+
+

जब प्यालेस्टाइनी र इजरायली प्रतिनिधि यूएन बैठकमा आमनेसामने बने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ५ गते १९:५४

५ कात्तिक, काठमाडौं । इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेको दोस्रो हप्ता पुगेको दिन शनिबार संयुक्त राष्ट्र संघको मानवअधिकार समिति बैठक बस्यो । जहाँ इजरायल र प्यालेस्टाइनका प्रतिनिधिले आ–आफ्नो मुलुकले भोगिरहेको युद्धको पीडा सुनाए ।

मानवअधिकार समिति बैठकको सुरुआतमा यूएनका लागि इजरायली प्रतिनिधि कार्मेलीले आफ्नो मुलुकमाथि प्यालेस्टाइनी चरमपन्थि संगठन हमासले गरेको हमला र त्यसविरुद्ध संघर्ष गरिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग मद्दत मागिन् ।

त्यहीँ प्यालेस्टाइनी प्रतिनिधि सहर सलेमले इजारयलले गाजा क्षेत्रमा गरिरहेको प्यालेस्टाइनीको नरसंहारको वर्णन गरिन् ।

राष्ट्रसंघको मानवअधिकार समितिले गाजाको अस्पतालमा भएको बम आक्रमण र प्यालेस्टाइनी नागरिकले घर छाडेर पलायन हुनुपर्ने बाध्यताको आलोचना गर्दै आपतकाली सहयोगका लागि पहल लिने निर्णय गर्यो ।

के भनेकी थिइन्, इजरायली प्रतिनिधिले ?

संयुक्त राष्ट्रसंघका लागि इजरायली प्रतिनिधि कार्मेलीले समिति बैठकको सुरुआतमा नै आफ्नो धारणा राखेकी थिइन् । उनले आफ्नै गाउँ गाजासँगको सीमावर्ती क्षेत्र किबुजको अवस्थाबारे व्याख्या गरिन् ।

आफ्नो जिन्दगीको ठूलो हिस्सा सुरक्षासम्बन्धी चुनौतीलाई सामना गरेरै बितेको भन्दै उनले जो कसैले पनि त्रासमुक्त जीव्न बाच्न पाउनु पर्ने बताइन् ।

‘हिब्रु भाषामा केरेम शलोमका अर्थ शान्तिको दूत भन्ने हुन्छ । तर हाम्रो जीवनमा शान्ति होइन खतरा धेरै थियो । मेरो बेडरुम एक बम शेल्टरमा थियो । किनकि, मेरो घर गाजाबाट नजिकै थियो’, उनले भनिन् ।

‘गाजाबाट रकेट लन्च हुनै लाग्दा साइरनको आवाज आउँथ्यो । त्यतिबेला हामीलाई सुरक्षित स्थानमा जानका लागि केही सेकेन्डको मात्रै समय मिल्थ्यो ।

गएका १८ वर्ष गाजा पट्टीको सीमानामा बसोबास गर्ने हरेक नागरिकका लागि यो सामान्य परिस्थिति भइसक्यो’, इजरायली प्रतिनिधिले भनिन्, ‘तर मैले खतराका बाबजूद पनि यही समुदायमा रहने निर्णय गरेँ । किनभने, जिन्दगी रोक्नका लागि होइन ।’

उनले आफूले आतंक नभइ जिन्दगी रोजेको भन्दै ७ अक्टोबरमा आफूहरूले यहूदी पर्व मनाइरहेका बेला हमासले आतंकवादी हमला गर्नु दुखदायी रहेको भन्दै सहयोगको अपिल गरिन् ।

के भनिन्, प्यालेस्टाइनी प्रतिनिधि सलेमले ?

प्यालेस्टाइनी प्रतिनिधि सहर सलेम भने निकै भावुक मुद्रामा प्रस्तुत भइन् । ‘सारा दुनियाँले देखिरहेको छ, पछिल्लो ११ दिनदेखि गाजापट्टीमा प्यालेस्टाइनी नागरिकमाथि इजरायलले कसरी तवहा मच्चाइरहेको छ’, आफ्नो विषय राख्दै गर्दा भावुक बनेकी सलेमले भनिन्, ‘इजरायलले ३००० मानिसको हत्या गरिसक्यो । जसमा १००० भन्दा बढी बच्चाहरू छन् ।’

यद्यपि, शनिबार प्यालेस्टाइनी सरकारले सार्वजनिक गरेको विवरणअनुसार मृतकको संख्या ४३ सयभन्दा बढी नाघिसकेको छ ।

‘इजरायलले गाजामा एउटा पनि परिवारलाई छाडेको छैन । जसलाई सक्यो मारिदिएको छ । जसलाई मार्न सकेन उनीहरूलाई घाइते बनाएको छ ।

जसलाई घाइते पनि बनाउन सकेको छैन उनीहरूलाई घर छाडेर विस्थापित हुन बाध्य पारिरहेको छ’, समलेमले भनिन्, ‘त्यसरी विसथपित हुन बाध्य भएकाहरू जब अल अहली अस्पतालमा सुरक्षित सेल्टर लिइरहेका छन् भन्ने थाहा भयो त्यहाँ पनि इजरायलले नरसंहार मच्चाएको छ ।’

इति भन्दै गर्दा थप भावुक बनेकी प्यालेस्टाइनी प्रतिनिधिले प्रश्न राखिन्, ‘के यो गरेर इजरायलले आफूलाई थप सुरक्षित महसुस् गरिरहेको हो ? के इजरायललाई बिना शर्त समर्थन पाउनका लागि यति मृत्युले पुगेको छैन ?’
उनले अगाडि भनिन्, ‘यो (अस्पतालमा हममला) त्यतिबेला भयो जतिबेला इजरायलले गाजा क्षेत्र खाली गर्नका लागि आदेश दियो र हजारौँ मानिसहरू शरण लिनका लागि सुरक्षित स्थानको खोजीमा थिए । तर उनीहरू कतै सुरक्षित स्थान पाउन सकेका थिएनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?