
३ कात्तिक, पोखरा । यसै पनि पोखरा लाहुरेहरुको सहरको उपमा थियो । यहाँबाट रहरको पखेटा हालेर हङकङ उड्नेहरुको ठूलो लर्को नै थियो । यही बिम्बलाई टपक्क टिपेर नामुद साहित्यकार सरुभक्तले लेखे–
‘विदेशिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा,
जिउ त होइन ढुंगाको छपनी
आउँला माया नमरे म पनि
हङकङ पोखरा…।’
५० को दशकमै लोकपपमा देशमै उधुम मच्चाइरहेका पोखरेली ब्यान्डहरुकोे भिडमा भर्भराउँदो उमेरका विवेक श्रेष्ठले जब यो गीतमा आवाज भरे, देशमा कुनाकन्दरामात्रै होइन कि भूगोल र सीमा नाघेर विश्वभरका नेपालीहरुको मनमनमा पुग्यो ।
सरुभक्तले लेखेको र सुनिल थापाले संगीत भरेको यही गीतले नै कन्दराको कद अग्लो बनाइदियो भने विवेकलाई विलक्षण प्रतिभाको रुपमा चिनायो । कालान्तरमा यही गीतको मर्म नै उनको नियति बनिदियो ।
संगीतबाटै देशविदेशमा चर्चाको चुली चढिरहेका उनी आफैं गीतले भनेजस्तै परदेशिन पुगे । त्यही क्षणलाई सम्झिँदै शुक्रबार विवेक नोस्टाल्जिक बने, ‘आदरणीय सुरुभक्त दाइले खै अब त्यो बुझेर हो वा पहिल्यै भविष्यवेत्ता भएर हो त्योचाहिँ खासै थाहा भएन । एउटा यस्तो खालको सुन्दर शब्द कोरिदिनुभो, जुनचाहिँ मेरो आफ्नै जीवनमा पनि ठ्याक्कै मिलेजस्तो भो ।’
०००
पोखरा मालेपाटनमा रहेको बाराही स्कुल त्यतिबेला पनि सबैको रोजाइँमा पर्थ्यो । राम्रोे र कडाइका साथ पढाइ हुने भएकाले विद्यार्थीसँगै अभिभावक पनि आँखा बाराहीमै पुर्याउँथे ।
त्यही स्कुलमा पढ्थे, विवेक श्रेष्ठ र सुनिल थापा ।
संयोग कस्तो भने थापाको बेन्च, टेबल ठटाउँथे अनि विवेकचाहिँ गीत गाउने । कक्षा ८ मा पुगेपछि उनीहरु साथी बने । हरबखत सँगसँगै हुन थालेपछि एउटाको वाद्यवादनमा अर्कोले आवाज दिन थाल्यो । ‘हामी साथी बनेकोचाहिँ कक्षा ८ मा पुगेपछि हो । संगीतप्रति माया त्योबेलादेखि नै थियो,’ थापा सम्झन्छन्, ‘त्यसपछि त म टेबल बजाउने, ऊ गीत गाउने गर्न थाल्यो ।’
दुवैको ‘दोस्ती’ टुटेन । लोकपप संगीतलाई मन पराउने केही साथीहरु मिलेर सन् १९९२ एउटा सांगीतिक समूह खुल्यो । जसको नाम जुराइयो, कन्दरा । विवेक अहिले त्यही कन्दरा ब्यान्डका मुख्य गायक हुन् भने सुनिल संगीत संयोजक ।
सन् १९९२ मा सांगीतिक समूह बने पनि पहिलो एल्बम निकाल्न भने ३ वर्ष कुर्नुपर्यो । सन् १९५५ मा पहिलो एल्बम ‘चञ्चले कान्छी’ निस्कियो । त्यसपछि सन् १९९६ मा कन्दराले ‘डाँडापारि’ एल्बम ल्यायो । उक्त एल्बममा ‘लेककी हे माया, तिमी पारि, विदेशिएर गइन् उनी’ लगायत गीत समावेश थिए ।
सन् १९९८ मा ‘हङकङ पोखरा’ एल्बमको शीर्ष गीत ‘हङकङ पोखरा’ बजारमा ल्याएका थिए । त्यो गीत यति चर्चामा आयो कि कन्दराकोे अघिल्ला गीत छायाँमा परे । कुनै जमाना पनि थियो, हङकङ पोखरा भनेकै कन्दरा र कन्दरा भनेकै हङकङ पोखरा !
त्यही ‘हङकङ पोखरा’ गीत पछि त हो, विवेक परदेशिएको पनि ।
परदेशिएपछि पनि उनको समूहले सन् २००६ मा ‘वर्षौंपछि’ सांगीतिक एल्बम ल्यायो । उक्त एल्बमको ‘तगारोमा रुमाल राखी’ गीतले फेरि कन्दरालाई नखोजेको होइन । तर, न विवेक नेपाल फर्किन सके न उनको पुरानो समूह नै सक्रिय थियो । करिब ९ वर्षपछि कन्दराले पाँचौं एल्बम ‘भेंडीगोठ’ सार्वजनिक गर्यो ।
घर फर्किंदै कन्दरा !
