
यतिबेला चर्चाको शिखरमा छिन रामकुमारी झाक्री । गैर आवसीय नेपाली संघ अर्थात (एनआरएनए) को अन्तर्राषट्रिय सम्मेलनको सोल्टी होटलमा भएको कार्यक्रममा झाक्रिले बोलेको बिषय अहिले संसारभर नेपाली पुगेजति देशमा एउटा नयाँ तरंग आएको छ ।
गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषयमा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गैरआवासीय नेपालीहरुलाई दिइएको नागरिकता आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारका रुपमा भएको बताइन । त्यति मात्रै होइन त्यसलाई नागरिक तथा राजनीतिक अधिकारको रुपमा नलिन प्रष्ट पार्दै उनले स्वेच्छाले नेपाली नागरिकता त्यागेकालाई राजनीतिक अधिकार सहितको नागरिकता दिन नसक्ने बताएकी थिइन ।
झाँक्रीको यो अभिव्यक्तिसँगै देशैभर र सामाजिक सञ्जालमा उनका समर्थक बढेका छन् भने अझ झाक्रीको अभिव्यक्तिसँगै एनआरएनको निमन्त्रणामा विदेश घुम्न पाउने आशामा उनीहरुका हरेक मागहरु वा धारणा विपरीत जान नसक्ने राजनीतिक नेतृत्वका अगाडि उभिएर प्रष्ट ढंगले आफना धारणा राख्न सक्ने नेतृत्वको रुपमा झाँक्रिको प्रशंसा चुलिएको छ ।
झाँक्रीको धारणा स्पष्ट थियो । देश अप्ठेरोमा परेका वेला अनेक तरिकाले विदेश गएर शरणार्थी आवेदन गरेर नेपाली नागरिकता त्याग गरेकादेखि भिजिट भिसामा गएर पासर्पोट फ्याँकेर नेपाली नागरिकता पहिचान लुकाएकाहरुलाई भन्दा बढी देशभित्र बसेर संघर्ष गर्नेहरुलाई नै देशको माया बढी हुन्छ भन्ने आशयले झाँक्रीले आफनो धारणा राखेकी थिइन ।
एनआरएनले देश चलाउँछ तपाईंहरु छोडनुस भन्ने आशयले राजनीतिक नेतृत्व र वर्तमान व्यवस्थाविरुद्ध हलबाट अभिव्यक्ति आउन थालेपछि झाँक्रीले बेलायती वा अमेरिकी पासर्पोट बोकेर आएकाहरुले यो देशको चिन्ता नलिनुहोस भन्ने धारणा राखेकी थिइन् ।
केही पैसा कमाएपछि देशभित्र बसेर संर्घष गर्नेहरुको अपमान गर्ने अनि नेपालको राजनीति नेतृत्व र सम्पूर्ण व्यवस्थाप्रति निराशा र घृणा फैलाउने कामगर्नेलाई कडा शब्दमा भन्दा केहीले उनका शब्द चयन र आक्रोशसित शैलीप्रति असहमति जनाए पनि उनि प्रति समर्थन व्यापक देखिएको छ ।
ठूला राजनीतिक दलका नेताहरुले बाहिर प्रष्ट ढंगले भन्न नसके पनि यो विषयमा धेरै दल र नेताहरु रामकुमारीकै लाइनमा छन् । मनमा भए पनि बोल्न नसक्ने नेतृत्वको विवशता रामकुमारीको प्रस्तुतिले सतहमा ल्याइदिएको मात्रै हो ।
यो आलेख रामकुमारीको प्रशंसा गर्न लेखिएको होइन, झाँक्रीको भनाइले एनआरएनएको स्थापनाको उद्देश्य र गन्तव्यको तादम्यता छ कि छैन भनेर उठाएको प्रश्न प्रति चर्चा गर्न खोजिएको मात्रै हो । हुन पनि अहिलेको एनआरएनएको दौडधुप र राजनीतिक चिन्तन हेर्दा विदेशमा बसेर नेपाली मत प्रभावित गर्दै देशको राजनीति आफूहरुको प्रभावमा छ भन्ने सन्देश दिने खोजेको मात्रै देखिन्छ । जुन यथार्थमा एनआरएनए स्थापनाको उद्देश्यभन्दा फरक हो ।
