
राजा महेन्द्रको राज्याभिषेकका विशिष्ट अतिथि भारतीय गणतन्त्रका प्रथम राष्ट्रपति सर्वपल्ली राधाकृष्णन आफ्ना लागि तयार पारिएको शाही पाहुना घरतिर नलागी काठमाडौं विमानस्थलबाट सीधै शिवपुरी बाबा भेट्न गए । सन् १९५६ को कुरा हो, यो । ढोगभेटको सामान्य शिष्टाचार पछि सर्वपल्ली र शिवपुरी बाबाबीच वार्तालाप सुरु भयो ।
राधाकृष्णनले सोधे ‘बाबा तपाइँको शिक्षा वा सन्देश के हो ?’ बाबाले भने ‘म तीन विधा (आध्यात्मिक, नैतिक र भौतिक) सिकाउँछु ।’ यो सुनेर आश्चर्यचकित राष्ट्रपतिले भने, ‘यति थोरै शब्दमा सम्पूर्ण सत्य ।’ जोन जी बेनेटको पुस्तकबाट लिइएको हो, यो अंश ।
यो लेख शिवपुरी बाबाका तीन शब्द वरिपरि केन्द्रित छ । आध्यात्मिक ज्ञानले हाम्रो वैशिष्ट्य ज्ञान परम्परा, हाम्रो चिन्तनधारा, हाम्रो बोध शक्ति र परम्पराको उत्तोलक, ब्रह्माण्डीय चैतन्य र सांसारिक दृष्टिकोण तय गर्दछ । नैतिक शिक्षाले गर्नुपर्ने, गर्न हुने र गर्न नहुने काम के के हुन् त्यसको मर्म बुझाउँछ । यसले ती काम जो नगर्दा पनि फरक पर्दैन, तर गर्दा कसरी गर्ने त्यसको मोडालिटी पेश गर्दछ ।
भौतिक शिक्षाले हामीले भोगिरहेको पृथ्वी, जल, हावा, वनस्पति, ठूला तथा सूक्ष्म जीवहरू र, अझ व्यापक अर्थमा भन्ने हो भने सौर्यमण्डलका अन्य ग्रहहरूसँगको हाम्रो आध्यात्मिक, नैतिक र भौतिक सम्बन्ध केलाउँछ । केलाउन उत्प्रेरित गर्दछ ।

यसले हामी मानिस आफू स्वयंमा के हौं ? के होइनौं ? भन्ने ज्ञान र बोध दार्शनिकी व्यक्त गर्दछ । यस लेखमा म शिवपुरी पहाडमा प्रस्ताव गरिएको नागमती बाँध र त्यससँग सम्बन्धित आध्यात्मिक, नैतिक र भौतिक सन्दर्भहरूमाथि चर्चा गर्नेछु ।
प्रस्तुत लेख नागमती बाँध परियोजनासँग सम्बन्धित छ र यसमा बाँधका जोखिमहरू व्याख्या गरिएको छ । प्रस्तावित बाँधको समग्र पक्ष विश्लेषण गर्दा बाँधले काठमाडौं उपत्यकामा पुर्याउन सक्ने विपत्का वास्तविक पक्षमा बढी केन्द्रित गरिएको छ । यसबाट सम्बन्धित निकायले आम जनधारणा र परियोजनाका जोखिमहरू बुझ्न सक्नेछन् भन्ने ठानिएको छ ।
नागमती बाँध काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा १ को मूलखर्क गाउँमा पर्दछ । वाग्मती र नाग्मती नदीको संगम स्थलभन्दा तीन किलोमिटर माथि बन्ने बाँधको उचाइ ९४.५ मिटर अर्थात् काठमाडौंका घरसँग तुलना गर्ने हो भने ३८ तलाको घर जति नै अग्लो हुनेछ । बाँधको लम्बाइ ५५४ मिटर प्रस्ताव गरिएको छ ।
सो बाँधका कारण बन्ने जलाशय ४ लाख ८० हजार ४२६ वर्गमिटर क्षेत्रमा फैलिनेछ । यो क्षेत्रफल भनेको ९४४ रोपनी ५ आना बराबर हो । अर्थात् ४ आनामा बनेका काठमाडौंका घरको जमिनसँग तुलना गर्ने हो भने ३ हजार ७४४ घरले ओगटेको क्षेत्रफल बराबर हो ।
