
२७ असोज, बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा संस्थापन पक्षका प्रजापाल गिरी निर्वाचित भएका छन् ।
शनिबार भएको क्षेत्रीय सभापति र सहसचिवको निर्वाचनमा गिरी ३४६ मतका साथ सभापतिमा निर्वाचित भएका हुन् । यसअघि यो क्षेत्रमा संस्थापन इतरले जित्दै आएको थियो । गिरीका प्रतिस्पर्धी संस्थापन इतरका परशुराम ढकालले २४५ मत पाए ।
सहसचिवमा भने संस्थापन इतरकी संगीता गौतम अर्याल २९७ मतका साथ विजयी भइन् । संस्थापन पक्षका विष्णु चापागाईले २८९ मत पाएर पराजित भए । ६७४ जना मतदाता रहेकामा ६१३ जनाले मतदान गरेका प्रमुख निर्वाचन आयुक्त रविकुमार रायमाझीले बताए ।
यसअघिका सभापति हरि लम्सालले बुटवल उपमहानगरपालिकाको स्थानीय चुनावमा नगर सभापति खेलराज पाण्डेले आफ्नै नाम उम्मेदवार सिफारिस गरेकोप्रति असहमति जनाउंदै पार्टी परित्याग गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया 4