
९ कात्तिक, काठमाडौं । नेपाली सेनाले मकवानपुरस्थित सुनाचुरी इमल्सन प्लान्टबाट एक वर्षमा २२ करोड ३८ लाख रुपैयाँ बराबरको विस्फोटक पदार्थ बिक्री गरेको छ ।
सैनिक कल्याणकारी कोष अन्तरगत सञ्चालित प्लान्टबाट आर्थिक वर्ष ०७९/०८० मा २२ करोड ३८ लाख १६ हजार ५५५ रुपैयाँ बराबरको विस्फोटक पदार्थ विक्री भएको हो ।
कोषका अनुसार, आर्थिक वर्ष ०८०/०८१ मा ७१ करोड ६१ लाख १४ हजार रुपैयाँ बराबरको विष्फोटक पदार्थ विक्री गर्ने लक्ष्य राखिएको छ ।
‘यसपटक कच्चा पदार्थ र एसोसरिजहरु समयमै प्राप्त भएर उपकरणमा कुनै खराबी नआए ७१ करोडभन्दा बढीको विक्री गर्ने लक्ष्य लिइएको छ’, सैनिक कल्याणकारी निर्देशनालयको कल्याणकारी भिजनमा भनिएको छ, ‘नियमित उत्पादन भए लक्ष्य बराबरको आम्दानी हुनेछ ।’
बेलाबेला कच्चा पदार्थ नपाइँदा सेनाका लागि विस्फोटक पदार्थ उत्पादन चुनौतीपूर्ण बन्ने गरेको छ । हाल सेनाले आवश्यक कच्चा पदार्थ भारत, चीन लगायतका देशबाट आयात गर्दै आएको छ ।
हाल इमल्सन प्लान्टको वार्षिक उत्पादन क्षमता २४ सय मेट्रिक टन छ । यो प्लान्टबाट विकास आयोजनलाई सेनाले विष्फोटक पदार्थ उपलब्ध गराउँदै आएको छ । समयमा विष्फोटक पदार्थ उपलब्ध नगराएको भन्दै सरोकारवालाले गुनासो समेत गर्ने गरेका छन् ।
सैनिक अधिकृतहरु पछिल्लो वर्षहरुमा सुनाचरीमा विस्फोटक पदार्थ उत्पादन क्षमतालाई दोब्बर बनाएर २४ सय मेट्रिक टन पुर्याइएको भन्दै नेपालको माग पूर्ति गर्ने लक्ष्यमा लागि रहेको बताउँछन् ।
तर, जानकारहरु नेपालमा वार्षिक ३ हजारदेखि ५ हजार टनसम्म इमल्सनको माग रहेको बताउँछन् ।
केमा प्रयोग हुन्छ यो विष्फोटक पदार्थ ?
‘सिभिल एक्सप्लोसिभ’ समेत भनिने यस प्रकारको विस्फोटक पदार्थ विशेषतः पहाडी क्षेत्रमा सडक निर्माणका क्रममा प्रयोग हुने गरेको जानकारहरु बताउँछन् ।
सडक निर्माणका क्रममा ठूल्ठूला पहाडहरु फुटाउनेदेखि भिरालो क्षेत्रमा काट्न र फोड्न यसको प्रयोग हुँदै आएको छ । विकास निर्माणका अलावा सेनाले आफ्ना अन्य गतिविधिमा पनि यसलाई प्रयोग गर्दै आएको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजनादेखि हुम्लाबाट चीन जोड्ने सडक निर्माणसम्म सेनाले उत्पादन गरेको विस्फोटक पदार्थको प्रयोग हुँदै आएको छ । अधिकारीहरुका अनुसार डोल्पाका सडकमार्ग, कर्णाली करिडोर, मेलम्ची, फास्ट ट्रयाक लगायतमा पनि यहीँको इमल्सनको प्रयोग गरिएको छ ।
सेनाले निजी क्षेत्रका निर्माण कम्पनीहरुलाई पनि यो पदार्थ उपलब्ध गराउँदै आएको छ । तर, त्यसको निगरानीमा सेनाको एउटा टोली आफैं खटिन्छ । संवेदनशील पदार्थ भएकाले कति आवश्यक हुन्छ, त्यसको अध्ययन गरेर मात्रै निजी क्षेत्रलाई दिइने सैनिक अधिकृतहरु बताउँछन् ।
निजी क्षेत्रले विस्फोटक पदार्थ खरिद गर्दा सम्बन्धित जिल्लामा बनेको कमिटीबाट स्वीकृति लिएर गृह, रक्षा मन्त्रालय, नेपाली सेनाको जंगी अड्डा हुँदै प्लान्टसम्ममा स्वीकृति पाएपछि मात्रै ती पदार्थ दिइन्छ ।
कसरी हुन्छ प्रयोग ?
०५९ सालमा स्थापना भएर ०६० सालदेखि उत्पादन सुरु गरेको इमल्सन उत्पादन प्लान्टमा ३० बढी इञ्जिनियर कार्यरत छन् । स्थापनाका बेला यसमा करिब ३१ करोड ४० लाख रुपैयाँ सैनिक कल्याणकारी कोषबाट लगानी गरिएको थियो ।
त्यहाँ कार्यरत इञ्जिनियरहरुका अनुसार, जंगलभित्र रहेको यो प्लान्टमा आल्मोनियम र सोडियम नाइट्रेटको समिश्रणबाट विष्फोटक पदार्थ बनाइन्छ । यो निर्माण गर्ने प्रक्रिया दुई तहमा हुन्छ । पहिलो तहलाई ‘वाटर मिक्स’ र दोस्रो तहलाई ‘वोइल मिक्स’ भनिन्छ ।
प्लान्टमा कार्यरत प्राविधिकहरुका अनुसार पहिलो तहमा आल्मोनियम र सोडियम नाइट्रेटलाई पानीमा घोलिन्छ । त्यसपछि दोस्रो तहमा ‘वाक्स भ्यास्लिन’ लगायतका वस्तुहरुको समिश्रण गरिन्छ । त्यसपछि ‘सेन्सोडाइज’ गरेर ‘सेमी लिक्विड’ बनाइन्छ । योसँगै प्याकेजिङका लागि विष्फोटक पदार्थ तयार हुन्छ ।
हाइड्रोलिकमा राखेर क्यूब आकारमा यसलाई प्याक गरिन्छ । एउटा कार्टुनमा २५ किलो विस्फोटक पदार्थ राखिन्छ । त्यसमा १ सय ९० वटा विस्फोटक पदार्थ हुन्छ ।
प्लान्टमा उत्पादित विस्फोटक पदार्थलाई बाकसमा हालेर निर्माण स्थलमा लगिन्छ । त्यहाँ ड्रिल गरेर डेटोरनेटरसँग राखेपछि मात्रै विस्फोट हुन्छ ।
प्रतिक्रिया 4