
काठमाडौं । ६ मिनेट लामो क्लाइमेक्सको दृश्य काटेर चलचित्र जाँच समितिले फिल्म ‘कौसीद’लाई प्रदर्शन अनुमति दिएको छ । शिक्षकले घुस खाएको सन्दर्भमा कैंची चलाएर फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको हो ।
निर्माता केदार भुसालले क्लाइमेक्सको दृश्य काटेर फिल्मको नयाँ लम्बाइ ८६ मिनेट तय भएको बताए । ‘उहाँहरुले कि रिसुट गर, कि परिमार्जन गर भन्नुभयो,’ सेन्सर बोर्डको जवाफबारे भुसालले भने, ‘रिसुट सम्भव थिएन । समस्या सिर्जिएको दृश्य काटेरै फिल्म चलाउन हामी राजी भयौं ।’
क्लाइमेक्सको दृश्यमा शिक्षक पात्रले घुस खाएकोप्रति बोर्डले आपत्ति जनाएको निर्माताले बताए । ‘यो दृश्य राख्दा नीतिगत रुपमै कर्मचारीमाथि औंला ठडाएजस्तो देखियो भन्नुभयो । जिन्दगी चलाउन घुस खाएर परिवारलाई खुसी राखेकोजस्तो देखियो भन्नुभयो,’ भुसालले भने ।
प्रमाणपत्र पाएपछि फिल्म शुक्रबार बेलुकादेखि रिलिज भएको उनले बताए । तर सेन्सर बोर्डले प्रदर्शन अनुमति नदिंदा फिल्मको बिहानी र दिवाकालीन शो रोकिएका थिए । जसले फिल्मको ओपनिङमा असर पारेको छ ।
कुमार भाष्कर निर्देशित फिल्ममा भोलाराज सापकोटाले शिक्षकको भूमिका निर्वाह गरेका छन् । नयाँ घर बनाउन बैंकबाट ऋण लिएको शिक्षक पात्रले ऋण तिर्न गर्नुपर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ ।
प्रतिक्रिया 4