+
+
सम्पादकीय :

आनीबानी र आदत बदलौं, ठूलो परिवर्तन आफैं आउँछ

देश बदल्न राजनीति बदल्नुपर्छ । राजनीति नयाँ नाराले बदलिने होइन, आनीबानी र व्यवहारले हो । त्यसैले हाम्रा स–साना आनीबानी बदलौं, त्यसको परिणाम ठूलो हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ५ गते १३:२५

विकसित देशका सफा सडक, लाइन र लेनमा अनुशासित भएर उभिइरहेका मानिस, समयको पालना, हरियाली वातावरण लगायत कुरा हामीलाई मन पर्छन् । हामी चाहन्छौं– हाम्रो देश पनि त्यस्तै भए हुन्थ्यो । तर, त्यस्तो बनाउने चाहिं कसले ?

सरकारले ? राजनीतिक दलले ? सामाजिक अगुवाहरूले, कि हरेक नागरिकले ?

हामी वरिपरिको सडक कसले फोहोर गर्यो ? घरभित्रबाट निस्कने फोहोर कुहिने र नकुहिने गरी छुट्याउन कसले रोक्यो ? ‘कमाइ अठन्नी, खर्च रुपैयाँ’ गर्न केले प्रोत्साहित गरिरहेको छ ? महिनावारी र छाउपडी लगायत अनेकौं हानिकारक प्रथाहरूको अन्त्य गर्न कसले रोकिरहेको छ ?

सरकारले ? सफा सरकारले गरेन होला तर फोहोर गर्ने त हामी नै हौं । बोतलदेखि गुट्खा फ्याँक्ने मात्र होइन, चिल्लो कारबाट मुन्टो निकालेर सडकमा पिच्च थुक्नेसम्मको काम एक व्यक्तिका रूपमा हामी नागरिकले नै गर्ने हो ।

कल्पना गरौं, काठमाडौं सहित शहरका सडकमा हरेक नागरिकले कुनै पनि फोहोर नफ्याँक्ने, नथुक्ने हो भने यो अहिलेको जस्तो हुँदैनथ्यो । प्राकृतिक रूपमै ‘एयर कन्डिसन्ड’ काठमाडौं उपत्यका असाध्यै सुन्दर छ । हामीले यसको प्राकृतिक अवस्थितिलाई नबिगारिदिए मात्रै पुग्छ ।

हाम्रो राजनीतिक नेतृत्व हामी नागरिकको आम चेतनाको प्रतिनिधित्व गर्दै राज्यसत्ता सञ्चालन गर्ने कुर्सीमा पुग्छ । उनीहरू त्यहाँ अरू कुनै अलौकिक शक्ति र सामर्थ्यका कारण भन्दा हामी आम मतदाताको छनौट गर्ने क्षमतामा आधारित भएर पुगेका हुन्छन् ।

जताततै भ्रष्टाचार छ । सुशासन एक मृगतृष्णा बनेको छ । तर, भ्रष्टाचार कसले गरिरहेको छ ? भ्रष्टाचारमैत्री वातावरण कसले सिर्जना गरिरहेको छ ? अथवा भ्रष्टाचार कसले सहन गरिरहेको छ/स्वीकार गरिरहेको छ ? यसमा ‘कोही चिनेको छ ?’ भन्ने हाम्रो प्रवृत्ति जिम्मेवार छैन ?

नागरिकको मौनता र सहनशीलताको जगमा यी सबै गडबडी भइरहेका छन् । नागरिकको तहबाट हुने सानातिना आनीबानी र प्रवृत्ति सुधार गरे देशमा ठूला–ठूला परिवर्तन हुनसक्छन् । यी कुनै नयाँ र कोरा कुरा नभएर राजनीतिक, सामाजिक र सांस्कृतिक रूपमा अभ्यास र पुष्टि भएका सन्दर्भहरू हुन् । गरे के हुन्न ? मापसे र हर्न निषेध देशको प्रणालीका अगाडि साना काम होलान् तर तिनका परिणामहरू भयानक छन् ।

सानो परिवर्तन, ठूलो परिणाम

प्राचीन चीनका प्रसिद्ध दार्शनिक लाओत्से भन्थे– महान् कार्यहरू स–साना कामबाट सम्पन्न हुन्छन् ।

त्यसो त, सानो र ठूलो भन्ने कुरा सापेक्ष सत्य हुन् । यद्यपि हाम्रो जीवन–व्यवहार र आनीबानीसँग जोडिएका केही यस्ता सामान्य काम हुन्छन् जसलाई हामीले सानो प्रतिबद्धता र लगावले बदल्न सक्छौं ।

हामी वरिपरिका १०० सामाजिक समस्या हल गर्नुछ भने तीमध्ये केवल २० सजिला समस्या छनौट गरी समाधान गर्ने हो भने बाँकी ८० वटा समस्या त्यसैको असरका रूपमा आफैं हल हुन्छन् । यी २० प्रतिशत कारण धेरै जटिल नभएर सामान्य हुन्छन् तर ती हाम्रा आदत बनिसकेका हुन्छन् ।

