+
+
पुस्तक :

चित्रलेखाको चौरासी : नेपालीको अपमान

अरुण बराल अरुण बराल
२०८० असोज २८ गते १८:१०

तपाईले सिक्किमे लेखक प्रज्वल पराजुलीको उपन्यास चित्रलेखाको चौरासीलाई यसपालिको दशैंमा पढ्ने किताबको सूचीमा राख्नुभएको छ ? पख्नोस् । एकचोटि यो समीक्षा पढ्नुहोस् ।

गाँठी कुरो शुरुमै भनिहालौं : विभु लुइटेलको अनुवादमा काठमाडौंस्थित नेपालय पब्लिकेसनले  दिल्लीमा छापेको यो कृति भारतीयहरुको कथा हो ।

९ वर्षअघि, सन् २०१४ मा लण्डनबाट प्रकाशित अंग्रेजी उपन्यास ल्याण्ड ह्वेर आई फ्ली (भूमि जहाँबाट म भाग्छु) को नेपाली अनुवाद सन् २०२३ मा बजारमा ल्याइएको हो । उपन्यासले काठमाडौंका बारेमा नकारात्मक टिप्पणी गरेको छ । यसले विश्व समुदायमा नेपाली जातिमाथि नकारात्मक सन्देश प्रवाह गरेको छ । यो भाषिक इन्द्रजालमा गुजुल्टिएको चरम निराशाको व्यापार हो । भुटान, सिक्किम र दार्जीलिङतिरको निराशा र त्यहाँको दिशाहीनता नेपालमा ल्याएर बेच्न खोजिएको छ ।

यो नेपालको कथा होइन । नेपाल छाडेर पलायन भएकाहरुको शून्यताको फेहरिस्थ हो ।

पात्रले उब्जाउने प्रश्न

चित्रलेखा न्यौपाने सिक्किमको गान्तोकमा बस्छिन् । कालिम्पोंगमा उनको कपडा उद्योग छ । उनका साथमा प्रशान्ति नाम गरेकी तेस्रोलिंगी कामदार छिन् । चित्रलेखाका छोराछोरीबारे लेखक प्रायः मौन छन् । तीनजना नाति नातिना अमेरिका र बेलायतमा बस्छन् । चित्रलेखाले आफ्नो चौरासी पूजाका लागि उनीहरुलाई घर बोलाउँछिन् । अर्का चौथो नाति नबोलाई हजुरआमाको इच्छाविपरीत आइपुग्छन् । यिनै चार नातिनातिनाको गान्तोक आगमन र फिर्तीको सेरोफेरोमा ३८८ पृष्ठ लामो उपन्यासको कथावस्तु घुमेको छ ।

अरुण बराल

नातिनी भगवती दमाई जातको भुटानी शरणार्थीसँग भागी बिहे गरेर अमेरिका पुगेकी छिन् । उनी १८ वर्षपछि हजुरआमाको चौरासीमा घर फर्केकी हुन्छिन्, जसको परिवारलाई चित्रलेखाले स्वीकार्न सक्दिनन् । उपन्यासकारले सुरुमा भगवतीलाई विद्रोही र सही पात्रका रुपमा देखाउन खोजेका छन् ।

आर्थिक अभाव नै भए पनि भगवतीको अन्तरजातीय परिवार अन्यको तुलनामा प्रेमपूर्ण देखाइएको छ । तर, हजुरआमाको चौरासी सकेर फर्कने बेलामा भने लेखकले भगवतीलाई सुनका गहना चोर्न लगाउँछन् र खराब पात्रका रुपमा विद्रुपीकरण गर्छन् । भगवतीको स्वाभिमानमाथि लेखकले अपमान गर्न पुग्छन् । आखिर लेखकले भगवतीजस्ता सामाजिक विद्रोह गर्ने युवापुस्तामाथि किन यति साह्रो अन्याय गरे ? उनैले जवाफ देलान् ।

