
१ कात्तिक, विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन् ।
बुधबार प्रदेशसभामा विश्वासको मत लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास हुने बताएका हुन् ।
‘सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ, त्यसका लागि संवाद र सहकार्य हुन्छ’ उनले भने ।
मुख्यमन्त्री कार्कीलाई सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका साथै गठबन्धनमा नरहेको नेकपा एमालेले पनि विश्वासको मत दिएको छ ।
मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदमा नेकपा एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई सहभागी गराएका छन् भने अझै ६ जना मन्त्री चयन बाँकी छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताले कोशीमा एमालेबाहेकको सरकार बनाउने अभिव्यक्ति दिइरहेका बेला मुख्यमन्त्री कार्कीले एमालेसहितको सरकार बनाउने आशय व्यक्त गरेका हुन् ।
उनले सबै दलको साझा बन्ने प्रयास हुने बताए । उनले आपसी संवादपछि जतिसक्दो छिटो मन्त्रिपरिषद विस्तार हुने पनि बताए ।
*यसअघिको समाचारमा मुख्यमन्त्री कार्कीको भनाइलाई भुलवश माओवादी नेता इन्द्रबहादुर आङ्बोको भनी उल्लेख भएकाले क्षमा माग्दै सच्याइएको छ ।
प्रतिक्रिया 4