कुनै समय ‘ब्यान्ड’को पनि ब्यान्ड बनेको कन्दरा आफू भने कुनाकन्दरातिरै हरायो । सांगीतिक समूह तितरबितर बन्यो । सुरुका सारथिहरु विजय गुरुङ, अमर गुरुङहरु पनि विदेशिए । नेपालमा भएका अन्य पनि आ–आफ्नो पेशा व्यवसायमा फर्किए ।
तर, कन्दराका कुनै औपचारिक सांगीतिक कार्यक्रम होस् या बार, रेस्टुँरातिर बज्न छोडेन । कन्दराकै लोकपप गीत गाउँदै, सुन्दै, सुनाउँदै नयाँ–नयाँ गायकगायिका उदाए । कन्दरा आफू भने निस्क्रियजस्तै बन्यो ।
यतिबेला कन्दरा फेरि पुनरागमन गर्न खोज्दैछ । लामो विदेश जीवन त्यागेर गायक विवेक श्रेष्ठ स्वदेश आइसकेका छन् । कन्दरा समूहको ३ दशक पुगेको अवसरमा ‘रिफर्म’ हुन खोज्दैछ ।
गायक विवेक श्रेष्ठका अनुसार समूहमा यसपालि संगीतकार सुनिल थापासहित नेपालमा पहिलोपटक जिप्सीज्याज संगीतले गुञ्जयमान बनाउने हरि महर्जन, देव लामा, पंकज झा, सुन्दर महर्जन आदि जोडिएका छन् । जसको जिम्मा लिएकोे छ, आदि ग्रुप प्रालिले ।
‘खास हामी बिग्रिएकै म्यानेजमा समय दिन नसकेर हो रैछ । सबै काम आफैं गर्छु भन्ने भयो भने झन् भद्रगोल हुने रहेछ,’ समूहका संगीत संयोजक थापा भन्छन्, ‘तर, सबै व्यवस्थापन एउटाले गरेर हामीले संगीतमा मात्रै ध्यान सक्यौं भने राम्रो हुने देखियो ।’
गायक विवेक ३ दशक अघिको आफूहरुको समय र अहिलेको समयमा सांगीतिक स्वरुपमै व्यापक परिवर्तन आइसकेको बताउँछन् । ‘एउटा जेनेरेसन नै ग्याप भइसक्यो । त्यो ग्याप मेट्न पनि समूहमा पनि धेरै रिफर्म गर्नुपर्ने देखियो,’ भन्छन्, ‘लामो तयारीपछि अब चाहिँ पुनरागमन गर्न रेडी भयौंजस्तो लागेको छ ।’
समूहमा नयाँ सदस्य थपघट भए पनि आफ्नो मौलिक ‘जनरा’ भने नछोड्ने कन्दराको भनाइ छ । त्यही आफ्नो मौलिकपनलाई नछोड्न हालैमात्र कन्दराले ५ वटा गीत रेडियो नेपालमा ‘वान टेक’ रेकर्डिङ र सुटिङ गरेको छ ।
‘अहिले चोक–चोकमा रेकर्डिङ स्टुडियो छन् । बोले पनि अटोट्युनले गायक भइन्छ । तर, हामीलाई बनाएकोे रेडियो नेपालले नै होे,’ गायक विवेक भन्छन्, ‘त्यही भएर हाम्रो आफ्नै मौलिक शैलीमा रेडियो नेपालमा वान टेक रेकर्डिङ गरेका हौं । सायद यस्तो रेकर्डिङ गर्ने हामी नै पहिलो ब्यान्ड होला !’
रेडियो नेपालमै ‘वान टेक’ रेकर्डिङ र सुटिङ गरिएका ५ वटा गीतमध्ये ‘विचरा म…’ बोलको गीत अर्को शुक्रबार सार्वजनिक हुने गायक श्रेष्ठले जानकारी दिए । गीतमा संगीत सुनिल थापाकै छ भने शब्द आनन्द अधिकारीले लेखेका हुन् ।
पुनरागमनको पहिलो कार्यक्रम नै कन्दराले पोखराबाट गर्न लागेको आदि ग्रुपका आशिष पराजुलीले जानकारी दिए, जसको संयोजन पोखरा पर्यटन परिषद्ले गर्दैछ । मंसिर १६ गते पोखरामा सांगीतिक प्रस्तुति गरिसकेपछि ७ वटै प्रदेश घुम्ने आदि ग्रुपको योजना छ ।
‘एकदमै सम्भावना बोकेको कन्दराको यो आफूलाई प्रमाणित गर्ने पनि अन्तिम मौका हो । यस पटक पनि कम्ब्याक गर्न सकेन भने कहिल्यै सक्दैन,’ आदि ग्रुपका पराजुली भन्छन्, ‘अहिले सबै टिम सेट भइसकेको छ । २ वर्षदेखिको हाम्रो तयारी बल्ल पूरा हुँदैछ ।’
पराजुलीले कन्दरा ब्यान्ड पोखराबाटै उदाएकाले पुनरागमन पनि पोखराबाटै गराउन लागिएकोे सुनाए । ‘अनि त्यसपछि बल्ल मुग्लान र परदेशका सहरमा पनि सांगीतिक कार्यक्रम लिएर जाने योजना छ,’ उनले भने ।
प्रतिक्रिया 4