
काठमाडौं । फिल्म ‘भष्मे डन’ले घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ । बुधबार खुला गरिएका शोको एड्भान्स टिकट केही घण्टामै बिक्री ३० प्रतिशत हाराहारीमा छ ।
क्यूएफएक्सले देशब्यापी आउटलेटमा दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई ६३ शोज दिएको छ । जसमध्ये राजधानी र केही जिल्ला सदरमुकामस्थित आउटलेटका हलमा टिकट बिक्री सन्तोषजनक देखिन्छ ।
आइएनआइले तीन आउटलेटमा १५ शोज, दुई आउटलेटको वान सिनेमाजले १३ शोज, बिग मूभिजले ६ शोज, एफक्यूबले ९ शोज दिएका छन् । पछिल्लो सप्ताहन्तमा दुई भारतीय फिल्महरु लियो र गणपत पनि रिलिज हुने भएकाले ‘भष्मे डन’को प्राप्त शो सन्तोषजनक हो ।
प्राप्त शोअनुसार ‘भष्मे डन’को एड्भान्स टिकट बिक्रीको ट्रेन्ड बिहीबार र शुक्रबार बेलुकासम्म कस्तो देखिन्छ, यसले फिल्म ओपनिङलाई आकार दिनेछ । निर्माताले दशैं फूलपाति छेकोमा फिल्मलाई शनिबार रिलिज गर्दैछन् ।
हलहरुले लियो, गणपत र भष्मे डन तीनै फिल्मको एड्भान्स टिकट बिक्री खुला गरेका छन् जसमा भष्मे डन अग्रणी देखिएको छ । देशभरका हलमा गरेर पशुपति प्रसादको दोस्रो श्रृंखलाले डेढसयभन्दा बढी शोज प्राप्त गरेको छ । अब प्राप्त शो दर्शकीय अकुपेन्सीमा कसरी रुपान्तरित हुन्छन्, यसले फिल्मको व्यवसायिक भविष्यलाई दिशा दिनेछ । शुक्रबार बेलुकासम्म बुकिङ ट्रेण्ड उच्च हुने अनुमान छ ।
रामबाबु गुरुङको ‘जारी’पछि त्यही अनुपातमा फिल्मले दर्शकलाई हलसम्म तान्न सकेका छैनन् । चलचित्र विकास बोर्डका अनुसार पछिल्लो ६ महिनामा रिलिज भएका ३१ फिल्ममध्ये दुई फिल्महरु जारी र नांगो गाउँले मात्र लगानी उठाउन सकेका छन् ।
यसैबीच, यो फिल्म नेपालमा शनिबार रिलिज हुँदा मध्यपूर्वका मुलुकमा भने पाँच दिनपछि मात्र प्रदर्शनमा आउनेछ । वितरक रमेश ढकालले त्यहाँका युएई, कतार, ओमान, बहराइनसहितका ६ मुलुकमा फिल्म रिलिज हुन लागेको बताए ।
बिपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का अभिनित फिल्मको लेखन तथा निर्माण खगेन्द्र लामिछानेले गरेका हुन् ।
प्रतिक्रिया 4