
बाबुराम भुसालद्वारा रचित हालै सार्वजनिक भएको कविता सङ्ग्रह हो ‘अभ्यास काव्ययात्रा’ ।
अधिकांश गद्य कविताहरु सहित केही पद्य कविताहरु, गजल तथा गीतसमेत गरी ५० वटा सिर्जना यस कृतिमा सङ्ग्रहित छन् । चेतनामूलक तथा जागरणमूलक सिर्जनाहरूलाई यस पुस्तकमा प्रस्तुत गरेका छन् ।
ग्रामिण विकासमा स्नातकोत्तर गरेका तथा अङ्ग्रेजी साहित्यका अध्येता, विकास तथा सशक्तीकरणकै क्षेत्रमा अनुभव आर्जन गरी त्यही क्षेत्रमा कलम चलाउँदै आएका कवि बाबुरामको ‘अभ्यास काव्ययात्रा’ कविता सङ्ग्रहमा पनि विकास र सशक्तीकरणलाई नै बढी जोड दिएको देखिन्छ ।
मानव प्राणीले अपेक्षा गरेको सकारात्मक परिवर्तन कसरी सम्भव छ भन्ने विषयलाई आधार बनाएर गत वर्ष प्रकाशित भएको उनकै कृति ‘अभ्यास’ मा उल्लेखित विषयवस्तुलाई नै सरल रुपमा प्रस्तुत गर्ने गरी र थप स्पष्ट पार्ने गरी काव्यात्मक स्वरुपमा ‘अभ्यास काव्ययात्रा’ आएको हो ।
साहित्य क्षेत्रमा भावनात्मकतालाई बढी प्रश्रय दिने गरिएकोमा यस कृतिमा तथ्यपरक तथा वस्तुपरकलाई जोड दिइएको देखिन्छ । सरल शब्दमा गहन भाव बोकेका कविताहरुको माध्यमबाट आफ्नो प्रस्तुतिलाई निकै मार्मिक र सन्देशमुलक बनाएका छन् ।
विषयवस्तु तथा प्रस्तुतिमा दार्शनिकता झल्किन्छ । शाश्वत मान्यताहरुलाई उजागर गर्न खोजिएको देखिन्छ ।
‘वर्गसङ्घर्ष होइन अभ्यास गर्नु पर्छ’, ‘अस्तित्वको लागि अभ्यास गर्नुपर्छ’, ‘चौघेराबाहिर पनि शान्ति चाहिन्छ’ ‘आवश्यकताको मात्र आवश्यकताबोध गर्नु छ’ ‘सत्तापक्षको अपेक्षा’, ‘प्रतिपक्षको चिन्ता’ लगायत कविता मार्फत केही नयाँ सैद्धान्तिक तथा दार्शनिक मान्यताहरु अघि सार्न खोजिएको छ ।
एक अर्काबिच प्रतिस्पर्धा होइन, परिपुरकता हुनुपर्छ, व्यक्तिवादिता होइन, सामूहिकता तथा सामुदायिकता हुनुपर्छ, परनिर्भरता होइन अन्तरनिर्भरता हुनुपर्छ भन्ने मान्यता तथा सन्देशहरुलाई उनले कविताहरु मार्फत अभिव्यक्त गरेका छन् ।
समाज, अर्थतन्त्र तथा राजनीति, प्रकृति, वातावरण, पदार्थीय अस्तित्व, अध्यात्म, मानव अन्तरसम्बन्ध, युवा सशक्तिकरण महिला सशक्तीकरण, पछाडि परेका वर्ग समुदायको उत्थान, प्रेम, मानव दृष्टिकोण, मानवीय व्यवहार तथा क्रियाकलापहरु, गाउँमा रहेका सम्भावनाको उजागर, विकास, समृद्धि, गरिवी उन्मूलन, मानव पहिचान, मानव कार्य विशेषता जस्ता तमाम विषयवस्तुमा उनले कविताको माध्यमबाट आम पाठकलाई अन्तर्दृष्टि दिन खोजेका छन् ।
कविताहरुमा मूलतः आजका दुरावस्थाहरुको चित्रण गरिएको छ र समाधानको लागि हरेकले आफ्नै आफ्नै जैविक यन्त्रमा अभ्यास गर्नुपर्ने उपाय औल्याइएको छ ।
हरेक व्यक्ति आफै ब्युँझिनुपर्ने, आफूले आफैलाई चिन्नुपर्ने, आफू भित्र रहेका असीमित संभाव्य क्षमताको पहिचान गर्नुपर्ने, मानव प्राणी हुनुको नाताले मानव प्राणीलाई प्रकृति प्रदत्त पदार्थीय पहिचान र कार्यविशेषता अनुसार काम गर्न सक्ने क्षमता आर्जन गर्न आफ्नै जैविक यन्त्रमा अभ्यास गर्नुपर्ने भावलाई नै सबैजसो कविताहरुमा प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया 4