
१ कात्तिक । गाजा स्ट्रिपमा बालबालिकाको उमेर सोध्ने शैली पृथक छ । कुनै बालबालिकाको उमेर सोध्नुपर्यो उसलाई प्रश्न गरिन्छ- ‘कतिवटा इजरायली हमलाको सामना गर्यौ ?’
प्यालेस्टाइनी समूह हमासले हमला गरेसँगै इजरायलले गाजामा आततायी आक्रमण गरिरहेको छ । उसले अस्पताल, स्कुलमा पनि बमबारी गरेको छ । गाजामा १५ वर्षको अवधिमा इजरायलले ठूलो हमला गरेको यो पाचौँ पटक हो ।
२० लाख ३० हजार मानिस बसोबास गर्ने यस क्षेत्रमा बहुसंख्यक जनसंख्या १८ वर्षमुनिका छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनका अनुसार त्यहाँका बालबालिका लगातार आघातमा बाँच्न विवश छन् । प्रत्येक ५ मध्ये ४ मा चरम निराशा, भयंकर त्रास र दर्दनाक दु:खको स्थिति रहेको त्यस संस्थाको सर्वेक्षण छ । तीमध्ये आधा बालबालिका आफ्ना दौँतरीको निधनका कारण आत्महत्याको सोचमा समेत पुगेको स्थिति छ ।
एक सातायता इजरायलले गाजामा गरेको हमलामा एक हजार भन्दा बढी बालिबालिकाको ज्यान गएको छ । बचेका बालबालिकाहरुको मानसिक स्थिति सही सलामत राख्न अभिभावकले हरसम्भव कोशिस गरिरहेका छन् । आफ्नो बच्चाको हविगतबारे अभिभावक जाबर हज क्वेसी भन्छिन्, ‘मेरो बच्चा निकै त्रस्त छ । कुनैपनि आवाजमा ऊ भयभित भएर उफ्रिन्छ । कसैले अलिकति ठूलो स्वरमा मजाक गरेपनि उसले सहन सक्दैन । हरपल म उसलाई यो युद्ध अन्त्य हुन्छ भनेर सम्झाउने कोसिस गर्छु ।’
आफ्नो छोरालाई शान्त पार्न निम्ति उनी आफ्नो बच्चालाई युद्ध अन्त्यपछिको योजना सुनाउँछिन् । आफूले सुनाउने योजनाले यो कठिन घडीमा बच्चालाई हौसला दिनसक्ने अपेक्षा क्वेसीले राखेकी छिन् ।
आततायी हमलाले कुन बेला आफ्नै ज्यान जाने हो टुंगो भने छैन । क्वेसी भन्छिन्, ‘क्षेप्यास्त्रले चारैतिर क्षतविक्षत छ । पल-पलका धमाकेदार आवाजले हाम्रो आवास र आत्मविश्वास एकैसाथ हल्लाइरहेछ ।’
क्वेसीले आफ्ना बच्चालाई एक्लै नछोड्ने भरोसा दिलाएकी छिन् । क्षेप्यास्त्रको प्रकाशसँगै आउने धमाकेदार आवाजको सामना कसरी गर्ने भन्ने तालिम उनले आफ्ना बच्चालाई दिएकी छिन् ।
आमाको तालिमकै कारण १० वर्षीय ओमार दक्षिणी शहर रफाह अहलममा सुत्दा आफ्नो हत्केलाले दुबै कान थुनेर सुत्छन् । ‘मैले जोगिन उनलाई तयार गरेपनि मलाइ डर छ मेरो छोरो जिन्दगीभर त्रसित हुनसक्छ । हमलातर्फ उसको ध्यान नजाओस् भन्नका लागि हरसंभव प्रयत्न मैले गरिरहेछु । तर क्षेप्यास्त्र र बमका आवाज सुन्न मेरो छोरो विवश छ’, क्वेसीले भनिन् ।
वदी आफ्ना बालबच्चासँगै एउटै कोठामा रहन्छिन् । उनका पतिले छोराछोरीको ध्यान हमलातिर नहोस् भन्नका निम्ति आफ्ना बाल्यकालको अवस्था सुनाउँछन् । ‘सानैदेखि आफूले पनि यस्तै आवाज सुन्दै आएको तर निडर र आत्मविश्वासका साथ यस्तै परिस्थितिको सामाना गरेको सुनाउँछन् । मेरो सात वर्षीय छोरा साहिदले पनि मलाइ मेरो बहादुरीबारे प्रश्न गर्छन् । म उसलाइ आफ्नो बहादुरीका पल सुनाउँछु’, उनले भनिन् ।
वर्तमानमा सन्तानलाई आत्मविश्वाशिलो बनाउने हर यत्न गरिरहेका अभिभावक भविष्यमा आफ्ना सन्तति गहिरो तनावमा जानसक्ने चिन्तामा छन् । ‘अहिले त हामीले उनीहरुको मनोबल बढाउने काम गरिरहेछौँ । तर भविष्यमा उनीहरु चरम निराशामा पुग्ने चिन्ता हामीलाइ छ’, वादीले भनिन् ।
गाजा शहरमा बस्ने मनल सलिमका अनुसार उनी उनका तीन बच्चालाई हररात हजुरबुवा हजुरआमासँग कुराकानी गराउँछिन् । यस्तो अवस्थामा हजुरबुवा हजुरआमा कसरी रहन्थे ? डराउँथे वा निडरतापूर्वक रहन्थे ?