चित्रलेखाका अमेरिका बस्ने अर्का नाति छन्, अगस्त्य । उनी क्यान्सर रोगका विशेषज्ञ डाक्टर हुन् । अमेरिकी पुरुष निक्कीसँग समलिंगी सम्बन्धमा रहेका अगस्त्य गान्तोकबाट हजुरआमाको चौरासी सकेर फर्कंदा हस्तमैथुन गरेर हिँड्छन् ।

त्यत्रो अमेरिकामा डाक्टरी गरेर आफ्नो भूमिमा फर्केको युवाको हैसियत यत्ति हो त ? उनी सिक्किमको स्थानीय अस्पतालमा एकचोटि भिजिट गर्न जाँदैनन् । एउटी केटी हेर्न बाहेक कुनै चिकित्सकसँग भेट गर्दैनन् ।

वौद्धिक व्यक्तिहरुसँग भेटघाट र छलफल  गर्दैनन् । आफ्नो देशका लागि योगदान गर्नेबारे सोच्दैनन् । लेखकले यिनलाई कम्मरमुनिकै चिन्तनमा सीमित राखेका छन् ।

अगस्त्य समलिंगी सम्बन्धवाला नै किन नहुन् तर यी पात्रलाई लेखकले वौद्धिक चरित्रको देखाउन सकेका छैनन् र उनीमाथि पनि भगवतीलाई जस्तै अन्याय नै गरेका छन् । के विदेशमा पढेर दक्ष बनेका नेपालीहरु अगस्त्यजस्तै घटिया सोचका हुन्छन् ? जवाफ दिने काम लेखककै हो ।

चित्रलेखाकी नातिनी मनसा लण्डनमा सपरिवार बस्छिन् । नेपालका पूर्वगृहमन्त्रीका छोरा हिमालसँग उनको मागी बिहे भएको हो । अझ भनौं, घिमिरे परिवार धनी र खान्दानी देखेर चित्रलेखाले सम्बन्ध गाँसेकी हुन् ।

अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेकी मनसा बिहेपछि जागिर छाड्छिन् र बेलायतमै बिरामी ससुराको हेरचाहमा जीवन गुजार्न बाध्य छिन् । उनी आफ्नो वैवाहिक बन्धनप्रति पूर्ण असन्तुष्ट छिन् । पति र ससुरालाई पितृसत्तावादी बाहुन परिवारको विकृत नमूनाका रुपमा उपन्यासमा चित्रण गरिएको छ ।

शुरु शुरुमा एकातिर गरीब दलितसँग भागीबिहे गर्ने भगवतीलाई सुखी देखाइएको छ भने अर्कातिर धनी बाहुनसँग मागीबिहे गर्ने मनसालाई महादुःखी देखाइएको छ । यहाँसम्म लेखकले ठिकै गर्दैछन् कि जस्तो लाग्छ । प्रारम्भमा लेखक जातिवाद र पितृसत्ताको विपक्षमा उभिएका हुन् कि जस्तो देखिन्छ ।

तर, गान्तोकमा हजुरआमासँग मुखमुखै लागिरहने मनसा चौरासी पूजा सकेर काठमाडौंमा श्रीमान र ससुरालाई भेट्न आएको भोलिपल्टै लन्डन फर्कनुको साटो गान्तोक फर्किन्छिन् हजुरआमाको आजीवन सेवाका लागि । मनसाले विद्रोह त गर्छिन् तर पश्चगामी ।

पूर्वीय पारिवारिक सभ्यतालाई बन्धन ठानेर घृणा गर्ने मनसालाई अन्ततः लण्डन नफर्काई हजुरआमाको सेवामा झनै पूर्वतिर पठाएर लेखकले नायिकाको भूमिका दिन खोजेजस्तो देखिन्छ ।

अन्तरजातीय विवाह गर्ने भगवतीलाई सुनचोर बनाएका लेखकले अन्ततः श्रीमान र ससुराप्रति विद्रोह गराएर मनसामार्फत् पूर्वीय सौन्दर्यशास्त्रको सेवा गर्न खोजेका छन् । अक्सफोर्डकी ग्राजुएट मनसालाई लेखक लण्डनमै विद्रोह गराएर जागिर खुवाउन सक्दैनन् ।