विचार परिवर्तनको इन्धन हो । तर, विचारको इन्धनमा आगो सल्काउने व्यवहारले हो । त्यसैले होला, पाउलो कोएलोले भनेका– संसार तपाईंको व्यवहारले बदलिन्छ, विचारले होइन ।

सन् २००० मा प्रकाशित लेखक तथा पत्रकार म्याल्कम ग्ल्याडवेलको पुस्तक ‘द टिपिङ प्वाइन्टः हाउ लिटल थिङ्स क्यान मेक अ बिग डिफरेन्स’ मा साना परिवर्तनहरूले कसरी समाजमा छिटो र महत्वपूर्ण परिवर्तन सुनिश्चित गर्न सक्छ भनेर उल्लेख गरेका छन् ।

उनले पुस्तकमा हामीसँग हुने यस्तो क्रिटिकल थ्रेसहोल्ड वा टिपिङ प्वाइन्टबारे सुझाएका छन् जसमा गरिने सानो परिवर्तनले तत्काल र नाटकीय परिवर्तन ल्याउँछ । टिपिङ पोइन्ट सिद्धान्तले विचार र व्यवहार कसरी फैलिन्छ र कसरी साना कार्यहरूले समाजमा महत्वपूर्ण प्रभाव पार्न सक्छ भनेर बुझ्नको लागि एक अमूल्य लेन्स (दृष्टि) प्रदान गर्दछ ।

परिवर्तनको समाजशास्त्र

मेडिकल साइन्समा ‘द स्पेक्ट्रम अफ डिजिज’ बारे चर्चा गर्न ‘आइसबर्ग फेनोमेना’ को चर्चा गरिन्छ । यसले एउटा यस्तो अवस्थाको वर्णन गर्दछ जसमा समस्याको ठूलो प्रतिशत नदेखिने वा पहिचान नगरिएका लक्षण हुन्छन् ।

समुद्री सतहमा देखिने हिउँका थुम्काहरू केवल १० प्रतिशत हुन् । हिउँको ९० प्रतिशत भाग त पानीभित्र हुन्छ । मानिसको व्यवहार त्यही १० प्रतिशत भाग जस्तै हो, जुन देखिन्छ तर त्यस्तो व्यवहारलाई निर्धारण गर्ने मनोवृत्ति (एटिच्यूड) हो जुन पानीभित्र लुकेको ९० प्रतिशत हिउँ जस्तै बाहिरबाट देखिंदैन । समाज विज्ञानमा आइसबर्ग फेनोमेनालाई मानवीय व्यवहार र त्यसलाई निर्धारण गर्ने दृष्टिकोण (मनोवृत्ति) लाई केलाउन प्रयोग गरिन्छ ।

यही कुरालाई इटालियन समाजशास्त्री भिलफ्रेडो परेटोले सरल ढंगले व्याख्या गरेका छन् । उनको व्याख्यालाई व्यवस्थापन परामर्शदाता जोसेफ युरानले ‘परेटो प्रिन्सिपल’ नै भनेका छन् । परेटो सिद्धान्तका अनुसार प्राकृतिक रूपमा संसारका ८० प्रतिशत असर २० प्रतिशत कारणबाट निर्देशित हुन्छन् ।

यसलाई हाम्रो जीवनशैलीसँग जोडेर व्याख्या गरौं । हामी वरिपरिका १०० सामाजिक समस्या हल गर्नुछ भने तीमध्ये केवल २० सजिला समस्या छनौट गरी समाधान गर्ने हो भने बाँकी ८० वटा समस्या त्यसैको असरका रूपमा आफैं हल हुन्छन् ।

यी २० प्रतिशत कारण धेरै जटिल नभएर सामान्य हुन्छन् तर ती हाम्रा आदत बनिसकेका हुन्छन् । भनिन्छ– मानिस आदतको दास हो । आदतले हामीलाई ती काम गरिरहन भन्छ ।

जस्तो कि, दैनन्दिनको गतिविधिमा प्लास्टिकको प्रयोग । एक वैज्ञानिक अनुसन्धान अनुसार सन् २०५० सम्ममा समुद्रमा माछाभन्दा धेरै प्लास्टिक हुनेछन् । यसले मच्चाउने विध्वंस र पारिस्थितिक प्रणालीको विनाश हामी कल्पना पनि गर्न सक्दैनौं ।

हामीमध्ये धेरैलाई यो पनि थाहा छ कि प्लास्टिक बोतलमा राखिएको र प्लास्टिकको गिलासमा पानी पिउँदा वा प्लास्टिकका प्याकेटमा राखिएका वस्तुहरू खाँदा शरीरमा प्लास्टिक पस्छ, बस्छ र सन्तान दरसन्तानसम्म विस्तार हुन्छ । तर पनि प्लास्टिकजन्य वस्तु प्रयोग गर्न हामी हिच्किचाउँदैनौं ।

