मेनिन्जाइटिस एक संक्रामक रोग हो, जसले दिमागलाई प्रभावित गर्छ । मेनिन्जाइटिस संक्रमण हुँदा थोरै मात्र लापरवाही गरियो भने ज्यानै समेत जाने जोखिम हुन सक्छ । त्यसैले समयमै उपचार गरेर बच्न यस रोगबारे जान्न आवश्यक छ ।
मेनिन्जाइटिस के हो ?
मस्तिष्कमा तीनवटा ‘मेनिन्जेस’ झिल्ली हुन्छ । सो झिल्लीहरुले मस्तिष्क र मेरुदण्डको हड्डीलाई ढाकेर सुरक्षा प्रदान गर्छ । कुनै कारणवश ‘मेनिन्जेस’ झिल्लीमा संक्रमण भएमा त्यसलाई मेनिन्जाइटिस भनिन्छ ।
मेनिन्जाइटिसको मुख्य कारण भनेको कुनै पनि प्रकारको भाइरल, फंगस र ब्याक्टेरियल संक्रमणले दिमागको झिल्ली मेनिन्जमा असर गर्नु हो । स्ट्रेप्टोकोकस निमोनिया, हेमोफिलस इन्फ्लुएन्जा, एन्टरोभाइरस, हर्पेस भाइरसको संक्रमण यसको कारण बन्न सक्छ । डेगु, कोभिड जस्ता संक्रमण, अत्यधिक ज्वरो आउँदा, क्षयरोग, पिनास भइरहेमा, विषादीको अत्यधिक प्रयोगले संक्रमण फैलिएर मेनिन्जाइटिस हुन सक्छ । र, कसैलाई नदुख्ने औषधि धेरै प्रयोग गरेमा पनि मेनिन्जाइटिस हुने सम्भावना हुन्छ ।
बदलिंदो मौसममा बाह्य भाइरस सक्रिय हुँदा मेनिन्जाइटिसको जोखिम बढी हुन्छ । जसका कारण बालबालिका बढी संक्रमित हुन सक्छन् ।
जोखिम समूह
मेनिन्जाइटिसको जोखिम जुनसुकै उमेर समूहलाई हुन सक्छ । तर प्रतिरक्षा प्रणाली कम भएकाहरुमा संक्रमणको जोखिम उच्च हुन सक्छ । जस्तै, शिशुहरूमा प्रतिरक्षा प्रणालीको विकास कम भएको कारण बढी जोखिममा हुन सक्छन् । वृद्धमा उमेरसँगै प्रतिरक्षा प्रणाली कमजोर हुँदै जान्छ, संक्रमणको जोखिम बढ्छ । केमोथेरापी गराइरहेका व्यक्ति, इम्युनोसप्रेसिभ औषधिहरू लिइरहेका व्यक्ति र मधुमेह जस्ता दीर्घकालीन रोग भएका व्यक्ति जोखिममा पर्न सक्छन् ।
लक्षण
मेनिन्जाइटिसमा संक्रमित व्यक्तिमा टाउको दुख्ने, ज्वरो आउने, गर्दन दुख्ने, बान्ता हुने, छाला र ओठ पहेंलो हुने, चिसो महसुस हुने जस्ता लक्षण देखिन्छन् । यीमध्ये मेनिन्जाइटिसको प्रमुख लक्षण ज्वरो, अत्यधिक टाउको दुखाइ र गर्दन एकसाथ दुख्नु हो । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ । किनभने मेनिन्जाइटिस ढिला उपचार गराएमा प्राणघातक पनि हुन सक्छ ।
पहिचान तथा उपचार
मेनिन्जाइटिस पहिचानका लागि सिटीस्क्यान गरेर हेर्नुपर्छ । यसमा ढाडभित्र रहेको पानीको नमुना लिइन्छ । मेनिन्जाइटिसको समस्या आपतकालीन अवस्था हो । त्यसैले यसको पहिचान हुने बित्तिकै उपचार आवश्यक पर्छ । जसले गर्दा संक्रमणलाई फैलिनबाट रोक्न सकिन्छ । एन्टीबायोटिक तथा मेनिन्जाइटिसकै एन्टीभाइरल औषधि अस्पताल भर्ना भएको कम्तीमा पनि १४ दिनसम्म नियमित रुपमा नसामा सुई लगाएर दिन्छ । संक्रमण धेरै भएमा बारम्बार ज्वरो आयो, हाउभाउमा परिवर्तन आएमा, अवस्था गम्भीर हुँदै गएमा आईसीयू तथा भेन्टिलेटरमै राख्नुपर्ने अवस्था हुन्छ ।
जटिलता
संक्रमण तीव्र रुपमा बढिरहेको छ तर समयमा उपचार नपाएमा जटिलता बढ्दै जान्छ । शिशुमा कान कम सुन्ने, दिमागको ढिलो विकास हुने जस्ता जटिलता देखिन्छन् भने वयस्कमा समयमै उपचार हुँदा पूर्ण रुपमा निको हुन्छ । यद्यपि, ढिला भएमा कसैमा मृत्यु समेत हुन सक्ने सम्भावना हुन्छ । फंगस र क्षयरोगको संक्रमण दिमागमा फैलिएर उपचारमा ढिला भएमा मृत्यु हुन सक्छ ।
बच्ने उपाय
मेनिन्जाइटिसबाट बच्ने उपाय भनेको कुनै पनि किसिमको संक्रमणबाट बच्नु हो । सरसफाइमा ध्यान दिने, ज्वरो, रुघाखोकीलाई बेवास्ता नगर्ने, चोटपटकको बेलैमा उपचार गराउँदा दिमागमा यस्ता संक्रमण पुग्न पाउँदैनन् । यसबाट बच्न अहिले खोप पनि उपलब्ध छन् ।
(न्युरोलोजिस्ट डा. भट्टराई काठमाडौं महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4