
२ कात्तिक, दाङ । संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद मिनाहा पाएका व्यक्ति २५ दिनपछि पुन: हत्या आरोपमा पक्राउ परेका छन् ।
गत ३ असोजमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ सिम्लीका ३३ बर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिक मुसीकोट नगरपालिका– ७ साँखकी २८ वर्षीया भावना बिकको हत्या हत्या आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार लोकबहादुर र भावना आइतबार रूकुम पश्चिमको खलंगास्थित होटल सत्कारमा बसेका थिए । भावना मंगलबार बिहान होटलको कोठा नम्बर १ मा मृत भेटिएकी थिइन् ।
मुसीकोट नगरपालिका–१ छिङस्थित माइतीघरमा बस्दै आएकी भावना र लोकबहादुरबीच लेनदेनको बिषयमा विवाद भएपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनास्थलबाट चक्कु, चक्कुको खोल, मोबाइल, लोकबहादुरको घरबाट ८५ हजार ८३५ रुपैयाँ नगद पनि बरामद गरेको छ ।
आइतबार होटेल सत्कारमा पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नामबाट होटलको कोठा बुक गराएका थिए । नातामा श्रीमान् श्रीमतीको सम्बन्ध उल्लेख गरेका उनीहरुले होटलमा दिएको नाम र विवरण गलत रहेको प्रहरीले जनाएको छ ।
बहुविवाह मुद्दामा जेल परेका लोकेन्द्रलाई असल चालचलन भएको कैदीका रुपमा मन्त्रिपरिषदको सिफारिसमा ३ असोजमा राष्ट्रपतिले कैद मिनाहा गरेका थिए ।
उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाएका लोकबहादुर ०७९ फागुन १४ गते जेल परेका थिए । प्रहरीका अनुसार कैद मिनाहा नभएको भए पनि उनी ०८० माघ १९ गते मुक्त हुने थिए ।
प्रतिक्रिया 4