+
+

‘अन्यको तुलनामा महिनावारी हुने महिलामा हृदयाघात कम हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते ११:२९

चितवन । नियमित रुपमा महिनावारी हुने महिलामा अन्य महिला वा पुरुषको तुलनामा हृदयघात कम हुने मुटुरोग विशेषज्ञ प्रा.डा. श्यामराज रेग्मीले बताएका छन् । चितवन मेडिकल कलेज भरतपुरमा विगत १० वर्षदेखि मुटुको शल्यक्रिया गर्दै आएका प्रा.डा. रेग्मीले महिनावारी हुने महिलामा हृदयाघात हुने खतरा अन्यमा भन्दा निकै कम हुने गरेको बताउँछन् । महिलाको महिनावारी बन्द हुने उमेरलाई औसत ४५ वर्ष मान्दा त्यसभन्दा कम उमेर भएका महिलामा निकै कम र बढी उमेर भएका महिलामा बढी हृदयाघात भएको पाइएको उनको दावी छ ।

महिनावारी गराउने हर्मोनका कारणले हृदयाघातको खतरा यो उमेर समूहमा अन्यमा भन्दा कम हुने गरेको बताउँदै उनी भन्छन्, ‘४५ भन्दा कम उमेरका महिलामा हृदयाघात हुँदै नहुने भन्ने हैन, हामीले २१ वर्षीया युवतीमा पनि अप्रेशन गरेका छौं, तर यो उमेर समूह भित्र निकै कम छ ।’

पुरूष र महिलाको तुलनामा पुरूषमा नै बढी हृदयाघात हुने गरेको पाइन्छ । जन्मजात, वंशाणुगत कारण, सुगरप्रेसरका अलवा महिलाहरुभन्दा पुरुषले बढी मदिरापान तथा धूमपान गर्ने र बढी तनावमा रहने भएकाले यस्तो जोखिम बढी हुने गरेको अनुमान छ । ‘महिलाहरू अस्पताल जाने चेक गराउने भन्ने विषयमा सम्वेदनशील भएको पाउँछु, तर पुरुषहरूले बढी लापरबाही र दुखाइ पचाएर बस्दा बढी क्षति भएको जस्तो पनि देखिन्छ’ प्रा.डा. रेग्मीले भने, ‘४५ वर्षभन्दा माथि उमेर समूहका महिला र पुरुषमा बराबर खालको हृदयाघातको सम्भावना हुन्छ । महिलाको पनि हृदयाघात भएर मृत्यु भए पनि सामाजिक संरचनाको कारणले खासै बाहिर नआउने तर पुरुषलाई भएको हृदयाघात बढी चर्चा हुने गरेको देखिन्छ ।’

डा. रेग्मीका अनुसार मुटुमा भएका तीनवटा कोर्नरी आर्टरीमध्ये तीनवटा एकैपटक बन्द भएमा मुटु ठ्याक्कै बन्द भएर तत्कालै मृत्यु हुने गरेको र यस्तो अवस्थामा बिरामीलाई बचाउन नसकेर मृत्यु भएको खबर सुन्नुपरेको उनी बताउँछन् । मुटुको समस्या क्रोनिक भएर विस्तारै ६०/७०/८० प्रतिशत बन्द हुँदा त्यसैले ज्यान नै लिँदैन, तर ३०/४० प्रतिशत ब्लकेज भएर फुट्दा त्यसले एकैपटक ज्यान लिन सक्ने खतरा हुने डा. रेग्मी बताउँछन् । ३०/४० प्रतिशत ब्लकेज हुँदा नै औषधि खुवाउने र ७० प्रतिशत भन्दा बढी बन्द भएमा शल्यक्रिया गर्ने गरिएको उनको भनाइ छ ।

‘हामीले तीनवटा नसामा २ वटा बन्द भएका मान्छे पनि ठमठम हिँडेको देखेका छौँ तर एकैपटक फुटेर ब्लकेज हुँदा र त्यसमा ध्यान नदिँदा दुःखद निधन हुन्छ’ डा. रेग्मी भन्छन्, ‘कहिलेकाहीँ एउटै नसा फुट्दा पनि कहिलेकाहीँ खतरा हुन्छ, कोल्याट्रल सप्लाई सिष्टम हुन्छ, एक ठाउँबाट अर्को ठाउँमा जान २४ देखि ४८ घण्टा लाग्छ, बिरामी समयमा अस्पताल आएमा बचाउन सकिन्छ ।’ उनका अनुसार साधारणतया १२ घण्टा भित्र अस्पताल आएमा हृदयाघात भएका ९५ प्रतिशतलाई बचाउन सकिन्छ ।

प्रा. डा. रेग्मीका अनुसार चितवन मेडिकल कलेजमा विगत १० वर्षको अवधिमा ७ हजार २०० जनाभन्दा बढी बिरामीको मुटुको शल्यक्रिया गरिएको छ र ७ वर्षदेखि ९६ वर्षसम्मका बिरामीको पनि मुटुको शल्यक्रिया गरिएको छ ।

सोही अस्पतालका क्याथल्याब इञ्चार्ज अमृत काफ्लेका अनुसार अस्पतालमा अहिलेसम्म ७ हजारभन्दा बढीको मुटुको शल्यक्रिया हुँदा ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला छन् । ४० वर्षभन्दा कम उमेर समूहका २० प्रतिशत विरामी छन् । वि.सं २०७० भदौ ११ गतेदेखि हालसम्म अस्थायी पेसमेकर ३२० जनामा, स्थायी पेसमेकर ३०० जनामा, क्रोनरी एन्जियोग्राफी ३ हजार ५०० जनामा र क्रोनरी एन्जियोप्लास्टी २ हजार ५०५ जनामा गरिएको थियो ।

मुटुको सानो भल्व बेलुनले फुलाउने (बिपीभी) १५ जनामा, मुटुमा जमेको पानी तान्ने १५० जनामा, मुटुको आसपासका नसाको एन्जियोग्राफी १५० जनामा र मुटुको बाथरोगको बेलुनद्वारा फुलाउन २५० जनामा शल्यक्रिया गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?