
काठमाडौँ । आसुशेन फिल्म्स प्रोडक्सनले आगामी फिल्मको रुपमा ‘बलिदान’ निर्माणको घोषणा गर्दै टिजर पोस्टर सार्वजनिक गरेको छ । फिल्मलाई सन्तोष सेनले निर्देशन गर्नेछन् । प्रदर्शन मिति २०८१ सालको फूलपातिलाई तय गरिएको छ । निर्मातामा पवन ब्राडफर्ड विष्ट छन् ।
फिल्मले मधेशको एक वास्तविक राजनीतिक आन्दोलन र घटनाको कथावस्तु पेश गर्ने निर्देशक सेनले बताए । टिजर पोस्टरमा राजमार्गमा आगजनी गरिएका गाडीहरुको हिंस्रक दृश्य देख्न सकिन्छ ।
पोस्टरले फिल्मको कथावस्तुबारे महत्वपूर्ण मनोविज्ञान निर्माण गर्छ । ‘प्रेमगीत ३’ निर्देशक सेनको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हो । सेनले यो फिल्मको कथावस्तुलाई ‘सार्वभौम महाकथा’को रुपमा ब्याख्या गरे ।
‘शान्तिपूर्ण आन्दोलन गर्दा विदेशी तत्व प्रवेश गरेर कसरी आन्दोलनलाई हिंस्रक बनाउँछन् र यस्ता मुद्दा मधेशमा कसरी चलिरहेका छन् भन्ने कथावस्तु वरपर फिल्म घुम्छ’ उनले भने ।
विषयवस्तु यथार्थ रहेको तर स्थान तथा पात्र काल्पनिक रहेको सेनले बताए । फिल्मको छायांकन तिहारपछि सुरु हुने जनाइएको छ । फिल्मको पटकथा दर्शन जी र स्क्रिप्ट डाक्टरको रुपमा मनोज पण्डित छन् । कार्यकारी निर्मातामा चक्रबहादुर चन्द र प्रेम पुरी छन् ।
प्रतिक्रिया 4