
२५ असोज, जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेश अधिवेशनमा निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । सँगै नेताहरुले सहमतिको प्रयास पनि जारी राखेका छन् ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहीबार साँझ साढे ५ बजे मतदाता नामावली प्रकाशन गरिएको छ । मतदाता नामावलीमा दाबीविरोधपछि बिहीबार साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यस्तै बिहीबार नै बेलुका ९ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता र दाबी विरोधपछि उम्मेदवारको अन्तिम नामावली २६ गते विहान १० बजे प्रकाशन गर्ने कार्यतालिका छ । २६ गते शुक्रबार ११ बवेदेखि मतदान गर्ने समय तोकिएको छ ।
निर्वाचन कार्यतालिका सार्वजनिक भए पनि बिहीबार विहानदेखि नेताहरुले सर्वसम्मत कार्यसमिति चयनका लागि प्रयास गरिरहेका छन् । एमाले स्रोतका अनुसार अध्यक्षसहित ५ जना पदाधिकारी सर्वसम्मत चयन गर्ने सम्भावना अन्तिम चरणमा पुगेको छ । तर केही आकांक्षीले नमानेकाले अझै छलफल भइरहेको एक नेताले बताए ।
स्रोतका अनुसार सिरहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल अध्यक्ष हुने करिब सहमति भइसकेको छ । यस्तै उपाध्यक्षमा पर्साका विचारी यादव, सचिवमा शिवशंकर साह हिरा (धनुषा), उप सचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) मा सहमति करिब सहमति जुटेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया 4