
काठमाडौं । निर्माता तथा अभिनेता किरण नेपालीको परिचयमा अब नयाँ प्वाँख थपिने तयारीमा छ । निर्माण घोषणा भएको फिल्म ‘सोलीडोली’लाई किरण आफैले निर्देशन गर्ने भएका छन् ।
फिल्म ‘नम्बरी सुन’मा अभिनेताको रुपमा देखिएका उनी आफूलाई निर्देशकीय कोणबाट स्थापित गर्न चाहन्छन् । राजु गिरी निर्देशित यो फिल्ममा उनी खलपात्रको रोलमा छन् जुन कात्तिक छेकोमा रिलिज तयारीमा छ ।
दशकअघि फिल्म ‘डोली’बाट निर्माण कार्य थालेका किरणले यसबीच नेपाली फिल्मको उतारचढावपूर्ण यात्राको दृश्य देखे । कोभिड महामारी र सुस्ताउँदो आर्थिक मन्दीले फिल्म क्षेत्रमा पारेको प्रभावको बीचमा पनि उनले फिल्ममेकिङलाई निरन्तरता दिएका छन् ।
‘डोली’पछि ‘लभ डे’, ‘पोइ पर्यो काले’, ‘दुई नम्बरी’ र ‘हात्तीछाप’ उनका भेन्चर हुन् । जसमध्ये ‘हात्तीछाप’ माघ २६ गते प्रदर्शन तयारीमा छ । उनका अघिल्ला तीन फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरे ।
‘दुई नम्बरी’ले बक्सअफिसमा नेपालीलाई स्थापित गर्यो । जसको कारण उनले सो फिल्मका शीर्ष कलाकारलाई लिएर ‘हात्तीछाप’ बनाएका छन् । नुवाकोटमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाइरहेका नेपाली फिल्म निर्माण आफ्नो रहर भएको बताउँछन् ।
किरणको फिल्ममा ए-लिस्टर कलाकारको संलग्नता देखिन्छ । दयाहाङ राई र सौगात मल्लजस्ता घरेलु फिल्मका स्टारले उनको फिल्ममा अभिनय गरको छन् । ‘हात्तीछाप’ सौगातसँग उनको तेस्रो सहकार्य हो । केही साताअघि उनले ‘दुई नम्बरी’ डेब्यु गर्ल उगेन छोदेनलाई लिएर बेनामे फिल्मको घोषणा गरेका छन् ।
अब किरण ‘२ नम्बरी’को दोस्रो श्रृंखला र सोलीडोली निर्माणमा जुटेका छन् । यसबाहेक उनी ‘नम्बरी सुन’को प्रवद्र्धन र ‘हात्तीछाप’को सम्पादनमा जुटेका छन् । अभिनयपछि निर्देशनको अनुभव लिन पनि आफूले सोलीडोली निर्देशन गर्ने योजना बनाएको नेपालीले अनलाइनखबरलाई बताए ।
नेपाली कांग्रेसको सिद्धान्तप्रति अभिरुचि राख्ने किरण भविष्यमा राजनीति गर्ने योजनामा छन् । गत प्रदेश सभाको चुनावमा उनले कांग्रेसको तर्फबाट प्रदेश सभामा उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया 4