
२४ असोज, काठमाडौं । काभ्रेपलाञ्चोकमा ८ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका १ हजार ४ सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा ६ सय ४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी संघले जनाएको छ ।
बनेपा नगरपालिकामा सञ्चालित सहकारीको अनुगमन प्रतिवेदन बुझाउने क्रममा संघका अध्यक्ष दिलीप शर्मा जंगमले काभ्रेमा क्रियाशील सहकारीमा ६ लाख ७९ हजार ८ सय १८ सेयर सदस्य रहेको तथ्यांक फेला परेको बताए ।
उनले उक्त प्रतिवेदन मंगलबार नगरप्रमुख शान्तिरत्न शाक्यलाई हस्तान्तरण गरेका थिए । यसबाट जिल्लाको जनसंख्या २ लाख ६४ हजार ३९ भन्दा करिब तीन लाख १५ हजारले सेयर सदस्य बढी देखिएको अध्यक्ष जंगमले बताए ।
उनका अनुसार क्रियाशील सहकारीमा ५ हजार ७ सय ८२ जना सञ्चालक छन् भने २ हजार ६ सय ५५ कर्मचारी कार्यरत रहेका छन् ।
यस्तै सञ्चालमा आएका सहकारीमा ५ अर्ब ५ करोडको सेयरपूँजी रहेको छ भने ३६ अर्बको बचत कारोबार रहेको अनुगमनले देखाएको संघले जनाएको छ । उक्त कारोबारबाट सरकारका विभिन्न निकायमा वार्षिक २४ करोड ९१ लाख राजस्व बुझाइएको अध्ययनले देखाएको छ । पछिल्ला केही वर्षदेखि सहकारीमा देखिएको विकृति, विसङ्गति सुधार गर्न तथा सहकारीमा पारदर्शिता कायम गर्न अनुगमन गरिएको जंगमले बताए ।
प्रतिवेदनमा सबैभन्दा बढी जिल्लाको प्रमुख सहर बनेपामा रहेका २ सय २० सहकारीमध्ये एक सय २३ क्रियाशील रहेको उल्लेख गरिएको छ । ती सहकारीमा ३ लाख १८ हजार ७ सय ३८ सेयर सदस्य छन् । बनेपाको जनसंख्या ६७ हजारमात्रै छ । कुल सहकारी तथा सेयर सदस्यमध्ये बनेपामा मात्रै आधा रहेको पाइएको छ । बनेपामा २ अर्ब सेयरपूँजी र १९ अर्ब बचत कारोबार रहेको प्रतिवेदनमा उल्लेख छ ।
दैनिकजसो सहकारी भाग्ने र सहकारीमा बचत गरिरहेका सेयर सदस्यको बचत रकम फिर्ता गर्न नसकेको गुनासो दर्ता हुन थालेपछि बनेपा नगरले जिल्ला सहकारी संघमार्फत नगरभित्रका सहकारीको वास्तविक अवस्थाका बारेमा जानकारी लिन गरेको अनुगमनमा दर्ता भएकामध्ये ७७ वटा सहकारी संस्था फला नपरेको संघका अध्यक्ष जंगमले बताए । ७७ वटामध्ये केही सहकारी मर्जर भएका र केही प्रदेको कार्यक्षेत्र लिएको समेत उनले बताए ।
डिभिजन सहकारीले पालिकालाई फाइल हस्तान्तरण गरेकामध्ये अहिले अनुगमन गर्दा ७७ सहकारीको फेला नपरेको भएपनि कुन सहकारी कहीले फरार भए भन्ने तथ्यांक भन्ने जानकारी नरहेको उनले बताए ।
डिभिजन सहकारीले स्थानिय तहलाई फाइल हस्तान्तरण गरेपछि बनेपाको १४ वटा सहकारी एकीकरण भएका छन् भने १९ वटा सहकारी प्रदेशअन्तर्गतका छन् । ६४ वटा सहकारीका कुनै कार्यालय र बोर्डसमेत नभएको र ६ वटा सहकारीले नियामक निकायमा प्रतिवेदन नबुझाएका उनले बताए । बनेपाको ३ सहकारीले नगरको अनुगमन टोलीलाई अनुगमन गर्न नदिएको संघका अध्यक्ष जंगमले गुनासो गरे ।
प्रतिवेदनमा केही सहकारीले कारोबार सुधार गर्न नसकेको बताएका छन् भने केही सहकारीमा २० वर्षसम्म एउटै अध्यक्ष, परिवारका सदस्य सञ्चालक र कर्मचारी, विनियम फरक–फरक, विनियममा केरमेट, विनियमविना सञ्चालन भएकोजस्ता समस्या देखिएको उल्लेख गरिएको छ ।
यस्तै कार्यक्षेत्रभन्दा बाहिर सदस्य र कारोबार गरेकोजस्ता समस्या पनि सहकारीमा देखिएकाले तत्काल नगरपालिकाले त्यस्ता सहकारीलाई नियमन गर्न विज्ञहरूको समूहले प्रतिवेदनमार्फत सुझाव दिएको हो । हाल बनेपाका केही सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएका छन् ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमले हालको अवस्थामा सहकारीलाई नियमन गर्ने निकाय सक्रिय रहनुपर्ने आवश्यकता औंल्याउँदै बचतकर्ताको रकम जोखिममा पारेर भागेका सहकारीका सञ्चालकलाई नियम अनुसार कारबाही गरी बचत फिर्ता गर्नुपर्ने बताए ।
बनेपा नगरप्रमुख शाक्यले नगरपालिकाभित्र भएका सबै सहकारीको वास्तविक तथ्यांकसहितको अवस्था प्राप्त भएकाले तत्काल यसको नियमन तथा सुधारका लागि योजना बनाउने बताए ।
नगर उपप्रमुख विमला सापकोटाले नगरले सुरु गरेको सहकारीहरूको वास्तविक अवस्था अध्ययन गरी बचतकर्ताको बचत सुरक्षित बनाउन तथा ऋण तिर्ने वातावरण बनाउन समन्वयकारी भूमिका खेल्ने बताइन् । उनका अनुसार अनधिकृतरूपमा सञ्चालित केही सहकारीको सम्पत्ति नगरमार्फत रोक्का गरिएको छ ।
प्रतिक्रिया 4