यस जलाशयमा ९ मिलियन क्युविक मिटर पानी (नौ अर्ब लिटर) पानी भरिनेछ । यस परियोजनाका लागि ६५ हेक्टर जमिन चाहिन्छ । नौ वर्षमा जलाशय निर्माण सम्पन्न हुने अपेक्षा छ । निर्माणका लागि ३०० कामदारले प्रत्येक दिन काम गर्नेछन् ।
यो आयोजनास्थल समुद्री सतहबाट १४१० मिटरदेखि १९११ मिटर उचाइमा अवस्थित छ । आयोजना वन, बुट्यान, घाँसेमैदान र कृषि क्षेत्रमा फैलने छ । यस भूभागमा पिलाइट्स, मार्वल, क्वार्जाइज र निस जस्ता चट्टान छन् । खानी तथा भूगर्भ विभागका अनुसार आयोजनास्थल उच्च मध्यम भूकम्पीय जोखिम क्षेत्रमा पर्दछ । यहाँको औसत वार्षिक वर्षा २०९५.६० मिलिमिटर छ । अधिकांश वर्षा मनसुन सिजनमा हुने गर्दछ ।
आयोजनास्थल शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र छ । निकुञ्ज १५९ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । शिवपुरी निकुञ्ज जंगल क्षेत्र हो । यहाँ २ हजार १२२ प्रजातिका वनस्पति, त्यसमध्ये १६ स्थानीय प्रजाति, स्तनधारी जनावरका ३० प्रजाति र त्यसमध्ये ४ प्रजाति संरक्षित सूचीमा पर्दछन् ।
यसैगरी १७७ प्रजातिका चरा, तीमध्ये नौ प्रजाति खतराको सूचीमा छन् । शिवपुरीमा १०२ किसिमका पुतलीहरू, तीमध्ये धेरै लुप्त हुन लागेका र १२९ प्रकारका च्याउ पाइन्छन् । शिवपुरी काठमाडौंको पिउने र सिंचाइका लागि पानीको सबैभन्दा भरपर्दो स्रोत पनि हो ।
यस आयोजनाका केही सकारात्मक प्रभावहरू पनि छन् । यसले ३०० कामदारलाई निर्माण अवधिभर ज्यालादारी रोजगारी प्रदान गर्नेछ । यसबाट १.८६ मे.वा. विद्युत् शक्ति उत्पादन गर्न सकिन्छ । जलाशयबाट प्रति सेकेण्ड वर्षात्मा ४५० र सुख्खायाममा १५० लिटर पानी मेलम्ची खानेपानी आयोजनामा थपिनेछ ।
त्यस बाहेक प्रति सेकेण्ड ४० लिटर पानी वाग्मती नदीमा पनि छोडिनेछ । यसबाट सुख्खायाममा पनि वाग्मतीमा पानी बग्नेछ भन्ने अपेक्षा गरिएको छ । ठूलो जलाशय हुनाले जलविहार गर्न सकिनेछ र त्यस स्थानमा आन्तरिक पर्यटन प्रवर्द्धन हुनेछ ।
यो परियोजनाको लाभ–हानि निर्धारण गर्दा लाभको अनुपातमा जोखिम र हानि पनि मूल्यांकन गर्नुपर्ने हुन्छ । तुलनात्मक लाभ छैन भने परियोजनाले फाइदा दिन सक्दैन । जुन मात्रामा लगानी लाग्छ सो मात्रामा लाभ छ–छैन वा खतराहरू के–के छन् त्यता सरकारी ध्यान पुग्नु अत्यावश्यक छ ।
सरकार र राजनीतिक दलहरू दलीय स्वार्थ र अतिरिक्त आयका लागि पनि परियोजना प्रस्ताव पारित गर्दछन् भन्ने आम आशंका व्याप्त छ । यस्तो अवस्थामा आम नागरिक र सम्भावित जोखिम मूल्यांकन गर्न सक्ने विद्वत् व्यक्तिहरूले यसका दूरगामी प्रभावहरू सार्वजनिक गरिदिनु देश र नागरिकहरूका लागि श्रेयस्कर हुनेछ ।
