५ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका छन् ।
फिफा विश्वकप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा गोल गर्दै अञ्जनले हरि र निराजनको नाममा रहेको १३ गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् । अञ्जनकै गोलको मद्दतमा नेपालले लाओससँग १-१ को बराबरी खेलेको छ ।
सुरुमा हरिले १३ गोल गरेका थिए । पछि निराजनले २००८ मा यो कीर्तिमान बराबरी गरे । त्यसको १५ वर्षपछि अञ्जनले यो कीर्तिमान बराबरी गरेका हुन् ।
कीर्तिमान बराबरी गको र अब हरि र निराजनको नाममा रहेको कीर्तिमान तोड्नबाट एक गोल मात्र टाढा रहेका अञ्जनले आफूले कीर्तिमानका लागि नखेलेको बताए । उनले भने, ‘मैंले हरेक पटक भन्ने गरेको छु, म कीर्तिमानका लागि खेल्दिनँ’, उनले भने, ‘म टिमलाई जिताउन खेल्छु, टिमको जितका लागि खेल्छु, टिमले जितेपछि स्कोर त आफैं भइहाल्छ ।’
सन् १९८२ को एसियन गेम्समा वाईबी घलेले कुवेत विरुद्ध नेपालको लागि पहिलो आधिकारिक गोल गरेका थिए । त्यसयता नेपालले धेरै खेल खेलिसके पनि व्यक्तिगत सर्वाधिक गोलको संख्या भने १३ मात्र छ ।
तर अब यो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउने सक्ने खेलाडीमा उनै अञ्जन देखिएका छन् ।
अञ्जनले गत जुनमा भारतको बेंगलुरुमा भएको साफ च्याम्पियनसिपमा कुवेत विरुद्धको खेलमा गोल गर्दै गोल संख्या १२ पुर्याएका थिए ।
तर त्यसपछि उनी भारत विरुद्धको खेलमा घाइते भएपछि पूरा समय खेल्न पाएनन् भने पाकिस्तान विरुद्धको खेल गुमाएका थिए ।
त्यसयता नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा अञ्जन कीर्तिमान बराबरी पुगेका थिए ।
तर म्यानमार विरुद्ध पहिलो खेलमा पेनाल्टीमा चुकेपछि अञ्जनले कीर्तिमान बराबरी गर्न अझै कुर्नुपरेको हो । नेपालका लागि सिनियर टिमबाट खेल्न थालेको एक दशक पुग्न लाग्दा अञ्जन व्यक्तिगत उपलब्धिको पनि निकै नजिक पुगेका छन् ।
सन् २०१४ मा फिलिपिन्स विरुद्ध सन्दिप राईको स्थानमा मैदान प्रवेश गर्दै नेपालका लागि डेब्यु गरेका अञ्जनले २०१९ मा चाइनिज ताइपेई विरुद्ध पहिलो गोल गरेका थिए ।
विश्वकप छनोट अन्तर्गत त्यस खेलमा दुई गोल गरेका अञ्जनले त्यसपछि २०२१ मा इराक विरुद्ध तेस्रो गोल गरे । उनले पछिल्लो साढे दुई वर्षमा १० गोल गरिसकेका छन् ।
विंगर भए पनि पछिल्लो समय अञ्जन नेपालको मुख्य गोलकर्ताको रुपमा देखिएका छन् । नेपालका लागि उनले ५८ खेल खेल्दै एक ह्याट्रिक समेत गरेका छन् ।

अञ्जनले दक्षिण एसियाका भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानसहित चाइनिज ताइपेई, इराक र कुवेतविरुद्ध गोल गरेका छन् ।
अञ्जनको फेवरेट विपक्षी बंगलादेश र चाइनिज ताइपेई हुन् । बंगलादेशविरुद्ध उनले एक ह्याट्रिकसहित सर्वाधिक ४ गोल गरेका छन् भने चाइनिज ताइपेईविरुद्ध ३ गोल गरेका छन् । उनले गोलको सुरुवात नै चाइनिजक ताइपेईबाट गरेका थिए ।
इराक, भारत, श्रीलंका, पाकिस्तान र कुवेतविरुद्ध १–१ गोल गरेका छन् । २०१९ मा पहिलो दुई गोल गरेका अञ्जनले २०२१ मा सर्वाधिक ५ गोल गरेका थिए भने २०२२ मा ४ गोल गरेका थिए ।
हरि र निराजनको त्यो १३ गोल
हरि खड्काले सन् १९९५ मा भएको सार्क गोल्डकपमा पाकिस्तानविरुद्ध करिअरको पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । त्यही वर्ष सातौं दक्षिण एसियाली खेलकुदमा हरिले माल्दिभ्सविरुद्ध दोस्रो गोल गरे ।
यस्तै१९९६ मा एसिया कप छनोटमा ओमानविरुद्ध तेस्रो र १९९७ मा मकाओविरुद्ध विश्वकप छनोटमा चौथो गोल गरे ।
सन् १९९९ मा भारतको गोवामा सम्पन्न साफ च्याम्पियनसिप उनले माल्दिभ्सविरुद्ध आफ्नो पाँचौ र छैटौं गोल गरे । १९९९ मै काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध दुई गोल गरेका हरिले पाकिस्तान र माल्दिभ्सविरुद्ध पनि गोल गर्दै संख्या १० पुर्याए ।

त्यसपछि सन् २००१ को विश्वकप छनोटमा मकाउविरुद्ध र इराकविरुद्ध समान १–१ गोल गरे । सन् २००३ मा एसियाकप छनोट प्रारम्भिक चरणमा अफगानिस्तानविरुद्ध गोल गर्दै हरिले कीर्तिमान १३औं गोल गरे । हरिले नेपालका लागि ४९ खेल खेले ।
निराजन रायमाझीले भने ८ वर्षको करिअरमै हरिको कीर्तिमान बराबरी गरेका हुन् । त्यसमा पनि उनले केही प्रतियोगिता र खेलमा सानदार प्रदर्शन गरे । २००१ को विश्वकप छनोटमा ७ गोल गरेका उनले मकाउविरुद्ध ह्याट्रिकसमेत गरेका थिए ।
निराजनले सन् २००० मा एसियाकप छनोटमा भुटानविरुद्ध पहिलो गोल गरेका थिए । त्यसको अर्को वर्ष भएको विश्वकप छनोमा उनले ह्याट्रिकसहित ७ गोल गरे । २००१ मा विश्वकपक छनोटमा उनले मकाउविरुद्ध २ खेलमा ५ गोल गरे भने इराकविरुद्ध २ गोल गरे ।
२००३ मा साफ च्याम्पियनसिपमा भुटान र माल्दिभ्सविरुद्ध १–१ गोल गरेपछि उनको गोल संख्या १० पुग्यो । त्यसपछि २००३ मै एएफसी एसियन कप छनोटमा निराजनले अफगानिस्तानविरुद्ध २ गोल गर्दै गोल संख्या १२ पुर्याए । निराजनले सुरुको चार वर्षभित्रै १२ गोल गर्दै हरिको कीर्तिमान नजिक पुगेका थिए । तर, उनको करिअर उस्तै रहेन ।
त्यसपछि पनि विदेश पलायन भए । नेपाल फर्केर राष्ट्रिय टिममा पुनगामन गर्दै २००८ जुनमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गर्दै हरिको १३ गोलको कीर्तिमान बराबरी गरे । तर, त्यसपछि उनले राष्ट्रिय टिममा धेरै समय खेल्न पाएनन् र थप गोल भएन । उनले नेपालका लागि जम्मा २२ खेलमै १३ गोल गरेका हुन् ।
प्रतिक्रिया 4