
२५ असोज, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा प्रमुख कार्यकारी अधिकृत नियक्ति प्रक्रिया सुरु गर्ने निर्णय लगत्तै ठूलो संख्यामा कर्मचारी सरुवा गरिएको छ । अस्थायी जिम्मेवारी तोकिएका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले गरेको सरुवाको निर्णय विरुद्ध कर्मचारीले आन्दोलनको चेतावनी दिएका छन् ।
संस्थाको आधिकारिक ट्रेड यनियनले कम्पनीको संस्थागत तथा नीतिगत सुधार र कर्मचारीको पेशागत हकहितको लागि व्यवस्थापन समक्ष पेश गरेका मागहरुको सम्बन्धमा व्यवस्थापन पक्ष र ट्रेड युनियन प्रतिनिधिहरु वार्ताको टेबुलमा बसिरहेको अवस्थामा भएको सरुवाको निर्णय फिर्ता लिन माग गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै आधिकारिक ट्रेड युनियनले श्रम ऐन तथा ट्रेड युनियन ऐनको सामान्य मान्यता विपरीत एकपक्षीय रुपमा अस्थायी प्रकृतिको कार्यकारी अधिकृतले खुल्ला प्रतिस्पर्धाबाट कम्पनीको कार्यकारी प्रमुख नियुक्तिको सूचना प्रकाशित हुनुभन्दा केही घण्टा अगाडि मात्र हठात रुपमा स्वेच्छारी, विभेदपूर्ण, मनोमानी र पर्वाग्रही ढंगले दरवन्दी तथा सरुवा नीति विपरीत कम्पनीको दैनिक कार्यमा समेत प्रभावित हुने गरी ठूलो संख्यामा गरिएको सरुवा प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘कम्पनीको साखमा ह्रास आउने तथा असर पर्ने गरी गरिएको सरुवाप्रति आधिकारिक ट्रेड युनियन असहमति व्यक्त गर्दछ । कम्पनीलाई असर गर्ने कर्मचारीको सरुवा, बढुवा तथा नियुक्तिका विषयहरु खुल्ला प्रतिस्पर्धाबाट ४ वर्षको लागि टीओआरसहित नियुक्त भई बहाल हुने कार्यकारीको अधिकार हो, अस्थायी प्रकृतिको कार्यकारीको होइन,’ विज्ञप्तिमा भनिएको छ ।
कम्पनीको घोषित लक्ष्य र उद्देश्य हासिल गर्न सञ्चालक समिति र कार्यकारी अधिकृत बीच हुने कार्यसम्पादन सम्झौता बमोजिम बिभागीय प्रमख, महाशाखा प्रमुख, शाखा कार्यालय प्रमुख, लेखा र प्रशासन फाँट प्रमुख लगायत कर्मचारीको कार्य विवरण तोक्ने, जिम्मेवारी हेरफेर गर्ने, काज खटाउने÷फिर्ता गर्ने र सरुवा गर्ने विशेषाधिकार नयाँ नियुक्ति भई आउने कार्यकारीको भएको युनियनको दाबी छ ।
‘स्वेच्छाचारी र मनोमानी सरुवा सच्याउन आधिकारिक ट्रेड युनियन जोडदार माग गर्दछ,’ अघि भनिएको छ,‘आधिकारिक ट्रेड युनियनको अस्तित्वलाई स्वीकार गर्न नसक्ने, आधिकारिक ट्रेड युनियनले व्यवस्थापन समक्ष प्रस्तत गरेका मागहरु तथा मिटर रिडिङ्ग र वक्यौता असुली सम्बन्धि सुझावहरु कार्यान्वयनमा वेवास्ता गर्ने, आव ०७९÷०८० को खुल्ला प्रतियोगिता, आन्तरिक प्रतियोगिता र कार्यक्षमताको आधारमा हुने विज्ञापनमा वेवास्ता गर्ने ?’
कम्पनीलाई दिर्घकालीन असर गर्ने मिटर रिडिङ, बक्यौता असुली कार्य र खानेपानी वितरणमा काम गर्ने चाबी चालक लगायत प्राविधिक पदहरुमा आउट सोर्सिङबाट जनशक्ति लिई काम गर्ने नीति कम्पनीको हितविपरीत रहेकोले आधिकारिक ट्रेड युनियनलाई मान्य नभएको विज्ञप्तिमा उल्लेख छ । ‘यस्ता जनशक्तिहरु स्थायी प्रक्रियाबाट व्यवस्थापन हुनपर्दछ भन्ने हाम्रो मान्यता छ,’ विज्ञप्तिमा भनिएको छ ।
खल्ला प्रतिस्पर्धाबाट आउने कार्यकारी प्रमुखको विज्ञापन हुनुपूर्व रातारात गरिएको सरुवा पूर्ण रुपमा पूर्वाग्रही रहेको, एउटै नीतिले केही कर्मचारीको सरुवा गरिएको र केहीलाई नगरिएको, कसैलाई अपायक हुने गरी सरुवा गरिएको, अनिवार्य अवकाश हुनु एकवर्ष भन्दा कम सेवा अवधि बाँकी भएको कर्मचारीलाई समेत सरुवा गरिएको देखिएकोले तत्काल सच्याउन युनियनको माग छ ।
‘सरुवा सम्बन्धमा आधिकारिक ट्रेड युनियनले दिएको सुझाव कार्यान्वयन नगरिएमा कार्यकारी प्रमुखको जिम्मेवारीबाट हट्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ,‘कार्यकारी प्रमुख तत्काल नहटेमा सञ्चालक समितिले हटाई सञ्चालक समिति सदस्यबाटै कार्यकारी प्रमखको जिम्मेवारी सहित कम्पनी सञ्चालन गर्न माग गर्दछौं ।’
प्रतिक्रिया 4