
काठमाडौं । अभिनेता सुशिल श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म ‘आउट ल’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले फिल्मको राइट खरिद गरेको छ ।
विदेश अधिकारसँगै सह-निर्माताको रुपमा पनि यो कम्पनी पनि जोडिएको कार्यकारी निर्माता साहिल खानले बताए । फिल्मको नेपाल वितरक रिच इन्टरटेनमेन्टका सञ्चालक करण श्रेष्ठले चाँडै पोस्टरसहित प्रदर्शन मिति घोषणा गर्ने तयारी भैरहेको बताए ।
रेट्रो ग्रुपको ब्यानरमा निर्माण भएको यो फिल्ममा श्रेष्ठसहित नरेश पौड्याल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठी लगायतको अभिनय छ । एक्सन–थ्रीलर जनरामा राखिएको यो फिल्मले कानून नमान्ने पात्रको कथा पेश गर्छ ।
यो फिल्म आफ्नो करिअरकै विशेष फिल्म हुने सुशिल बताउँछन् । ‘मेरा लागि यो करिअर डिफाइन फिल्म समेत हो’ उनले भने । सशांक खड्का, अमित अग्रहरी र बिनोद कठायतको लगानीमा निर्माण भएको फिल्मलाई बिक्की महर्जनले निर्देशन गरेका हुन् ।
निर्माता कडायतले यसअघि ’प्रेमगीत ३’मा कला निर्देशकको रुपमा काम गरेका थिए । ‘कथा दमदार छ । युवालाई लक्षित गरी कथा बनाइएको हो । पढेका र युवा टिममा भएकाले फिल्मको नतिजा राम्रो आउने विश्वास छ,’ उनले भने । २ करोड रुपैयाँको बजेटमा निर्माण भएको फिल्मलाई नवीन गुरुङले छायांकन गरेका हुन् ।
प्रतिक्रिया 4