चित्रलेखा न्यौपाने उपन्यासकी शीर्षपात्र हुन् । उनकै नामबाट चित्रलेखाको चौरासी उपन्यास बनेको छ । तर, उनी पनि यो उपन्यासको नायक भने होइनन् । नायक हुनका लागि असल चरित्र चाहिन्छन् ।

असल चरित्र भएन भने ऊ नायकको साटो खलनायक बन्न पुग्छ । चलचित्र होस् या उपन्यास, त्यसमा नायक, नायिकका उपस्थिति अनिवार्य हुन्छ ।

बिँडी तानिरहने, घमण्डी, आफ्नो कारखानाको कपडा बिक्रीका लागि गोर्खाल्याण्डका नेताहरुसँग स्वार्थपूर्ण सम्बन्ध रहेकी अनि नाति नातिनालाई माया ममता प्रकट गर्न नचाहने छुच्ची चित्रलेखा नायक प्रतीत हुँदिनन् ।

के नेपाली समुदायको परिवारभित्र माया, प्रेम, सदभाव केही पनि छैन त ? सधैं झगडा र भनाभन अनि षड्यन्त्र मात्रै छ त ? यस्ता प्रश्न बग्रेल्ती जन्मन्छन् ।

हजुरआमाले चौरासीमा नबोलाएको नाति रुत्व पनि टुप्लुक्क आइपुग्छन् । आफूलाई लेखक बताउने रुत्वलाई परिवारका कसैले पनि मन पराउँदैनन् । हजुरआमाले त झनै देख्न सक्दिनन् । आफ्नै हजुरआमा बलात्कृत भएको कथा छपाएको उनीमाथि आरोप छ । उपन्यासको अन्त्यतिर रुत्वले गोर्खाल्याण्डको विरोधमा लेख्छन् र त्यसैको आक्रोशमा गोर्खाल्याण्डका कार्यकर्ताले चित्रलेखाको कपडा उद्योगमा आगो लगाइदिन्छन् । चौरासी पूजा चलिरहेका बेला यो खबरले चित्रलेखा बेहोस् भएर ढल्छिन् । रुत्व भाग्छन् ।

रुत्वका नाममा लेखकले अर्को खराब पात्र उभ्याउन खोजेका छन् । यदि रुत्वलाई सही मान्ने हो भने चित्रलेखालाई सही मान्न सकिँदैन । रुत्वलाई गलत मान्ने हो भने समाजमा लेखकको भूमिका के हो ? यो प्रश्न पनि उपन्यासकारतिरै सोझिन्छ ।

प्रशान्ति नाम गरेकी पात्र उपन्यासको प्रारम्भदेखि अन्त्यम्म छिन् । तेस्रोलिंगी समुदायबाट नाच्दै गर्दा भेटेर चित्रलेखाले उनलाई आफ्नो घरमा राखेकी हुन् । उनका लागि परिवार, सन्तान केहीको आवश्यकता छैन ।

लेखकले प्रशान्तिको माध्यमबाट तेस्रो लिंगीको जीवन कथा उतार्न खोजेका छन् । यसमा उनी एक हदसम्म सफल पनि देखिन्छन् । तर, अलि परसम्म गएर पारिवारिक जीवनमा भन्दा एक्लो हुनुमै सुख छ भन्ने तहसम्म लेखक पुग्न खोजेका छन् ।

तपाईलाई पनि हिँजडा बन्न मनलाग्यो भनेर प्रशान्तिले सोध्दा मनसा भन्छिन्, ‘केही कुराको मतलब नलाग्ने, आफूखुशी बाँच्ने, टेन्सन नभको लाइफ चाहिएको छ मलाई । तेरोजस्तै । तेरो लाइफ कस्तो इजी छ । तँ कस्ती लक्की ।’

उपन्यासभरि परिवारिक प्रेमभन्दा बढी किचलो देखाइएको छ । सभ्य परिवार यस्तो हुँदैन । विदेशबाट फर्केका नातिनातिना र हजुरआमाको सम्बन्ध यस्तो हुँदै हुँदैन ।

