
काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ यतिबेला रोचक बनिरहेको छ । नयाँ नियम र ट्यालेन्टको प्रतिस्पर्धाले पछिल्लो संस्करणलाई रोचक बनाइरहेको छ । यो सिजनमा नयाँ नियम ‘ब्लक’ थपिएको छ ।
भ्वाइसमा पहिलोपटक लागू गरिएको यो नियमलाई लिएर कोच झुक्किएका देखिन्छन् भने दर्शकलाई यो देख्दा रमाइलो लागिरहेको छ । प्रतिस्पर्धी अन्य कोचमा जाने सम्भावना देखेपछि उसलाई रोक्न अर्को कोचलाई ब्लक प्रयोग गर्न पाउने सुविधा छ ।
जसअनुसार कोच प्रमोद खरेल अहिलेसम्म धेरैपटक ब्लक खाने कोच बनेका छन् । उनलाई तीनपटक ब्लक गरिसकिएको छ । कुनै कोचले अर्को कोचलाई ब्लक गरेपछि उक्त कोचलाई प्रतिस्पर्धीले रोज्न पाउँदैनन् । भ्वाइसको पछिल्लो संस्करणमा कोच राजेशले कोच प्रमोदको कुर्सी जबर्जस्ती घुमाइदिएको देख्न सकिन्छ । भ्वाइसका निर्देशक लक्ष्मण पौडेलका अनुसार कोच प्रमोदलाई गरिएका तीनमध्ये दुई ब्लक निष्प्रभावी बनेका छन् ।
‘ब्लकलाई लिएर दर्शकले इन्जोय गरेका छन् । तर कोच केही अलमलिएजस्तो देखिन्छ,’ निर्देशक पौडेलले अनलाइनखबरसँग भने । अहिले भ्वाइसमा ब्लाइण्ड अडिसन राउण्ड चलिरहेको छ । यो सकिन अझै चार एपिसोड बाँकी छ ।
जसअनुसार एउटा कोचको समूहमा १६ जना ट्यालेन्ट हुनुपर्ने नियम छ । अहिलेसम्म कोही कोचसामु १० र कोहीमा ११ जना ट्यालेन्ट पुगेका छन् । कोच प्रमोदले अब चारजना ट्यालेन्ट लिए उनको समूहले पूर्णता पाउनेछ भने कोच उदय सोताङले अझै ८–९ ट्यालेन्ट आफूतिर तान्नु जरुरी छ ।
जेहोस्, यो सबथोकबीच भ्वाइसको पाँचौं सिजन रोचक बनिरहेको छ । यसपटक प्रमोद खरेल, उदय सोताङ, राजेशपायल राई र मिलन नेवार कोचको रुपमा छन् । भ्वाइस अफ नेपाल प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे प्रसारण हिमालय टिभी एचडीमा प्रसारण हुने गर्छ ।
प्रतिक्रिया 4