केही वर्षयता नेपाल सरकार ठूला परियोजनाप्रति बढी नै आकर्षित हुँदै आएको छ । ठूला परियोजनाप्रति आम नागरिक र सरकारको दृष्टिकोणमा ठूलो अन्तर पाउन थालिएको छ र ठूला परियोजनाहरू राजनीतिक फन्डिङका लागि ल्याइएका हुन् भन्ने चर्चा चलिरहेका छन् । पहिलो कुरा सरकारले यो परियोजना अतिरिक्त आर्थिक, राजनीतिक उद्देश्यबाट प्रेरित छैन भन्ने पुष्टि गर्नु पर्दछ ।
परियोजनाको पर्यावरणीय प्रभाव
बाँध निर्माणका लागि ८० हजार २५८ रूख काट्नुपर्नेछ । रूख काट्नुपर्ने अवस्थामा एक रूख बराबर २५ बिरुवा रोप्नुपर्ने सरकारी नीति अनुसार क्षतिपूर्ति वापत २ करोड ६ लाख २६ हजार ३०६ वटा बिरुवा रोप्नुपर्नेछ । यति संख्यामा बिरुवा लगाउनका लागि न्यूनतम ८ हजार हेक्टर जमिन चाहिन्छ ।
८ हजार हेक्टर भनेको १५ हजार ७३४ रोपनी जमिन हो । यति क्षेत्रफल जमिन भनेको झण्डै मध्यपुर थिमि नगरपालिका बराबर हुन आउँछ । नेपाल सरकारले रूख रोप्नका लागि यति ठूलो क्षेत्रफल जमिन उपलब्ध गराउन सक्छ ? सक्दैन । सम्भव नै छैन ।
परियोजनाले दिने प्रतिफल
वर्षात्को समयमा यस परियोजनाले प्रति सेकेण्ड ४५० लिटर र सुख्खायाममा प्रति सेकेण्ड १५० लिटर पानी मेलम्ची खानेपानी आयोजनालाई उपलब्ध गराउने प्रस्ताव गरिएको छ । वर्षात्को समयमा दिने पानीको हिसाब नगरी हिउँदमा मात्र परियोजनाले दिने पानीको गणना गर्ने हो भने वर्षको ४ अर्ब ७३ करोड ४० लाख लिटर पानी मेलम्ची आयोजनाले प्राप्त गर्नेछ ।
नागमती नदीमा पानीको प्रति सेकेण्ड बहाव, त्यस वरिपरि पानीका अन्य स्रोत सबै विचार गर्दा यो परियोजना वैज्ञानिक आधार वा धरातलमा नभएर अतिरिक्त राजनीतिक नाराका आधारमा त तयार पारिएको होइन भन्ने प्रश्न उब्जाएको छ ।
सुखा मौसममा नागमती नदीले प्रति सेकेण्ड ४० लिटर पानी दिने अनुमानमा आधारित भएर हिसाब गर्दा वर्षमा यस नदीले १ अर्ब २६ करोड १४ लाख ४० हजार लिटर पानी दिनेछ । जबकि बाँधमा ९ अर्ब लिटर पानी जम्मा हुनेछ भनिएको छ । नागमती नदीको सहायक खोल्साहरूको पानी वहाव विचार गर्दा जलाशयमा त्यो मात्रामा पानी जम्मा हुन सम्भव छ ? भन्ने प्रश्न गर्न सकिन्छ ।
वर्षातको पानी जम्मा गर्ने आयोजनाको नीति रहेको छ तर जलवायु परिवर्तनका कारण लामो समय खडेरी पर्ने र मनसुन समय छोटो हुन थालेको छ । नेपालमा जेठदेखि सुरु हुने मनसुन साउनमा सुरु हुने र भदौमा सकिन्छ आजकल । मौसम र मनसुनमा आएको परिवर्तन विचार गर्दा नागमती जलाशयका लागि नै पानीको अभाव हुने हो कि ? जलाशय नै भरिएन भने त्यसले वाग्मती नदी र मेलम्ची आयोजनालाई पानी आपूर्ति कसरी गर्न सक्छ ?