आञ्चलिकता

उपन्यासको सबैभन्दा सकारात्मक पक्ष भनेको मीठो भाषा शैली हो । लेखक प्रज्वल पराजुली जे लेख्छन्, जमेर लेख्छन् । उनलाई अंग्रेजी भन्दा नेपाली भाषा मन पर्छ । मीठो नेपाली लेखनकै कारण उनको पहिलो कृति गुर्खाज् डटर (अनुवाद : गोर्खाकी छोरी) कथा संग्रह नेपाली समुदायमा चर्चित बन्यो । यो उपन्यासमा पनि लेखकले मीठो प्रस्तुति दिएका छन्, जसले गर्दा पढ्न दिक्क लाग्दैन ।

मीठो शैलीमा के लेखियो भन्ने मात्रै प्रश्न उठ्ने हो अन्त्यमा । तथापि, सिक्किम दार्जिलिङ र भुटानतिरको आञ्चलिक नेपाली भाषालाई उपन्यासले योगदान गरेकै छ । नेपाली जातिलाई हैन, भाषालाई मात्र ।

उपन्यासको आँखीझ्यालबाट गोर्खाल्याण्ड आन्दोलनको सामान्य चित्र हेर्न सकिन्छ । तर, यसबारे सकारात्मक प्रस्तुति छैन । शून्यवादी जस्ता लाग्ने लेखक जातीय पहिचानको पक्षमा छैनन् । गोर्खाल्याण्ड आन्दोलन लेखकलाई असार लाग्छ । रुत्वको भनाइलाई पत्याउने हो भने त चित्रलेखाको कपडा उद्योगसँग मोर्चाका नेताहरुले चन्दा लेनदेन गरेर कपडा बिकाउन मात्र दार्जिलिङमा दौरा सुरुवाल अनिवार्य गरेका हुन् । चित्रलेखा र मोर्चाका नेताबीच अनुचित साँठगाँठ छ ।

उपन्यासमा भुटानी शरणार्थीको कथा पनि झल्याकझुलुक पाइन्छ । यो अर्को आञ्चलिकता हो ।

नेपाली समाजमा व्याप्त जातपात र पितृसत्ता अनि पारिवारिक विश्रृंखलता उपन्यासमा देखाउन खोजिएको छ । तेस्रोलिंगी, समलिंगीप्रतिको सामाजिक मनोविज्ञान देखाइएको छ । भारतमा यसको अवस्था कस्तो छ भन्ने देखाइएको छ ।

लेखकलाई काठमाडौं राम्रो लाग्दैन । उनले उपन्यासमा काठमाडौंलाई फोहोर एवं बिद्रूप शहरका रुपमा चर्चा गरेका छन् । विगतमा दार्जिलिङ, सिक्किमले काठमाडौंलाई सुन्दर देख्थ्यो ।

उपन्यासमा देश छाडेर युरोप, अमेरिका पुगेका प्रवासीहरुको चिन्तन र दुःखको कथा समेटिएको छ । तर, उनीहरुमा देश प्रेम छैन । विचारशून्यता र मूल्यहीनता देखाइएको छ ।

लेखकको विचारमा विदेशमा बस्ने नेपाली वा भारतीयहरु पटक्कै सुखी छैनन् । विचारको हिसावले पनि उनीहरु दरित्र र व्यक्तिवादी छन् । असामाजिक छन् । लेखकलाई यस्तै पात्र मन पर्छन् । पात्रहरु नेपाली त भनिएका छन्, तर उनीहरुसँग देश छैन ।

अन्त्यमा,

साहित्यकारले जतिसुकै गफ चुटे पनि आफ्नो सिर्जना वा पात्र मार्फत् समाजलाई केही न केही भन्न सक्नुपर्छ । सकारात्मक सन्देश दिन सक्नुपर्छ । नकारात्मक गन्थन मात्रै बटुलेर साहित्य बन्दैन ।उपन्यास पढिसक्दा प्रश्न उब्जन्छ, नेपाली जातिले यो उपन्यास किन पढ्ने ? पढेर के सिक्ने ? कुन पात्रलाई आदर्श मान्ने ? कतै समय र पैसाको नास त भएन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?