+
+

फिल्मकर्मी भन्छन्- प्रस्तावित चलचित्र विधेयक उद्योगको हितमा देखिएन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते ११:५५

काठमाडौं । फिल्मकर्मीले चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै प्रस्तावित व्यवस्थाले उद्योगको हित नगर्ने बताएका छन् ।

चलचित्र विकास बोर्डले छलफलका लागि सार्वजनिक गरेको विधेयकको मस्यौदालाई लिएर फिल्म वृत्तबाट तीव्र विरोध भैरहेको छ । यो सन्दर्भमा चलचित्र पत्रकार संघले बुधबार राजधानीमा यसबारे सरोकारवालासँग अन्तक्रिया कार्यक्रम चलाएको थियो ।

बागमती प्रदेशका संचार रजिष्टार रेवती सापकोटाले प्रस्तावित मस्यौदा संविधानविपरित रहेको बताए । ‘यसका व्यवस्था, अक्षर र भावना पूर्णतः संविधान विपरित छन् । यसलाई सच्याएर अघि बढ्नुपर्छ । संघीय सरकारले प्रदेशसँग परामर्श र छलफल नगरिकन जुन व्यवस्था लाद्न खोजेको छ, यो अमान्य छ’ सापकोटाले भने ।

प्रदेशले गर्ने कामलाई पनि प्रस्तावित विधेयकमा समेटिएकोप्रति उनको आपत्ति छ । जिल्ला-जिल्लामा फिल्म सेन्सर बोर्ड गठन गर्ने प्रस्तावप्रति पनि उनले आपत्ति जनाए । ‘यो सबै काम प्रदेशले गर्ने हो । हामीसँग छलफल छैन । बागमती प्रदेशले पनि सोहीअनुसार विधेयक ल्याउँछ । तर, संघीय सरकार संविधानविपरित ढंगले अघि बढ्दैछ ।’

विधेयकका मस्यौदाकार तथा फिल्म निर्माता आकाश अधिकारीले २०२६ सालको ऐनभन्दा अहिलेको विधेयकलाई प्रगतिशिल र समयसापेक्ष बनाउन आफूहरुले प्रयत्न गरेको बताए । उनले घरेलु फिल्मको संरचनागत सुधारदेखि अन्तर्राष्ट्रियकरण सम्मका चासोलाई विधेयकले समेट््ने बताए ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले मस्यौदालाई लिएर भएको असन्तुष्टिलाई टुंग्याउन चलचित्र संघसंस्थासँग परामर्श भैरहेको बताए । ‘चाँडै हामी एउटा निष्कर्षमा पुग्छौं र अहिले भएका विरोध र जायज कुरालाई टुंग्याउँछौं’ निरौलाले भने । प्रस्तावित विधेयकले संचार मन्त्रालयका कर्मचारीको नियन्त्रण झनै कसिलो गराउने र यसले चलचित्र विकास बोर्डको स्वायत्तता खोस्ने भन्दै फिल्मकर्मीले विरोध गरिरहेका छन् ।

फिल्मका आठ संघसंस्थाले त बोर्डको स्वायत्ततालाई बटमलाइन बनाएका छन् । अन्तक्रियामा बोल्ने वक्ताले ब्यूरोक्रासीको नियन्त्रणबाट फिल्मलाई मुक्त गरेमात्र उद्योगको हित सम्भव हुने धारणा राखे । समारोहमा उपस्थित संचार र अर्थ मन्त्रालयका प्रतिनिधि भने यसबारे बोल्न अनुमति नभएको भन्दै बाहिरिए । पत्रकार विष्णु शर्माले विधेयकबारेको छलफलको सहजीकरण गरेका थिए ।

उक्त समारोहमा दशैंतिहारको शुभकामना आदानप्रदान भएको थियो । संस्थाका उपाध्यक्ष कुवेर गिरीको सभापतित्व र महासचिव रघुनाथ सापकोटाले कार्यक्रम संचालन गरेका थिए । संघका अधयक्ष समीर बलामीले स्वागत मन्त्व्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?