+
+

इजरायलबाट यसरी फर्किए २५३ जना नेपाली

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते २१:२१

२५ असोज, काठमाडौं । युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट स्वदेश फर्किएका छन् । उनीहरू राति साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् ।

द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहानदेखि हमास समूहको आक्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए ।

हमास समूहको आक्रमणमा परेर दश जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् ।

आक्रमण सुरु भएपछि उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा स्थानान्तरण गर्नसमेत हम्मे परेको थियो । नेपाली विद्यार्थीले आफू असुरक्षित रहेको भन्दै सुरक्षित स्थानमा सार्न आग्रह गरेको करिब चार दिनपछि मात्रै उनीहरूलाई पूर्ण रूपमा उद्धार गरिएको थियो ।

इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।

यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई समेत सुरक्षित ठाउँमा सारिएको थियो ।

आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । हराइरहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी भइरहेको जनाएको छ । स्थानीय प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा खोजीकार्य अझ तीब्र पारिएको नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले इजरायलमा करिब ४ हजार ५०० नेपाली रहेको अनुमान गरेको छ ।

नेपालबाट सुदूरपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयबाट इजरायलसँग सरकारले सम्झौता गरेको ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका कृषि विज्ञान अध्ययनरत २६५ जनाभन्दा बढी नेपाली विद्यार्थी सो क्षेत्रमा फसेका थिए ।

परराष्ट्रमन्त्री साउद नेतृत्वको संयन्त्र र मन्त्रालयको समन्वयमा इजरायली सुरक्षाकर्मीको सहयोग लिएर नेपाली विद्यार्थीलाई युद्धग्रस्त क्षेत्रबाट तेल अबिबलगायत सुरक्षित स्थानमा सारिएको थियो । सुरक्षित स्थानमा सारिए पनि युद्ध थप चर्किरहेका कारण उनीहरू स्वदेश फर्किन चाहेका थिए ।

सुरक्षित स्थानमा राखिए पनि नेपालीहरूले आफूमाथि खतरा रहेको भन्दै नेपाल फिर्ता ल्याउनका लागि दबाब सिर्जना गरेका थिए । त्यसपछि सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ताका लागि अनलाइन फर्म खुला गरेर दर्ता प्रक्रिया सुरु गरेको थियो ।

बिहीबारसम्म करिब चार सयजना नेपालीले स्वदेश फिर्ताका लागि नाम दर्ता गराए पनि शुक्रबार बिहान इजरायल उडेको नेपाल वायुसेवा निगमको विमानमा २५३ जना मात्रै फर्किएका छन् ।

विमानको सीमित सिट क्षमताका कारण सबैलाई एकैपटक नेपाल ल्याउन नसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, कतिपयले फर्किने विषयमा पुनर्विचार समेत गरेका कारण नाम दर्ता गराएका जति सबै फर्किने सम्भावना कम रहेको इजरायलको तेल अबिबमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।

साथै, मृत्यु भएका १० जनाको शव ल्याउन भने समय लाग्ने देखिएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासका अनुसार शवको पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने भएका कारण शव ल्याउन समय लाग्ने देखिएको हो ।

इजरायल सरकारले शव हस्तान्तरण नगरेसम्म ल्याउन नमिल्ने भएका कारण अझै समय लाग्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् ।

नेपाल फर्किन चाहेका नागरिकलाई स्वदेश ल्याउनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं बिहीबार बिहान नेपाल वायुसेवा निगमको विमानबाट इजरायल पुगेका थिए । उनलाई इजरायली विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल र नेपाली राजदूत कान्ता रिजालले स्वागत गरेका थिए ।

इजरायलमा मन्त्री साउदले त्यहाँको विदेश मन्त्रालयका उच्च अधिकारीहरूसँग भेट गरेका थिए । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार इजरायली अधिकारीले नेपाली नागरिकको सुरक्षामा कुनै कमी हुन नदिने र स्वदेश फर्किन चाहनेहरूलाई पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

