
२८ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको सरकारको आयु दुई महिनामात्र भएको दाबी गरेका छन् ।
आइतबार एमालेको रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले मंसिरपछि राजनीतिक अवस्था नयाँ ढंगले जाने दाबी गरे । त्यसको संकेत अहिले कोशी प्रदेशमा देखिएको उपाध्यक्ष पाण्डेले बताए ।
‘अहिले जुन स्थिति कोशी प्रदेशमा देखापरेको छ, त्यसले के संकेत गरेको छ भने दुई महिनाभित्रमा अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरणतर्फ जान्छ भन्ने सम्भावना म देखिरहेको छु’ उनले भने ।
पाण्डेले अगाडि भने, ‘मंसिरभित्रमा, यो सरकारको आयु दुई महिना राखिदिए हुन्छ । त्यसपछिको स्थिति नयाँ ढंगले जाने छ । मैले केही सूचना, केही तथ्य र केही विश्लेषणको आधारमा भनिरहेको छु । त्यसै सुनेको भरमा भनेको छैन ।’
कोशीमा नेकपा एमालेको समर्थनमा कांग्रेसको डा. शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । तर शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाले गठबन्धनप्रति प्रतिवद्ध छौं भनेर विज्ञप्ति जारी गरेका थिए ।
एमाले उपाध्यक्ष पाण्डेले तीन नेताले एक छौं भनेर हस्ताक्षर गरे पनि त्यो आत्मसन्तुष्टिमात्रै भएको बताए ।
‘हिजो फेरि पनि हामी एक छौं भनेर एक लाइन स्टेटमेन्ट आएको छ । जसमा प्रचण्डजी, शेरबहादुरजी र शेखर कोइरालाजीले अहिले पनि हामी गठबन्धनको पक्षमा छौं भनेर दस्तखत गरिएको छ, खाली आत्मसन्तुष्टिबाहेक त्यो भन्दा बढी यसको भूमिका छैन’, उनले भने ।
प्रतिक्रिया 4