
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकार गठनको घटनाको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् ।
आइतबार सभापति देउवाले कोशी घटनाको विषयमा छलफल गर्न महामन्त्री थापा र शर्मालाई आफ्नो निवासमा बोलाएका थिए । सो भेटमा आफूहरुले कोशीमा यो परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाटै भएको बताएको महामन्त्री शर्माले पत्रकारहरुलाई बताए ।
कोशीमा कांग्रेसका केदार कार्कीले आफ्नो दलका २९ मध्ये ८ जना र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे र हाल मुख्यमन्त्री नियुक्त भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री नियुक्तिका लागि सहमति जनाएपछि शेखर पक्षका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
‘अहिले जे भएको छ, त्यो घटनामा सभापतिले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । किन यो प्रकारको दुर्घटना भयो, ….यसको सबैभन्दा ठूलो जिम्मेवारी, अंशियारी सभापतिले लिनुपर्छ’, बैठकमा आफूहरुले राखेको धारणाबारे शर्माले भने ।
कोशीमा सरकार गठनको विषयमा सभापति देउवाले कोशीबाटै प्रतिनिधित्व गर्ने आफू, सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेता विजयकुमार गच्छदार, डा. नारायण खड्कालगायत कोही पनि नेतासँग सल्लाह नै नगरेको महामन्त्री शर्माले बताए ।
महामन्त्री शर्माले डा. शेखर कोइरालाले पनि कोशी घटनाको विषयमा जवाफ दिनुपर्ने बताए । ‘कुनै प्रदेशमा कांग्रेसको भाग थिएन, गठबन्धनमा सम्मानजनक आलोपालो भन्ने छ’ शर्माले भने, ‘सभापतिले संस्था चलाउने कुरामा फरक विचारलाई सुन्ने र समन्वय गर्ने कुरा नगर्ने र फरक विचार समूहका नेताले पनि आफ्नै समूह भित्र पनि छलफल नगर्ने परिपाटी देखियो ।’
प्रतिक्रिया 4