
काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी स्टारर ‘परदेशी २’ले दोस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । बुधबार प्रदर्शनको १३ औं दिनमा फिल्मले प्राप्त गरेको शोज संख्या अनुसार अकुपेन्सी पनि सुखद देखिएको छ ।
फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेको दाबी निर्माताको छ । निर्माता राजेश वंशलले दोस्रो सातामा पनि फिल्मले दर्शकको उत्साहजनक साथ पाएको बताए । ‘दोस्रो सातामा पनि यो लेभलको अकुपेन्सी पाउनु राम्रो कुरा हो’ उनले भने ।
फिल्म दोस्रो साता हलमा चल्दै गर्दा हलमा कलाकारहरु सपुत, अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीले देशका प्रमुख सहर काठमाडौं, नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग खुशि साटेका थिए ।
‘दर्शकको यो साथ र सर्पोटले आगामी दिनमा अझै राम्रो सिनेमा निर्माण गर्ने उर्जा मिलेको छ’ निर्देशक नारायण रायमाझीले भने । फिल्मले परिस्थितीवश विदेशिन बाध्य नेपालीको सामाजिक र आर्थिक प्रभावको कथा पेश गर्छ ।
फिल्ममा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ । नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई रमेश बीजीले लेखेका हुन् ।
मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया 4