
२९ असोज, काठमाडौं । देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सोमबार जारी गरेको विज्ञप्तिमा स्वास्थ्य संस्था र स्वास्थ्य उपकरणलाई चट्याङ प्रतिरोधात्मक बनाउन उचित व्यवस्थापन गर्नपर्ने आग्रह गरिएको छ ।
मनसुनलगायत अन्य बेला हुने चट्याङबाट हुने घाइतेको लक्षण र व्यवस्थापन विद्युतीय विपत्बाट हुने घाइतेभन्दा भिन्न हुने हुँदा सोको बारेमा जानकार रही उचित व्यवस्थापन गर्न मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
गृह मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष २०७९ जेठ २२ देखि असोज ३० गतेसम्म १८७ चट्याङका घटनामा ६० जनाको मृत्यु भएको थियो । यस्तै १५७ जना घाइते भएको थिए ।
‘चट्याङको घटनाको संख्या अघिल्लो वर्ष विपत्का कारण भएका मृत्युमध्ये दोस्रो र घाइतेको संख्यामा प्रथम थियो भने यस वर्ष बढ्दो क्रममा देखिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘चट्याङबाट स्वास्थ्य संस्थाको सुरक्षा र चट्याङबाट हुने घाइतेहरूको उचित व्यवस्थापन गर्न स्वास्थ्य क्षेत्रको पूर्वतयारी अपरिहार्य छ ।’
प्रतिक्रिया 4