+
+

साहसिक पर्यटनका लागि विमान चार्टर्ड गरी नेपाल

अच्युत पुरी अच्युत पुरी
२०८० कात्तिक ५ गते १५:५६
अन्नपूर्ण आधार शिविर जाँदै गरेका पदयात्री । तस्वीर : फाइल ।

५ कात्तिक, काठमाडौं । साहसिक पर्यटनका लागि नेपाल विश्वमै गणना हुन थालेको छ । सोही कारण खुम्बुदेखि अन्नपूर्ण सर्किट जस्ता पदमार्ग विश्व चर्चित मानिन्छन् ।

नेपालको यही पहिचानका बीच अब मास टुरिजमको अवधारणा फस्टाउन थालेको छ । नेपालमा आगामी साता भियतनामबाट तीन वटा चार्टर्ड जहाजमा ठूलो संख्यामा पर्यटक नेपाल आउने भएका छन् । यस भ्रमणको चाँजोपाँचो रुप्से होलिडेजले मिलाएको हो ।

उनीहरू हिमालय एयरको जहाज चार्टर्ड गरी काठमाडौंसहित नेपालका विभिन्न गन्तव्यको भ्रमणमा आउनेछन् ।

यसअघि गत भदौमा बंगलादेशबाट एउटै कम्पनीका ७०० कर्मचारी विमान बंगलादेशको जहाज चार्टर्ड गरी नेपाल भ्रमणमा आएका थिए । बंगलादेशको एकेआईजे ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनले एकसाथ ठूलो संख्यामा आफ्ना कर्मचारीलाई एकै पटक नेपाल भ्रमणमा पठाएको हो ।

बंगलादेशभर दुई लाखभन्दा बढी कर्मचारी रहेको यो ग्रुपले डिलर एण्ड सेल्स कन्प|mेन्स नाममा यो भ्रमण नेपालमा गराएको थियो ।

भदौमै भुटानको पारो विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानको ड्रुक एयरले चार्टर्ड उडान गर्‍यो । ३ जना यात्रु लिएर आएको यो जहाजले नेपालबाट ४२ जना यात्रु बोकेर भुटान उडेको थियो ।

त्यसअगाडि गत असारमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान मार्फत ठूलो संख्यामा पर्यटक नेपाल आएका थिए । पोखरामा आयोजना गरिएको बोट रेस प्रतियोगितामा भाग लिन आएका खेलाडी बोकेर आएको सोही उडान पोखराको पहिलो व्यावसायिक चार्टर्ड उडान थियो ।

एजेन्सीहरू मार्फत नियमित हुने पर्यटकीय गतिविधिसँगै पछिल्लो समय बढेको मास टूरिजमका गतिविधि नेपाली पर्यटनका लागि सुनौलो संकेत भएको नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल -टान)का महासचिव विनोद सापकोटा बताउँछन् ।

‘सरकारलाई पर्यटन क्षेत्रको मतलब छैन, पर्यटन बोर्ड के गर्दैछ कसैलाई थाहा छैन’ उनी भन्छन्, कम्तीमा निजी क्षेत्रले त केही न केही गरिरहेको छ, यो त्यसकै एक उपज हो ।’

सापकोटाका अनुसार यसरी पर्यटक आउनुको मतलब नेपाली पर्यटनको ‘हाइट’ बढेको रूपमा व्यवसायीहरूले व्याख्या गर्छन् । ‘यो संसारभर चलेको मोडल हो, हिजो अरू मुलुकले यी पर्यटक लगिरहेका थिए’ उनी भन्छन्, ‘त्यसमध्ये केही अब नेपालतर्फ आउनुको मतलब नेपाली टुरिजमको हाइट बढ्दैछ ।’

२०७८ सालको वसन्तकालीन ऋतुमा बहराइनका राजकुमारको एक टोली सगरमाथा आरोहणमा नेपाल आएको थियो । यस्ता भीआईपी टोलीहरूले विगतदेखि नै नेपालमा चार्टर्ड जहाज ल्याउने र नेपाल भ्रमण गर्ने प्रचलन थियो । यसो हुनुमा सुरक्षा प्रमुख कारण रहेको व्यवसायीहरू बताउँछन् ।

तर, पछिल्लो समय आम पर्यटक समेत चार्टर्ड जहाजमा घुमफिरमा निस्कन थालेका छन् । यसले भ्रमण खर्च घटाउनेदेखि यात्रामा व्यक्तिगत व्यवस्थापनको झन्झट कम हुने महासचिव सापकोटा बताउँछन् ।

कर्पोरेट हाउसले आफ्ना कर्मचारीलाई बोनसका रूपमा यात्राको अवसर जुटाउने प्रचलन संसारभर हुने भन्दै उनले नेपालले यी पर्यटकलाई बढीभन्दा बढी आकषिर्त गर्न सके एकसाथ राम्रो बिजनेस प्राप्त हुने उनले बताए ।

नेपालले यस्ता पर्यटक चीन र भारतबाट बढी भित्र्याउन सक्ने सम्भावना रहेको समेत उनको भनाइ छ । भारतको स्थलमार्गबाट समूहमा आउने व्यक्तिलाई नेपालले पर्यटकका रूपमा गणना गर्दैन । तर, यस्तो संख्या ठूलो रहेको व्यवसायीहरूको भनाइ छ ।

कोभिड महामारीपछि थला परेको पर्यटक आगमन पछिल्लो एक वर्षयता भने विश्वभर उत्साहजनक रूपमा बढेको छ । त्यसको फाइदा नेपालले अझै उठाउन सकेको छैन । खासगरी पर्यटक आकषिर्त गर्ने जिम्मेवारी पाएका निकायहरूले पर्यटनमा नयाँपन दिने गरी कुनै पनि योजना ल्याउन सकेका छैनन् ।

त्यसका बावजुद पनि स्वतस्फूर्त आइरहेका पर्यटकको संख्याबाट भने पर्यटन व्यवसायी उत्साहित छन् । सन् २०२३ को सेप्टेम्बरसम्म नेपालमा ६ लाख ९२ हजार ३७२ जना पर्यटक नेपाल आएका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?