नागमती नदीले प्रति वर्ष १ अर्ब २६ करोड १४ लाख ४० हजार लिटर पानी दिनेछ जबकि बाँधमा ९ अर्ब लिटर पानी हुनेछ भनिन्छ । अब प्रश्न उठ्छ, बाँध भर्न चाहिने ७ अर्ब ७४ करोड लिटर पानी कहाँबाट प्राप्त हुन्छ ।
नागमती बाँधको लगानी
यस बाँधका लागि २५ अर्ब ७ करोड ९८ लाख २० हजार लागत अनुमान गरिएको छ । यो रकम १ लाख ५३ हजार ७३३ नेपालीको वार्षिक आय बराबर हो । यो लगानीको वार्षिक ब्याज मात्र बैंक दरमा २ अर्ब ५८ करोड ७ लाख १३ हजार ४७८ रुपैयाँ हुन आउँछ । लागतको तुलनामा प्रतिफल विचार गर्दा १.५ मेगावाट विद्युत् ऊर्जा र तालमा गरिने जल विहारको राजस्व र मेलम्ची खानेपानीमा थपिने पानी मात्रै हो ।
साढे ४ अर्ब वर्षको उद्विकासको चरणमा माइक्रोस्कोपले मात्र देख्न सक्ने प्राणी वनस्पतिदेखि ठूला–ठूला रूखहरूसम्म यस प्राणी सभ्यतामा पाइन्छन् । विविधताबाट प्राणीहरूले खाना, पानी, मौसम र सास फेर्ने हावा पाएका छन् । कुन्मिड–मोन्ट्रियल बायोडाइभर्सिटी फ्रेमवर्क २०२२ बैठकले प्रकृतिको बिग्रिएको रूप परिवर्तन गरेर सही बनाउन लिएको निर्णयमा नेपाल पनि सहमत छ ।
यसले प्रकृति संरक्षणको कुरा गर्दछ न कि प्रकृतिको स्वाभाविक स्वरुपमा अस्वाभाविक परिवर्तन । प्रस्तावित बाँधले प्रकृतिको स्वाभाविक स्वरुपमा अस्वाभाविक परिवर्तन गर्नेछ र त्यस्तो परिवर्तन त्यहाँको प्राणी वनस्पति लगायत स्थानीय र तल्लोतटीय क्षेत्र काठमाडौं उपत्यकामा बस्ने लाखौं मानिसलाई ठूलो नकारात्मक प्रभाव पार्न सक्ने खतरा नागमती बाँध सम्बन्धी सबै खाले अध्ययनहरूले निष्कर्ष निकालेका छन् ।
भौगर्भिक आधारमा काठमाडौं उपत्यका खासगरी शिवपुरी क्षेत्र भूकम्पीय जोखिम क्षेत्रमा पर्दछ । परियोजनास्थलको भूकम्पीय जोखिम अध्ययन गर्ने संस्थाले भूकम्पीय दबावमाथि ध्यान दिन आयोजनालाई सल्लाह दिएको छ । भौगर्भिक पदार्थ र बनोटका अध्येताहरूले शिवपुरी क्षेत्रको जमिन कमजोर रहेको कारण पहिरो जाने खतरा पनि औंल्याएका छन् ।
यस्तै भूकम्पीय चाप अध्येताहरूले बाँध क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको प्रतिवेदन दिएका छन् । धेरै ठूलो बाँध बाँधिने र जलाशयमा पानीको ठूलो मात्रा हुने हुनाले बाँधमुनिको जमिनको सतहले बाँधको भार बहन गर्न सकेन भने बाँध फुट्नु स्वाभाविक हुन जान्छ ।
सम्भावित खतरा
बाँध निर्माणको क्रममा पानी र माटोको गुणस्तरमा परिवर्तन आउन सक्नेछ । निर्माणका क्रममा प्रयोग गरिने रासायनिक वस्तुहरूका कारण ती वस्तुहरू पोखिएर जमिन र पानीमा मिसिन जाने खतरा रहन्छ । यी रासायनिक तत्वहरू मानव स्वास्थ्य प्रतिकूल हुन्छन् ।
