+

कुन अवस्थाको क्यान्सर पूर्ण रुपमा निको हुन्छ ?

२०८० कात्तिक  १ गते १६:५० २०८० कात्तिक १ गते १६:५०
कुन अवस्थाको क्यान्सर पूर्ण रुपमा निको हुन्छ ?

क्यान्सर लाग्नासाथ ‘जीवन सकियो, निको नहुने रोग हो यो, यसले मृत्युको मुखमा धकल्ने गर्छ’ भन्ने आम बुझाइ छ । जसकारण क्यान्सर भएपछि बिरामी हतोत्साही हुन्छन्, डराउँछन् । साँच्चै क्यान्सर लागेपछि निको हुँदैन ? क्यान्सर घातक रोग त आवश्य पनि हो । तर कस्तो क्यान्सर ? कुन अंगको ? कुन चरणको ? धेरै कुरा यसमा निर्भर गर्छ ।

क्यान्सर दुई प्रकारका हुन्छन्, हेमाटोलोजीकल र सोलिड ट्युमर (शरीरको कुनै पनि अंगको हुने क्यान्सर) । यी दुवै खालको क्यान्सर पूर्ण रुपमा निको हुन्छन् । तर क्यान्सरको चरणमा भर पर्छ । क्यान्सरलाई एकदेखि चार चरणसम्म हुन्छन् । पहिलोदेखि तेस्रो चरणसम्म पूर्ण रुपमा निको हुन्छ भने चौथो चरणमा पुगेपछि भने निको बनाउन सकिंदैन ।

यदि पहिलोदेखि तेस्रो चरणसम्म फोक्सोको क्यान्सर, ब्रेस्ट क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पेट तथा आन्द्राको क्यान्सर पत्ता लगाउन सकेमा राम्ररी पूर्ण रुपमा निको बनाउन सकिन्छ ।

सुरुवाती वा पहिलो चरणमा आउनुअघि पनि एउटा चरण हुन्छ, त्यसबेला पत्ता लगाइयो भने शतप्रतिशत निको हुन्छ । पहिलो चरणमै पत्ता लागेमा क्यान्सर पूर्ण रुपमा निको हुन सक्छ । खासगरी स्तन र पाठेघरको क्यान्सरलाई पूर्ण रुपमा निको पार्न सकिन्छ ।

नेपालमा महिलाहरुमा पाठेघरको क्यान्सर बढ्दो छ । यो पनि सुरुवाती चरणमै पत्ता लागेमा पूर्ण रुपमा निको पार्न सकिन्छ । यसैगरी पेट र आन्द्राको क्यान्सर पहिलो चरणमै पत्ता लागेको अवस्थामा पूर्ण निको हुने सम्भावना बढी हुन्छ । घाँटीको क्यान्सर पनि यस्तै हो । सुरुवाती चरणमा पत्ता लगाउन सकियो र सही उपचार गरियो भने पूर्ण निको हुन्छ ।

कस्तो अवस्थाको क्यान्सर जटिल मानिन्छ ?

क्यान्सरको चौथो चरणको अवस्थालाई जटिल मानिन्छ । यो चरणको क्यान्सर अन्य अंगमा पनि फैलिसकेको हुन्छ । जसले गर्दा शल्यक्रिया गरेर पनि केही पूर्ण रुपमा निको पार्न सकिंदैन । यसबेला बिरामीलाई निको पार्न भन्दा पनि सहज बनाउन उपचार गरिन्छ । कस्तो प्रकृतिको क्यान्सर र कुन रुपमा फैलिएको छ भन्ने पनि हुन्छ । त्यसैले पहिलो चरणअघि नै सम्भावित क्यान्सरबारे पत्ता लगाउन सकियो भने क्यान्सरको जोखिमबाट जोगिन सकिन्छ ।

क्यान्सरको उपचार

रेडियो थेरापी, किमोथेरापी, इम्युनो थेरापी, टार्गेट थेरापी, शल्यक्रिया क्यान्सर उपचारका विधि हुन् । पहिला एउटै सर्जनले सबै क्यान्सरको शल्यक्रिया गरिन्थ्यो भने अहिले क्यान्सरको प्रकारअनुसार छुट्टाछुट्टै सर्जन छन् । अहिले नेपालमै धेरैजसो उपचार हुने भएकाले क्यान्सरका बिरामी विदेश जानुपर्ने अवस्था छैन ।

क्यान्सर जीवनको अन्त्य होइन, नयाँ सुरुवात पनि

क्यान्सर भनेको जीवनको अन्त्य होइन, यो एउटा नयाँ जीवनको सुरुवात हो । क्यान्सर निको भएर धेरैले सामान्य जीवन बिताइरहेका छन् । उनीहरुले सामान्य जीवन बिताउने मात्र नभई पूर्ण आयु बाँच्न सक्छन् । साथै बाल्यकालमा क्यान्सर भएका र उपचार गराएकाहरु पनि सामान्य अवस्थामा फर्किएका छन् । क्यान्सर लाग्यो भन्दैमा आत्तिहाल्नु हुँदैन । आवश्यक स्वास्थ्य परीक्षण, स्वस्थ दिनचर्या, उपयुक्त खानपान र सक्रिय जीवनशैलीले क्यान्सरबाट जोगाउन सक्छ ।

क्यान्सरबाट बच्न के गर्ने ?

क्यान्सर हुन नदिन सबैभन्दा पहिले त आफ्नो आनीबानीलाई व्यवस्थित बनाउनुपर्छ । जंकफुड र कोल्ड ड्रिंकबाट सकेसम्म नखाने, धुम्रपान, मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने, सन्तुलित खानपान र शरीरमा केही परिवर्तन देखिएमा जाँच गराइहाल्ने गर्नुपर्छ ।

पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर धेरै महिलामा देखिइरहेकाले केही समस्या नभए पनि वर्षको एकचोटि महिलाले पाठेघर र स्तनको परीक्षण गराउनुपर्छ ।

(मेडिकल अन्कोलोजिस्ट डा. प्रजापति भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

क्यान्सर स्वास्थ्य
लेखक
डा. रोशन प्रजापति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?