
प्रिय हातहरू !
म सानो छँदा
आमाका हातहरूलाई पालो दिन सक्ने भएदेखि
तिमीहरूले मेरा निम्ति के के गरेनौ ?
मलाई खुवाउँदै हुर्काएनौ कि ?
लेखाउँदै पढाएनौ कि?
कर्म गर्दै बढाएनौ कि ?
के के गरेनौ ?
त्यसैले तिमीहरूको निम्ति आज
केही गरुँ गरुँ भएको छु
तर गर्ने के भनेर अलमल्ल परेको छु
तिमीहरूलाई सफा राख्छु भन्छु र धोऊँ भन्छु
तिमीहरूलाई धुन पनि
बासनादार साबुन समाउन पनि
तिमीहरू नै चाहिन्छ
तिमीहरूको पूजा गरुँ भन्छु
धूप अक्षता गर्न पनि
दियोमा बत्ती बाल्न पनि
तिमीहरू नै चाहिन्छ
लेखुँ त तिमीहरूको तारिफमा कविता भन्छु
कलम समाउन पनि
कापीका छेउकुनामा अक्षरहरु रोप्न पनि
तिमीहरू नै चाहिन्छ
तिमीहरू दोहोरो तेहोरो सबैतिर चाहिन्छ
जस्तो कि दशैंमा आशिषहरू निधारमा
टाँस्न पनि चाहिन्छ
र ती आशिषहरु भुइँमा नखसून् भनेर
थाप्न पनि चाहिन्छ ।
त्यसो त प्रिय हातहरू !
तिमीहरूसँग माफी माग्नु पनि त छ मलाई
कहिलेकाहीं जिन्दगीदेखि दिक्दार भएको बेला
तिमीहरूको शक्ति र सामर्थ्य भन्दा
हत्केलाको रेखालाई बलियो ठानें हुँला
तिमीहरुको शिल्प र कला भन्दा
दश औंलाका चक्रहरूलाई महत्त्व दिएँ हुँला
त्यसैले मलाई माफ गरिदिनू ।
प्रिय हातहरू !
मैले गलत मान्छेको हातमा तिमीहरूलाई सुम्पिएथें
उनीको स्वेटरको खल्ती
तिमीहरुको सबैभन्दा प्यारो बिसौनी हुने गर्थ्यो
अब भुलिदिनू त्यो छहारीलाई
अब बिर्सिदिनू त्यो न्यानोपनलाई
निर्मोहीले ती खल्तीहरूमा
अरु कसैका हातहरूलाई
स्वागत गरिसकेकी छ
त्यसैले मलाई माफ गरिदिनू ।
प्रिय हातहरु !
सडकमा निदाइरहेका कुकुरलाई हिर्काउन
तिमीहरूलाई पत्थर उठाउन लगाएको रहेछु भने
अथवा भनौं जान अनजानमा
अनुचित लाभको निमित्त
तिमीहरुलाई कतै फैलाएको रहेछु भने
या कहिले कुनै निर्धन निर्बल विरुद्ध
तिमीहरूलाई उठाएको रहेछु भने
मैले भूलबस अराएका खटाएका
प्रत्येक नराम्रा कर्महरुमाथि म क्षमा चाहन्छु
त्यसैले मलाई माफ गरिदिनू ।
तिमीहरूको निमित्त यो कृतघ्न हृदयले
केही गरिदिन मन थियो
धेरै सोचिहेरें
धेरै गर्न खोजें
केही गर्न नसकेपछि
प्रिय हातहरू !
तिमीहरूलाई मैले चुमेको छु
मेरो ओंठको स्पर्शलाई स्वागत गर
मेरो चुम्बनलाई स्वीकार गर
मेरो चुम्बनलाई स्वीकार गर ।
प्रतिक्रिया 4