अर्काे कुरा रामकुमारीले उठाएकै सन्दर्भ मानवअधिकार विश्वव्यापी हुन्छ तर नागरिकता तथा राजनीतिक अधिकारहरु सम्बन्धित देशको मौलिक र विशिष्ट प्रकारका हुन सक्छन । यस्तो अवस्थामा नेपाली राजनीतिको निर्णायक बन्ने एनआरएनएको रहरलाई उनीहरुको संस्थागत अभियानका रुपमा बुझने वा बाटो विराएको एजेण्डाको रुपमा भन्ने प्रश्न खडा भएको छ ।
औपचारिक रुपमा गैरआवासीय नेपालीले नागरिकता पाउने व्यवस्था सूरु भएसँगै एनआरएनएका अगुवाहरुले प्रधानमन्त्रीबाट नागरिकता लिए । उनीहरुले नेपालमा मतदान गर्ने र उम्मेदवार हुने बाहेकका सबै अधिकार आफूहरुले पाउनु पर्ने बताए । तर के विदेशिएको पहिलो पुस्तालाई जति यो देशको माया दोस्रो र त्यसपछिका पुस्ताका लागि पनि कायम रहला ? अनि के नेपाली नागरिकताको बिषय उनीहरुको पनि त्यति नै प्राथमिकतामा पर्ला त ?
कि उनीहरु जुन देशको नागरिक हो त्यही देशको नागरिक हुनमा गर्व गर्न थाल्लान ? करिब ८६ देशमा रहेका एनआरएनएले नेपालको विकासमा देखाएको चिन्ता सराहनीय छ भन्दै गर्दा देशको कुल रेमिटेन्स भित्र्याउनमा खुद एनआरएनएको भूमिका कति छ त भन्ने प्रश्न पनि उठला ?
नेपालको मूख्य रेमिटेन्सको स्रोत देशहरुमा साउदी अरेविया, मलेशिया, इण्डिया, कतार र अमेरिका पर्ने एक तथ्याकंले देखाउदै गर्दा रेमिटेन्सको देनमा एनआरएनएको योगदान कति छ भन्ने प्रश्न पनि सँगै देखिन्छ ।
यो सबै रेमिटेन्सको मुख्य स्रोत भनेको हाम्रा विदेशी श्रम बजारमा आश्रित युवाहरुको देन हो भन्ने कुरामा कसैको दुईमत नहोला । यसर्थ देशको आर्थिक अवस्थाको मेरुदण्डको रुपमा रहेको रेमिटेन्समा एनआरएनएको योगदान कति छ छुट्टै अध्ययन र विश्लेषण गर्नु पर्ने विषय भएको छ ।
यो कुरा नकार्न सकिंदैन की एनआरएनएको नेपालको विकास तथा समृद्धिमा रहेको पहल सराहनीय छ र हालै प्रदान गरिएको गैरआवासीय नेपाली नागरिकताले देश विकासमा सहयोग गरौ भन्नेहरुलाई झन व्यवस्थित बनाइ दिएको छ । तर नागरिकता व्यक्तिगत सम्पत्ति सुनिश्चिताका लागि हतियार मात्रै नभई लगानीको वातावरणका लागि पनि हुने हो वा होइन त्यो समयले पक्कै देखाउने नै छ ।
एनआरएनएको लागि जँहासम्म कानूनी र राजनीतिक अधिकारको सवाल छ त्यो अधिकार त हाल बसेको देश कानूनी रुपमा छोडेर आउँदा नेपालले स्वागत नगर्ने कुरै आउँदैन् । यसर्थ हाल बसोबास गरेको देशको नागरिकता त्यागेर आएमा रामकुमारी जस्ता नेताहरुसँग चुनावी प्रतिस्प्रधा गर्न यहाँ कुनै कानूनले रोकिने अवस्था पनि हुँदैन । रामकुमारीको भनाइ सापट लिंदै आँखा मिच्दै देशलाई सामाजिक सञ्जालमार्फत गाली गर्नुभन्दा देश कसरी बनाउने भन्ने हुटहुटी चलेको भए आउनुहोस सबै मिलौ देश बनाऔं ।
प्रतिक्रिया 4