यस्ता प्रश्नको जवाफ हजुरबुवा हजुरआमाबाट सुनाएर बच्चाहरुको आत्मबल बढाउने काम गर्थे । उनीहरुका हजुरआमाले भन्थिन्, ‘यस्तो अवस्था क्षणिक हो । यो समय टर्नेछ । युद्ध अन्त्य भएपछि खुशी भएर अघि बढ्नेछौं ।’
बच्चाहरु भन्थे, ‘तपाईंहरु सुरक्षित हुनुहोस् है । हामी तपाईंहरुलाई औधी माया गर्छौँ । युद्ध अन्त्य भएपछि हामीसँगै बसेर खुशी मनाउनुपर्छ ।’
सलिमकी ५ वर्षीय छोरी माइलाई अलग हुनुको चिन्ता छ । अल सिफा अस्पतालको आकस्मिक कक्षमा काम गर्ने उनका पिता हरेक रात घर आउन सक्दैनन् ।
‘कतै बुवालाई क्षेप्यास्त्र त लागेन । उहाँ किन घर आउनुभएन’, उनी सोध्छिन् । सलिमले सबैकुरा ठीकठाक रहेको आश्वस्त बताउँदै बलियो हुन प्रेरित गर्छिन् ।
आश्वस्त पार्नका निम्ति उनले छोरीलाई बुवासँग टेलिफोनमा कुरा गराउन खोज्छिन् । तर आकस्मिक कक्षमा घाइतेहरु खचाखच हुने भएकाले बुवाले छोरीसँग कुरा समेत गर्न भ्याउँदैनन् ।
खान युनिसमा बस्ने रावन्द खाल्फ आफ्ना पाँच, नौ र चौध वर्षका बच्चालाई विभिन्न खेल खेलाउँछिन् । ‘उनीहरुलाई म कुनै न कुनै खेलमा व्यस्त राख्छु ताकी उनीहरुको ध्यान बमको आवाजतर्फ केन्द्रित नहोस् । हामी सुरक्षित रहेको आभास उनीहरुलाई दिलाउँछु’, उनले भनिन् ।
उनकी जेठा छोरा अहिद हमलामा परेर घाइते साना बच्चाको चित्कारले त्रसित छन् । ‘ती साना बच्चाले त्यति ठूलो चोट कसरी सहलान् । हामीभन्दा सानो र हामीजस्तै बालबालिका बचाउन किन कसैले सहयोग गरिरहेको छैन । गाजाका बालबालिकालाई पनि त बाँच्ने अधिकार छ । सबै छिनेर पनि उनीहरु अघाएनन् । उनीहरुले अब हाम्रो बाँच्ने अधिकार पनि खोसे’, उनले भनिन् ।
युद्धमा परेका बालबालिकामा असुरक्षाको मानसिकता व्याप्त छ । त्रस्त छिमेकीको आवाज सुन्दा उनीहरु घरबाट भाग्ने तरखरमा हुन्छन् । आफ्ना ६ छोराछोरीसँगै बेत हनुनमा बस्ने नइमा फेयरले पनि यस्तै हविगत व्यहोरिरहेकी छिन् ।
उनी छोराछोरीलाई सम्झाउँदै भन्छिन्, ‘म मेरा छोराछोरीलाई घरजत्तिको सुरक्षित स्थान कुनै छैन भनेर सम्झाउँथे । तर युद्धले सुरक्षाका सबै नियम बदलेको छ । युद्धको दोस्रो दिन हामी सबैथोक छोडेर घरबाट भाग्यौँ ।’
त्यस रात यता मेरा छोराछोरी निकै भयभित रहेको उनले बताइन् । संयुक्त राष्ट्रसंघको मानवीय सहायता मामिलाको कार्यालयका अनुसार करिब ५ लाख मानिसले गाजा छोडेका छन् ।
१६ वर्षीया हनन भन्छिन्, ‘मेरा सबै स्मृतिहरु मैले घरमै छोडेर राष्ट्रसंघले चलाएको स्कुलमा आएँ । यहाँ निकै खचाखच छ । क्षेप्यास्त्र यहाँ पनि खस्न बेर लाग्दैन । मेरो अभिभावक वा मेरो ज्यान कुनबेला जानसक्छ निश्चित छैन ।’
हमाससँग दुश्मनी रहेको इजरायलले यसबेला प्यालेस्टाइनलाई सामूहिक दण्ड दिँदै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर युद्ध अपराध गरेको भन्दै आलोचना बढिरहेछ । हरेक १५ मिनेटमा एक जना बालबालिका मारिएको अवस्था छ ।
गाजालाई ध्वस्त बनाउने प्रण लिएको इजरायलले अब कत्तिको ज्यानले लिने हो टुंगो छैन । १० वर्षीय ओमार भन्छन्, ‘हाम्रा सबै खुशी छिनेर पनि उनीहरु अघाएका छैनन् । हाम्रो बाँच्ने अधिकार खोसिँदा समेत हामीलाई बचाउन कसैले सहयोग गरेका छैनन् ।’
प्रतिक्रिया 4