इजरायलको तेल अबिब विमानस्थलमा करिब दुई घण्टा समय बिताएको नेपाल वायु सेवा निगमको विमान २५३ जना नेपाली बोकेर राति साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने भएको छ ।

समन्वय संयन्त्रमार्फत उद्धार, मृतकका परिवारलाई राहत घोषणा

उता आक्रमण सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा नेपाल सरकार मन्त्रिपरिषदको आकस्मिक बैठक बसेर परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र गठन गरेको थियो ।

परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको उक्त संयन्त्रले इजरायलमा रहेका नेपालीहरूको उद्धार, मृतकको पहिचान र नेपाल फिर्तीलगायत विषयमा समन्वय गरेको थियो ।

परराष्ट्रमन्त्री साउदले यस विषयमा प्रतिनिधिसभा र संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा गएर समेत जानकारी दिएका थिए ।

यस्तै नेपालस्थित इजरायली राजदूतसँग पनि परराष्ट्र मन्त्रालयले यस विषयमा निरन्तर छलफल गरेको थियो ।

उनीहरूको उद्धारका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को विशेष बैठक राखेका थिए भने सर्वदलीय बैठक समेत बोलाएर यस विषयमा जानकारी गराएका थिए । अन्य राजनीतिक दलले समेत सरकारलाई नेपाली नागरिकको उद्धारमा ढिलाइ नगर्न सुझाव दिएका थिए ।

घटनाक्रमसँगै परराष्ट्रमन्त्री साउदले मंगलबार इजरायली समकक्षी एली कोहेनसँग टेलिफोनमार्फत कुराकानी गरेका थिए । आक्रमणमा परी नेपाली नागरिकको मृत्यु भएको र त्यहाँ रहेका थप नागरिकको सुरक्षाको बन्दोबस्त मिलाउने विषयमा उनीहरूबीच कुराकानी भएको थियो ।

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार इजरायली अधिकारीहरूले आफ्नो मुलुक संकटग्रस्त अवस्थामा रहेको भए पनि विदेशी मुलुकका हरेक नागरिकको सुरक्षामा कुनै कमी हुन नदिने बताएका छन् ।

साथै, मृत्यु भएका नेपाली नागरिकको शव प्रक्रिया पुर्‍याएर नेपाल पठाउने र अन्य नागरिकको सुरक्षा बन्दोबस्तमा समेत ध्यान दिइरहेको आश्वासन उनीहरूले दिएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री साउदलाई चार्टर्ड उडानबाट इजारएल पठाएर उद्धार तथा कूटनीतिक समन्वय गर्न जिम्मेवारी दिएको थियो । सोही निर्णयानुसार मन्त्री साउद बिहीबार बिहानै विमानमार्फत इजरायल पुगेका थिए ।

मन्त्रिपरिषद्ले इजरायलबाट नेपाल फर्किन चाहने नेपालीहरूको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको थियो ।

उक्त बैठकअघि प्रधानमन्त्री प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र वायु सेवा निगमका प्रमुखलाई बोलाएर उद्धार उडानका लागि विमानलाई इजरायल पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।

परराष्ट्र मन्त्रालयले पहिलोपटक इजरायलमा रहेका विद्यार्थीहरूको मात्र उद्धार गरिने जनाएको छ ।

इजरायलमा मृत्यु भएका नेपालीका परिवारलाई नेपाल सरकार र विभिन्न प्रदेश सरकारहरूले छुट्टाछुट्टै राहतको घोषणा गरेका छन् ।

नेपाल सरकारले गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

मधेश प्रदेशले धनुषाका मृतकको परिवारलाई पाँच लाख रुपैयाँ, त्यस्तै कर्णाली प्रदेशले उक्त प्रदेशका एक मृतकको परिवारलाई तीन लाख रुपैयाँ, सुदूरपश्चिम सरकारले उक्त प्रदेशका सात मृतकका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?