
२५ असोज, काठमाडौं । सर्वाधिक भीड हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बिहीबारदेखि अनलाइन सेवा सुरु भएको छ ।
नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो । बिहीबारदेखि राजश्व भूक्तानी, लाइसेन्स नवीकरण र वर्ग थप अनलाइनबाटै हुने व्यवस्था मिलाइएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले अनलाइन सेवा सुरु गरेका हुन् ।
दैनिक हजारौं सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए । ‘आजदेखि त्यो लाइन पूर्णरुपमा हट्नेछ’, मन्त्री ज्वालाले भने, ‘दैनिक हजारौ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ ।’
सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्राइल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात व्यवस्था कार्यालय पुगे हुने बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लम्सालले बताए ।
‘सवारी चालक अनुमति पत्रका लागि अब तीन पटक मात्र यातायात व्यवस्था कार्यालयमा जानुपर्ने छ’, प्रदेशका यातायातमन्त्री लम्सालले भने, ‘यसअघि एउटै लाइसेन्सका लागि ९ पटक यातायात व्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो ।’
प्रतिक्रिया 4