेलको लोकपि्रयता बढेको छ ।
उनी भन्छन् , ‘कुरा लुकाउनुपर्ने केही पनि छैन । किनकि यो उनीहरुको संस्कृतिको एउटा हिस्सा हो । यो इतिहासको हिस्सा हो । अहिले पनि क्वाजालिनमा पूर्णतः क्रियाशील अमेरिकी सैन्य आधार छ । यो उनीहरुको पहिचानको हिस्सा हो र गहन रुपमा अमेरिकी संस्कृतिबाट प्रभावित छ । यहाँ बेसबल तथा बास्केटबल लगायतका खेलप्रति पनि ठूलो रुचि छ ।’
राजधानी माजुरोमा समुद्रले घेरेको राष्ट्रिय रंगशाला निर्माण भैरहेको छ । तर जलवायु परिवर्तनले समुद्रको जलसतहमा भैरहेको वृद्धिले मार्सल टापुमा खतरा पैदा गरिरहेको छ ।
विश्व बैंकका अनुसार समुद्री जलस्तरमा एक मिटरको वृद्धि हुँदा ४० प्रतिशत भवनहरु डुबानमा पर्नेछन् ।
त्यसैले मार्सल टापुले फुटबलको माध्यमबाट समेत जलवायु परिवर्तनका कारण भोग्नु परिरहेको प्रभावका विषयमा विश्वको ध्यान आकर्षित गर्ने प्रयास गर्दैछ ।
सन् २०२४ को जुलाई वा अगष्टमा मार्सल टापुले आफ्नो राष्ट्रिय जर्सीमा पहिलोपटक फुटबल टिम मैदानमा उतार्दैछ ।
केही समयअघि उसले राष्ट्रिय फुटबल टिमले लगाउने जर्सी पनि सार्वजनिक गरिसकेको छ ।
-बीबीसीबाट
प्रतिक्रिया 4