पानीसँगै बगेर तल आउने रासायनिक तत्वले तल्लोतटीय क्षेत्रमा बसोबास गर्ने मानिस, जंगली र घरपालुवा जनावरहरूलाई पनि हानि पु¥याउँछ । निर्माणका क्रममा चट्टान फुटाउँदा, बाटो बनाउँदा, डोजरको प्रयोग गर्दा र १२ हजार टन अर्थात् ३ लाख बोरा सिमेन्ट खोल्दा उड्ने धुलोका कारण वरिपरिको वातावरण प्रदूषित हुनेछ ।
शिवपुरी जंगल काठमाडौं उपत्यकाको फोक्सो मानिन्छ । काठमाडौं उपत्यकामा उत्सर्जन हुने कार्वनडाइअक्साइड शिवपुरीमा रहेको वनले अवशोषण गरिरहेको छ । त्यहाँ निर्माणका लागि वन पनि मासिने र त्यहीं प्रदूषण उत्पन्न हुन गएमा त्यहाँको हावामा मिश्रित धुलाका कणहरू काठमाडौं शहरसम्म सहजै आइपुग्नेछन् जसले गर्दा राजधानीको वायु प्रदूषण अझ खतरनाक विन्दुमा पुग्नेछ ।
निर्माणका क्रममा ढुंगा फुटाउँदा वा डोजर, ट्रक आदिको आवाजले ल्याउने ध्वनि प्रदूषणका कारण रैथाने जनावर र वनस्पति समेत प्रभावित हुने खतरा यथावत् छ । ठूला–ठूला चट्टान फोड्न गरिने विस्फोटको आवाज ललितपुरसम्म सुन्न सकिनेछ भने त्यस वरिपरि कस्तो अवस्था आउला ?
धेरै भार बोकेका गाडीहरूको लगातार प्रवेशका कारण शिवपुरी क्षेत्रका धेरै सडक भासिने, पहिरो जाने र समग्र शिवपुरीको पर्यावरणीय अवस्था नाजुक हुने खतरा नजरअन्दाज गर्नै हुँदैन । बाँध निर्माणका क्रममा उत्पन्न गरिने फोहोर बगेर वा उडेर शहरतिर नै आउने छ ।
शिवपुरी धेरै भिरालो भूबनोट भएको जमिन हो । र, यो क्षेत्रको जमिनको सतह कमजोर छ जसका कारण सहजै पहिरो जाने, जमिन बग्ने र भासिने गर्दछ । पानीका प्राकृतिक स्रोत केन्द्रीकरण गरी बाँधमा मिसाइने हुनाले बाँध वरिपरिको जमिन सुख्खा हुन गई कृषिमा आधारित जनसंख्याको खाद्य सुरक्षा प्रभावित हुन जान्छ ।
हरियाली मासिने छ र जंंगली जनावरको वासस्थान प्रभावित हुनेछ । सबैभन्दा घातक कुरा के हुनेछ भने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमाथि मानवीय हस्तक्षेप अत्यन्त धेरै बढ्ने छ । यो बाँधले शिवपुरीमा स्थापित होटलहरूको व्यवसाय प्रवद्र्धनमा भने ठूलो योगदान दिन सक्नेछ ।
बाँध भत्किने खतरा
भिरालो जमिनका कारण बाँधको तल्लो तह धसिने वा पहिरो जाने, माथिल्लो तहमा माथिबाट आएको पहिरोले जलाशयको पानी बाँधतिर धकेलेको अवस्थामा बाँध भत्किन सक्छ । कथंकदाचित बाँध भत्किएको खण्डमा भयावह अवस्था उत्पन्न हुनेछ ।
