
कात्तिक ३, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अनुमति विना नै विदेशी डाक्टर प्रयोग गरि सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर बन्द गराएको छ । बसुन्धरास्थित अनन्त आशा मण्डली (चर्च)मा बिहीबार छापा मारी बन्द गराएको हो ।
उक्त शिविर बुधबार देखि सुरु भएको थियो । काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा. कालुसिंह खत्रीको नेतृत्वमा बिहिबार गएको अनुगमन टोलीले शिविरमा खटिएका विदेशी चिकित्सकले लिनु पर्ने अनुमति नलिएको बताए ।
‘दक्षिण कोरिया, अमेरिका लगायत विभिन्न देशबाट आएका १२ – १५ जना विदेशीहरु चिकित्सकको भूमिकामा खटिएको देखियो । उनीहरु चिकित्सक नरहेको पाइयो’ डा. खत्री भने , ‘यदि चिकित्सक नै हो भने पहिला काउन्सिलसँग अनुमति लिएर मात्रै काम गनुपर्छ । तर, अनुमति बिना नै शिविर सञ्चालन गरेको पाएपछि बन्द गरायौं ।’
शिविरमा अनुगमन टोली जाँदा सेवा लिने भनेर गएका सर्वसाधारणहरुको भिड थियो । शिविर बन्द भएपछि भने उनीहरु फर्केका थिए ।
अब देखि अनुमित लिएर मात्रै गछौं भनेर माफी मागेपछि हामीले छोडिदिएको डा. खत्रीले बताए । पछिल्लो समय चर्चका नाममा नेपालमा विदेशीहरु आउने र विना अनुमति यस्ता शिविरहरु क्रम बढ्न थालेको छ ।
प्रतिक्रिया 4