ठूला नारा, साना काम

हाम्रो राजनीतिले एकैचोटि समाजवाद र साम्यवादको नारा लगाउँछ तर साना–साना कामबाट ठूलो असर सिर्जना गर्ने पहलकदमी लिंदैन । राजनीतिक तरक्कीका लागि कामभन्दा प्रभाव ठूलो हुनुपर्छ तर ठूला नारा लगाउन च्याम्पियन हाम्रो राजनीतिले काम र व्यवहारबाट दिने सन्देश नारा भन्दा भिन्न रहँदै आयो ।

असल नागरिकलाई कहिल्यै पनि गलत शासकले शासन गर्न सक्दैन । अब नागरिक तहबाट नैतिक दबाब सिर्जना गर्न आफ्ना स–साना आनीबानी, स्वभाव र चरित्र बदल्न जरूरी छ यसले स्वाभाविक रूपमा राज्यसत्ता र प्रणालीको आयतनमा बदलाव ल्याउनेछ ।

समयमा काम गर्ने तालिका बनाउन लोकतान्त्रिक गणतन्त्र कहीं कतै बाधक छैन । बैठक, छलफल ठिक समयमा सुरु गर्ने र ठिक समयमा अन्त्य गर्ने पद्धति मात्रै बसाउन सक्ने हो भने अहिलेको अवस्थामै धेरै परिवर्तन ल्याउन सकिन्छ । संसद्देखि वडा कार्यालयले समय तालिका निर्माण गर्ने हो भने त्यसको मनोवैज्ञानिक सन्देश नै अर्कै हुन्छ ।

पसलमा अर्काको पालो नमिच्ने, सडकमा लेन मिचेर अगाडि नजाने, मन्दिरमा दर्शन गर्न जाँदा पालो पर्खने काम गर्न सरकार बाधक छैन । आफ्नो पसलमा बिक्रीमा राखेको वस्तु बदनियतका साथ मिसावट नगर्न अरू कसैलाई दोष दिनै पर्दैन आफैं विवेक प्रयोग गरे पुग्छ । तर पनि हामी यहाँ परिस्थितिले नै मानिसलाई बदमास बनाइरहेको सम्मका तर्क गरिरहेका हुन्छौं ।

मुलुकमा विधिको शासन भएन भन्ने व्यक्ति आकाशे पुल मुन्तिर लखरलखर हिंडिरहेको हुन्छ । सुशासन छैन, देश बन्दैन भन्ने व्यक्ति चाहिं सरकारबाट लिनुपर्ने कुनै लाइसेन्सका लागि मन्त्रीसम्म पुग्ने बिचौलिया खोजिरहेको हुन्छ । यसो गर्न हामी सबैसँग बहाना छन्– के गर्नु आफू मात्रै सज्जन भएर नहुने !

सामाजिक न्याय र नैतिकताका पुराण पढाउन तत्पर व्यक्ति नै सार्वजनिक बसमा महिला, वृद्ध, केटाकेटी र अशक्तलाई पालो दिन वा ठाउँ छाड्न अघि सर्दैनन् । यो व्यवहार परिवर्तन गर्न उसलाई कुनै प्रणालीले अवरोध गरेको छ्रैन । न यसो गर्न कुनै तहका सरकारका कारण असजिलो छ । तर पनि हामी यी आनीबानी बदल्न होइन, शासन प्रणालीको खराबीका कारण समाजमा यो समस्या व्याप्त छ भन्ने भाष्य पुष्टि गर्न बल गर्छौं ।

आम मानिसले आफ्ना स–साना आनीबानी बदल्ने हो भने यो मुलुकमा देखिएका धेरै ठूल्ठूला समस्या हल हुँदै जान्छन् । जस्तो कि विवेकशील नागरिकलाई कुनै अमूक राजनीतिक दलको दास बन्न कसले बाध्य बनाउन सक्छ ? तर जब हामी मलाई त्यो स्वीकार छ भन्ने निचोडमा पुग्छौं, हामीलाई दास बन्नबाट कसैले रोक्न सक्दैन । अहिले भइरहेको त्यही हो ।

त्यसैले असल नागरिकलाई कहिल्यै पनि गलत शासकले शासन गर्न सक्दैन । अब नागरिक तहबाट नैतिक दबाब सिर्जना गर्न आफ्ना स–साना आनीबानी, स्वभाव र चरित्र बदल्न जरूरी छ यसले स्वाभाविक रूपमा राज्यसत्ता र प्रणालीको आयतनमा बदलाव ल्याउनेछ । विगतको सपना बेचिखाने हाम्रो राजनीतिलाई आगतको सपना देखाउने र त्यसको व्यावहारिक रूपान्तरणका लागि वर्तमान बदल्न दबाब सिर्जना गर्नेछ ।

त्यसैले देश बदल्न राजनीति बदल्नुपर्छ । राजनीति नयाँ नाराले बदलिने होइन, आनीबानी र व्यवहारले हो । याद गरौं, हाम्रा राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक नेतृत्वले हाम्रै आम चेतना र स्वभावको नेतृत्व गर्ने हुन् । त्यसैले हाम्रा स–साना आनीबानी बदलौं, त्यसको परिणाम ठूलो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?