+
+

हामीकहाँ दीपकराज गिरीजस्ता कलाकारलाई समेत भोलि के हुने हो भन्ने चिन्ता छ : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १३:३८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेता दीपकराज गिरी सोमबार बेलुका कार्यक्रममा एकसाथ देखिए । सन्दर्भ थियो, नयाँ नेपाली ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाज् लन्च समारोह ।

यी दुईले एकले अर्कालाई लक्षित गर्दै अभिव्यक्ति पनि दिए । तर यसपटकको अभिव्यक्तिमा कटाक्ष थिएन । दुवैले आफ्ना भनाइमा हार्दिकता प्रस्तुत गर्ने प्रयास गरे । पूरै समय कार्यक्रममा बसेका ओलीले चाखपूर्वक कलाकारको भाषण सुने ।

उनले भने, ‘नेपालमा भारत र चीनको जस्तो ठूलो जनसंख्या छैन । यसैले यहाँ फिल्म चलेर पनि कलाकारलाई जीवन जिउन गाह्रो छ । धेरै जनसंख्या भएको मुलुकमा एउटा गीत चले पनि जिन्दगी बन्छ । तर यहाँ दीपकराज गिरीजस्ता कलाकारलाई भोलि के हुने हो भन्ने चिन्ता छ ।’

दीपकले ओलीको लागि केही प्रशंसाका शब्द खर्चिए । ओली आफूभन्दा पनि ठूला हास्यव्यंग्यकार रहेको बताउने गरेको कुरा आफूले सुनेको दीपकले बताए । उनले ओलीको व्यंग्यचेतको प्रशंसा गरे ।

‘मैले हाम्रा हिरोलाई भेट्दा त नाम बिर्सन्छु । तर उहाँले बिर्सनुहुन्न, उहाँलाई याद छ । आफूलाई समयअनुसार अपग्रेड गर्नुपर्छ भन्ने कुरा म उहाँबाट सिक्न चाहन्छु । चलचित्रमा पनि लागू हुन्छ यो कुरा । म ठाउँ ठाउँमा पनि भन्ने गर्छु । उहाँका इन्टरभ्यु हेर्दा पनि त्यो लाग्छ । तँभन्दा पनि ठूलो हास्यव्यंग्यकार उहाँ हुनुहुन्छ भन्छन् । व्यंग्यको चेत भनेको एकदम ठूलो कुरा हो,’ उनले भने ।

उनले नेता ओली समाज, चलचित्र र साहित्यसँग निकट रहेको भन्दै प्रशंसा समेत गरे । ‘राजनीति भनेको शरीरको मुटु हो । हामी राजनीतिबाट कहीं पनि टाढा बस्न सक्दैनौं । व्यक्तिको कुरा गर्दा मैले धेरै नेतामा के देखेको छु भने आफ्नो विषयमा मात्र बढी ध्यान दिइएको देख्छु । उमेरको हिसाबले मेरो माथिको पुस्ता, मेरो बुवाको पुस्ता । आफूलाई अहिलेको समाज, चलचित्र र साहित्यसँग उनले अपडेट गर्नुभएको छ,’ दीपकले भने ।

उनले व्यंग्य गर्नलाई थुप्रै अध्ययन चाहिने बताए । ‘व्यंग्य गर्नलाई थुप्रै अध्ययन चाहिन्छ । थुप्रै विषयवस्तु र ज्ञान चाहिन्छ । अनि मात्र व्यंग्य हुन्छ जस्तो लाग्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?