
२९ असोज, काठमाडौं । दशैंका लागि आन्तरिक उडानका करिब शतप्रतिशत टिकट बुकिङ भइसकेको छ । तर, सोमबार पर्यटन मन्त्री सुदन किराती र व्यवसायीबीच महँगो वर्गको टिकट संख्या बिक्रीको प्रतिशत कम गरी कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै जाने र बाहिरबाट फर्कने आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै लैजाने सहमति भएको छ ।
यो सहमतिबाट यात्रुलाई खास फाइदा भने हुने छैन । किनभने दशैंमा घरजाने अधिकांश यात्रुले टिकट बुकिङ गरिसकेका छन् ।
चाडबाड सुरु भएर टिकटको माग बढेपछि आन्तरिक हवाई टिकटको मूल्य साविक भन्दा माथि जान्छ । दशैंको बेला सस्तो टिकट नपाएपछि यात्रुहरुले भाडा बढेको गुनासो गर्ने गरेका छन् ।
पछिल्लो केही दिनयता यस्तै गुनासो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा बढेसँगै सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हवाई व्यवसायीसँग छलफल डाकेका थिए ।
छलफलपछि निष्कर्ष निस्कियो, ‘हवाई इन्धन र वायुसेवाका पाटपूर्जाको मूल्यमा भएको वृद्धि, अस्थिर डलर विनिमय दर, हालसालै हवाई यातायात र यात्रु टिकटमा थपिएको मूल्य अभिवृद्धि कर तथा यात्रु सेवा शूल्क र विमानस्थल सेवा शुल्कमा भएको वृद्धि लगायत विविध कारणले स्वयम् वायुसेवा सञ्चालक नै मारमा परेका छन् ।’ अर्थात् जनता मारमा परे भन्दै मन्त्रीले डाकेको यस बैठकमा हवाई व्यवसायीले मन्त्री किरातीलाई व्यवसायी मारमा परेको भनेर ‘कन्भिन्स’ गराउन सफल भए ।
छलफलमा सहभागी एक हवाई व्यवसायीले भने, ‘सरकारले हामीलाई लिन पाउने अधिकतम भाडाको दर दिएको छ, हामी त्यो भन्दा माथि गएकै छैनौं, त्यस्तो अवस्थामा कसरी भाडा बढ्यो भनेर हामीले प्रश्न गर्यौं ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव टेकनारायण पौडेलका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा नेपाल सरकारले २०७३ सालमा हरेक उडान खण्डको माथिल्लो र तल्लो सीमा निर्धारण गरेको हो । वायुसेवा कम्पनीले सोही सीमाभित्र रहेर बजारको माग र आपूर्तिको नियम अनुसार भाडा लिइरहेका छन् ।
बैठकमा मन्त्री किरातीले चाडपर्वको अवसरमा जनस्तरबाट आएको गुनासो सम्बोधन गरी यात्रुलाई सुरक्षित, भरपर्दो, प्रभावकारी र सुलभ हवाई यातायातको प्रत्याभूति दिलाउनेतर्फ वायुसेवा संस्थाहरु केन्द्रित रहन निर्देशन दिएको उपसचिव पौडेलले जानकारी दिए ।
प्रतिक्रिया 4