बाँधको तल्लो सतहमा लगभग ४० लाख मानिसको बसोबास छ । ९ अर्ब लिटर पानी भएको जलाशय फुटेमा सुन्दरीजलदेखि तलका सबै बस्ती डुबानमा पर्नेछन् । गोकर्णेश्वर नगरपालिका, काठमाडौं महानगर, ललितपुर महानगर र कीर्तिपुर नगरपालिका क्षेत्रमा असामान्य विपत् आउन सक्छ ।
त्यति मात्र नभएर यसबाट सर्लाही र रौतहट ज्ल्लिाका कतिपय स्थानहरू पनि बाढी प्रभावित हुनेछन्् । रौतहट सदरमुकाम गौर र सर्लाही सदरमुकाम सर्लाही बजार पूरै डुब्नेछन् । बाढीका कारण वाग्मती किनारामा पर्ने काठमाडौं निजगढ फास्ट ट्रयाक सडकको कतिपय स्थानमा पहिरो जाने, सडक काटिने र भत्किने खतरा विद्यमान छ ।
काठमाडौं नदी सभ्यताबाट स्थापित मानव बस्ती हो । काठमाडौंको सभ्यतामा वाग्मती नदीको अत्यन्त ठूलो महत्व रहेको छ । काठमाडौंको सभ्यताका धरोहरहरू गोकर्ण, गुह्येश्वरी, पशुपतिनाथ, शंखमूल, थापाथली, वाग्मती–विष्णुमती दोभान लगायत दर्जनौं तीर्थस्थल वा सभ्यताका केन्द्र वाग्मती किनारामा अवस्थित छन् । बाँध फुटेको अवस्थामा बाँधको तल्लो सतहबाट पशुपतिनाथ क्षेत्रमा बाढी आइपुग्न बढीमा १५ मिनेट मात्र लाग्छ ।
बाँध फुट्छ नै भन्न सकिन्न र नफुटोस् भन्ने नै आशय हो । तर जमिनको कमजोर सतह, भूकम्पीय जोखिम आदिबाट बाँध फुटेको अवस्थामा आउने भयावह अवस्थालाई नजरअन्दाज गर्न सकिन्न । अधिकांशतः बाँध फुट्ने र पहिरो जाने खतरा मनसुन सिजनमै हुने गर्दछ । पानी परेपछि भिजेको जमिन कमजोर हुन्छ ।
जमिनमा भएको पानी रूखले अवशोषण गर्ने हो । रूख पनि नहुने र जमिन पनि धेरै भिज्न गए जमिन कमजोर हुन्छ । त्यसै पनि शिवपुरी क्षेत्रको जमिन धेरै कमजोर छ, पानीले सहजै भिज्छ र जमिन गल्छ । त्यसले गर्दा वर्षात्को मौसममै पहिरो जाने गरेको हो ।
नियामक निकाय र ठेकेदारहरूका बीचमा हुने अदृश्य तर वैयक्तिक हितका सम्झौताहरूका कारण बाँध निर्माणमा हुनसक्ने गुणस्तरमाथिको नजरअन्दाजले पनि डरलाग्दो अवस्था ल्याउन सक्नेछ ।
वर्षातको पानीका कारण बाँध भरिएर तालमा जम्मा भएको ९ अर्ब लिटर पानी बाँध फुटेर बाहिर निस्कने हो भने कुन अवस्थामा पानी निकास हुन्छ ! बाँध सुख्खा मौसममा वा मनसुन सिजनमा कहिले फुट्छ भन्न सकिन्न । र, फुट्छ नै भन्न पनि सकिन्न । पशुपतिका कृपाले नफुटोस् ।
तर बाँधको धेरै भाग भत्किएर ठूलो मात्रामा पानी एकैचोटि बाहिर निस्कियो भने वाग्मती नदीले टिष्टा नदीले भन्दा कैयौं गुणा ठूलो विपत् ल्याउनेछ । बाँधको सानो पोर्सन भत्किएर पानी बाहिर निस्कने हो भने पनि घण्टाको करोडौं लिटर पानी निस्कन सक्छ । यस अवस्थामा वाग्मती नदीमा पानीको सतह ३०–४० फिटमाथि आउन सक्छ । कल्पना गरौं त्यो अवस्था कस्तो होला ?
