
२४ असोज, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कार्गो भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ । अनधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि यो गेट सञ्चालनमा ल्याइएको भन्सार कार्यालयको दाबी छ ।
प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणकबाट वितरण हुने ‘वाई’ पास बाहकले मात्र यो गेट पार गर्न सक्नेछन् ।
गत २ साउनमा कार्गो भवनबाट गाडीको ‘ब्रेक शु’भित्र लुकाएर अवैध सुन बाहिरिएपछि विमानस्थल भन्सार कार्यालयले भन्सार यार्ड प्रवेशमा कडाइ गरेको हो ।
उक्त घटनामा अनधिकृत व्यक्तिको प्रवेश देखिएपछि विभिन्न निकायको सिफारिसका आधारमा भन्सार कार्यालयले कार्गो बिल्डिङ प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको हो ।
त्रिभुवन विमानस्थल प्रवेशका लागि अंग्रेजी अल्फाबेट ‘ए’ देखि ‘एल’ सम्मको पास उपलब्ध गराइन्छ । कार्गो भवन प्रवेशका लागि भने अंग्रेजी अल्फावेट ‘वाई’ पास उपलब्ध गराइएको हो ।
सर्वसाधारणहरु आफ्नो मालवस्तु छुटाउनका लागि भन्सार एरियामा प्रवेश गर्नु परेमा भिजिटर पास लिई प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ ।
हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड अनलोड गर्ने श्रमिकलाई मात्र फोटो सहितको पास उपलब्ध गराइएको भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताए ।
‘यसबाट अनाधिकृत व्यक्ततीको प्रवेश र अवैध सामान आयात अन्त्य हुन्छ,’ पाण्डेले भने, ‘यसका लागि हामीले मापदण्ड तयार पारी यो पास वितरणलाई व्यवस्थित गरेका छौ ।’
भन्सार कार्यालयले यस अघि विमानस्थलको यात्रु आवागमन तर्फ बहमूल्य सामान र विदेशी मुद्राको स्वघोषणा कक्ष संचालनमा ल्याएको थियो ।
यद्यपि पछिल्लो समय अवैध सुन तथा मालवस्तु ल्याई दर्जनौं व्यक्तीहरु कानुनी कारवाहीमा पर्ने क्रम नरोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4