+

पुरुषको शुक्राणु र महिलाको डिम्बको गुणस्तरले पार्छ बच्चाको स्वास्थ्यमा प्रभाव (भिडियो)

२०८० असोज  २८ गते ११:०७ २०८० असोज २८ गते ११:०७
पुरुषको शुक्राणु र महिलाको डिम्बको गुणस्तरले पार्छ बच्चाको स्वास्थ्यमा प्रभाव (भिडियो)

आमा शारीरिक रूपमा बलियो वा कमजोर हुनुमा गर्भको पनि सम्बन्ध हुन्छ अर्थात् गर्भमा रहँदै बच्चाको स्वास्थ्य कस्तो हुने भन्ने निर्धारण हुन्छ ।

आमाको स्वास्थ्य अवस्था राम्रो छैन भने बच्चाको स्वास्थ्यमा पनि समस्या आउने सम्भावना बढी हुन्छ । पेटमा बढ्दै गरेको बच्चाले आफूलाई चाहिने सबै कुरा आमाबाट प्राप्त गर्छ । बच्चाले आमाबाट नै खानेकुरा, अक्सिजन र आवश्यक पोषक तत्त्व लिने गर्छन् ।

आमामा क्षयरोग, कुपोषण जस्तो गम्भीर खालको स्वास्थ्य समस्या छ भने गर्भको बच्चामा पनि स्वास्थ्य समस्या देखा पर्न सक्छ । आमाले चुरोट रक्सी पिउँछिन् वा लामो समयदेखि विभिन्न स्वास्थ्य समस्या छ भने बच्चा कम तौलको जन्मिन्छ ।

कुनै अवस्थामा आमा स्वास्थ्य भए पनि गर्भावस्थाकै कारण बच्चा अस्वस्थ हुन सक्छ । गर्भावस्थामा आमाको प्रेसर बढेको छ, सुगर बढेको छ वा जन्डिस भएको छ भने बच्चा अस्वस्थ हुन सक्छ । त्यसैले गर्भावस्थामा आमाले आफ्नो खानपान र स्वास्थ्य जाँचमा विशेष ध्यान दिनुपर्छ । गर्भावस्थामा गर्नुपर्ने सम्पूर्ण जाँच गरियो भने बच्चामा केही खराबी छ कि भन्ने कुरा पत्ता लाग्छ । त्यसैले स्वास्थ्य जाँच एकदमै जरुरी छ ।

पुरुषको शुक्राणु र महिलाको डिम्बको गुणस्तरले बच्चाको स्वास्थ्यमा प्रभाव

पुरुषको शुक्राणु र महिलाको डिम्बको गुणस्तरले बच्चाको स्वास्थ्यमा प्रभाव पार्छ । कतिपय रोगहरू शुक्राणु तथा डिम्ब मार्फत बच्चामा जाने हुन्छ । ढिलो उमेरमा विवाह गरेर ढिलो आमा भएका महिलाहरूको डिम्बको गुणस्तर राम्रो हुँदैन जस कारण कतिपय बच्चामा डाउन सिन्ड्रोमको समस्या देखा पर्छ ।

बुबाको शुक्रकीटको तुलनामा आमाको डिम्बको प्रभाव बच्चामा धेरै हुन्छ । तर शुक्रकीटको प्रभाव नै हुँदैन भन्ने होइन । राम्रो गुणस्तरको शुक्रकीट बन्नलाई ३३ देखि ३४ डिग्रीको तापक्रम राम्रो हुन्छ । तर  आजभोलि धेरै युवा कामको सिलसिलामा खाडी मुलुक गएका छन् । उनीहरूले धेरै तातो तापक्रममा काम गर्छन् जसले गर्दा शुक्रकीट कम बन्ने, बने पनि गुणस्तरमा ह्रास आउँछ ।

पुरुषहरूले धेरै चुरोट र रक्सी खान्छन् वा लागूऔषध सेवन गर्छन् भने त्यसले पनि शुक्रकीटको गुणस्तरमा ह्रास ल्याउँछ ।

गर्भधारण प्रक्रिया

गर्भधारणको प्रक्रिया मानिस, बिरुवा जनावर प्राय: सबैमा उस्तै हुन्छ । साधरणतया महिलाहरूको डिम्ब निष्कासन महिनावारी भएको १२ देखि १८ दिनमा हुन्छ । डिम्बाशयमा डिम्ब बनिसकेपछि डिम्बाबाहिनी नलीको बाटोबाट पाठेघरतिर आउँदै गर्दा सहवास भयो भने पुरुषको वीर्य स्खलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्ब बाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बमा ती असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई जाइगोट भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ ।