जलवायु परिवर्तन र सांसारिक तापमानमा आएको बढोत्तरीले अधिकांश समय सुख्खा लाग्ने गरेको छ भने अचानक मुसलधारे पानी पर्ने क्रम जताततै देख्न थालिएको छ । गत असारमा भारतको हिमाञ्चल प्रदेशमा आएको बाढी र भर्खरै यही महिना असोजमा सिक्किममा आएको बाढीका कारण टिष्टा नदीको उपद्रव हामीले देखिसकेका छौं । टिष्टा वरिपरि ठूलो मानव बसोबास नभएकाले धेरै ठूलो मानवीय क्षति भएन । तर वाग्मती नदी वरिपरि त धेरै बाक्लो मानवीय बसोबास छ र नेपालका ठूला पूर्वाधारहरू पनि वाग्मती नदी किनारामा अवस्थित रहेका छन् ।
वाग्मती नदी किराँत, बुद्ध र हिन्दु सभ्यताको प्रथम पदमार्ग पनि हो । काठमाडौंका प्राचीन शासकहरूले यहाँको उब्जाउ जमिन, नदी प्रणाली, पानीको पर्याप्त स्रोत वरिपरि अग्ला पहाड र त्यहाँ रहेको जंगल देखेर नै काठमाडौं मन पराएका हुन् र राज्य तथा राजधानी बनाएका हुन् । काठमाडौं संसारको एक सुन्दर ठाउँ र पूर्वीय सभ्यताको केन्द्र पनि हो । भवितव्यवश नागमती बाँध फुटेका अवस्थामा काठमाडौंका सभ्यताजन्य सांस्कृतिक धरोहरहरू सर्वनाश हुनेछन् ।
आवेश र उत्तेजनाप्रेरित योजनाहरूले विकास होइन विनाश गर्दछन् । शिवपुरी अत्यासलाग्दा पूर्वाधार विकासका लागि उपयुक्त स्थान नै होइन । शिवपुरी क्षेत्र धेरै भिरालो छ र जमिन असाध्य कमजोर । जतिसुकै बलियो संरचना बनाए पनि पृथ्वीको सतहमै बनाउनुपर्ने हुन्छ । जतिसुकै गहिरो जग राखे पनि त्यसभन्दा तल भत्किने खतरा कसैगरी टार्न सकिंदैन । शिवपुरीको भौगर्भिक बनोट र जमिनको भिरालो सतह विचार गर्दा नागमती बाँध काठमाडौंवासीका लागि काल भएर आउन सक्छ ।
विनाशकारी विकासले वाग्मती नदीलाई ढलको आकारमा परिवर्तन गरिएको छ । स्वरुप जस्तो बनेको छ, त्यसका आधारमा भन्नुपर्दा वाग्मतीलाई नदी भन्न किमार्थ सकिंदैन । नदीको बगर हुन्छ । काठमाडौं शहरभित्र मानिसहरू वाग्मतीतिर सर्दै–सर्दै घर बनाएका छन् । वाग्मती नदीलाई बाँधेर जस्तो बनाइएको छ, यो कुनै वैज्ञानिक पद्धति होइन ।
वाग्मती नदीको दुवैतिर पर्खाल लगाएर यसलाई शहरभित्रको ढलको आकार दिइएको छ । यति खुम्च्याइएको छ कि नदीलाई कुनै ठूलो मुसलधारे पानीका कारण आउने बाढी नदीको आजको संरचनाले थेग्न नै सक्दैन । त्यसमाथि नागमती बाँध फुट्न पुग्यो भने पर्ने असरको वैज्ञानिक विश्लेषण परियोजना सुरु गर्नुपूर्व गर्नै पर्दछ ।
पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, केही सुरुङ मार्गहरूले टाट पल्टाउँदै गएको नेपालको अर्थतन्त्रलाई अन्तिम धक्का दिएर खाडलमा हाल्ने काममा नागमती बाँधको पनि योगदान नरहोस् । सुगा र सुगा शिकारीको कथा जस्तो नहोस् नागमती ।
शिकारीलाई सुगाले भनेछ– ‘हे मानव एकैपटक टाउको कुच्याएर मलाई मार ।’ शिकारीले भनेछ– ‘मेरी पत्नीलाई तेरो टाउकोको झोल मीठो लाग्छ, टाउको कुच्याउन मिल्दैन ।’ सुगाले भनेछ, ‘उसो भा मेरो पेट फुटाउ र मार ।’
शिकारीले भनेछ, ‘तेरा आन्द्राभुँडी पनि मेरा बच्चा मन पराउँछन् ।’ मलाई थाहा छ, तँलाइ तड्पाएरै मार्नुपर्छ मैले । नागमती बाँधले देशको पैसा पनि सक्छ, विपत् पनि ल्याउन सक्छ । शिकारीहरू त टाउकोको सुप, आन्द्राभुँडीको भुटुवा भोज गर्लान् तर आर्थिक अभाव वा विपत् दुवैले तड्पिने त आम मानिस न हुन् ।
प्रतिक्रिया 4