आमाको मानसिक अवस्थाले पनि बच्चामा असर गर्छ

गर्भवती महिला शारीरिक मात्र होइन, मानसिक रूपमा पनि स्वास्थ्य र खुसी हुनुपर्छ । कुनै पनि महिलाले करले होइन रहरले गर्भधारण गर्नुपर्छ जसले गर्दा उसको गर्भमा हुर्कँदै गरेको बच्चा पनि शारीरिक रूपमा स्वस्थ हुन्छ । गर्भावस्थामा महिलाले आफूलाई खुसी राख्न संगीत सुन्ने, आफूलाई मन पर्ने खानेकुरा खाने, मन पर्ने काम गर्ने गर्न सक्छन् ।

आमा धेरै रिसाउने वा दु:खी भयो भने बच्चामा नकारात्मक असर पर्छ । त्यसैले आमा मानसिक रूपमा स्वस्थ र खुसी हुनुपर्छ । बच्चाको मानसिक अवस्था कस्तो हुन्छ भन्ने कुरा पनि गर्भावस्थामा तय हुन्छ ।

गर्भमा बच्चा खेल्ने पानी कम भयो, गर्भवती महिलाको प्रेसर बढ्यो, डेलिभरीको बेला बच्चा जन्मिनासाथ रोएन भने त्यो बच्चा मानसिक रूपमा अस्वस्थ हुन सक्छ ।

गर्भमा हुँदा बच्चाले राम्ररी खाना पायो, पोषक तत्त्व पायो, खेल्न पायो र राम्ररी डेलिभरी भयो र डेलिभरी पछि आमाको दूध राम्ररी खान पायो भने बच्चा मानसिक रूपमा स्वस्थ्य हुन्छ ।

खानपान पनि महत्त्वपूर्ण

धुम्रपान, मद्यपान तथा लागूऔषध नखाने गर्नुहुँदैन । कडाखालका व्यायाम गर्नुहुँदैन । चिकित्सकको सल्लाहअनुसार फोलिक एसिड र आइरन खानुपर्छ । जसले बच्चाको विकासमा सहयोग गर्छ । प्रोटिन, फ्याट भिटामिन लगायतका पोषकतत्व भएको खानेकुरा सन्तुलित रूपमा खानुपर्छ । यस्तो खानाले पनि आमा र बच्चा दुवैको स्वास्थ्यमा सकारात्मक असर गर्छ ।

गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा

गर्भावस्थामा आमा र बच्चा दुवै स्वास्थ्य हुन गर्भवती महिला मात्र होइन, उनका श्रीमान् र घरपरिवारको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ । घरको काममा सहयोग गर्ने, भारी काम गर्न नदिने, पोषणयुक्त खानाको व्यवस्था गरिदिने, अस्पताल जाने व्यवस्था मिलाइदिने काम परिवारको हो ।

स्वस्थ गर्भधारणका लागि गर्भवती महिलाले पनि उत्तिकै ध्यान दिनुपर्छ । गर्भवती हुनासाथ फोलिक एसिड खान सुरु गर्ने, त्यसपछि आवश्यकताअनुसार आइरन क्याल्सियम खाँदै जाने, अल्ट्रासाउन्ड गर्ने, नियमित स्वास्थ्य जाँच गर्नुपर्छ । प्रेसर बढ्यो, रगत बग्यो, रिंगटा लाग्यो र पानी बग्यो भने वा बच्चा कम चल्यो भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

बच्चा र आमा दुवै स्वस्थ हुन चिकित्सकको महत्त्वपूर्ण भूमिका हुन्छ । चिकित्सकको सहयोगीको रूपमा महिलालाई सहयोग गर्नुपर्छ । इमर्जेन्सी परेको बेला सम्पर्क गर्न सहजीकरण वातावरण सिर्जना गर्नुपर्छ ।

(स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गौतमसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

डा. जागेश्वर गौतम प्रसूति तथा स्त्रीरोग स्वास्थ्य
प्रा. डा. जागेश्वर गौतम
लेखक
प्रा. डा. जागेश्वर गौतम
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १९४६ अध्ययन : एमबीबीएस, एमडी हाल स्त्रीरोग तथा प्रसूति विशेषज्ञको रुपमा काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?